हावा सबैभन्दा विषाक्त रहेका मुलुकमध्ये नेपाल सातौंमा
नेपालीको आयु नै औसतमा ३.४ वर्षले घटाइरहेको वायु प्रदूषण नियन्त्रणमा सरकारको पहल हदै फितलो सावित भएको छ।
नेपालीले श्वास फेर्ने हावाको गुणस्तर थप खस्किएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। विश्व वायु गुणस्तर प्रतिवेदन, २०२४ ले नेपाललाई संसारकै उच्च वायु प्रदूषित देशहरूको सूचीमा राखेको छ।
स्वीट्जरल्यान्डस्थित आईक्यू एअर नामक संस्थाले प्रकाशन गरेको प्रतिवेदनमा सन् २०२४ मा वायु प्रदूषण उच्च रहेका मुलुकमध्ये नेपाल सातौं स्थानमा छ। यही सूचीमा नेपाल सन् २०२३ मा आठौं र सन् २०२२ मा १६औं स्थानमा थियो। यसले गत वर्ष नेपालको वायु थप खराब भएको देखाउँछ।
आईक्यू एअरले सन् २०२४ मा संसारका १३८ मुलुकको हावाको गुणस्तर मापन गर्ने पीएम २.५ भनिने धूलोको कण (आँखाले नदेखिने)को तथ्यांकका आधारमा यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदनले अफ्रिकी देश चाडलाई संसारकै सबैभन्दा प्रदूषित र बाङ्लादेशलाई दोस्रो उच्च प्रदूषित मुलुक भनी उल्लेख गरेको छ। यस सूचीको तेस्रो स्थानमा पाकिस्तान, चौथोमा कंगो रिपब्लिक, पाँचौंमा भारत तथा छैटौंमा ताजकिस्तान छन्।
सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २.५ सरदरमा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ जुन अघिल्लो वर्षको भन्दा धेरै हो। यही आँकडा सन् २०२३ मा ४२.४ माइक्रोग्राम र सन् २०२२ मा ४०.१ माइक्रोग्राम प्रतिघनमिटर थियो।
गत वर्ष नेपालमा हिउँदे पानी नपरेर वातावरण सुक्खा हुन पुगेको थियो भने हिउँदे डढेलो पनि बढेको थियो। पानी नपर्दा हावामा रहेको धूलोको कण पखालिन पाउँदैन। त्यसैले हावा लामो समय प्रदूषित रहन पुग्छ। अर्कातिर डढेलो वायु प्रदूषण निम्त्याउने प्रमुख स्रोतमध्ये एक हो।
मापदण्डभन्दा आठ गुणा खराब
नेपालीले श्वास फेर्ने हावाको गुणस्तर स्वस्थ हावाको तुलनामा कैयौं गुणा खराब पाइएको छ। विश्व स्वास्थ्य संगठनले हावामा पीएम २.५ को मात्रा वार्षिक औसतमा पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ। यस अनुसार नेपालको हावा मापदण्डको तुलनामा आठ गुणाभन्दा धेरै प्रदूषित छ।
संसारका सफा मुलुकका तुलनामा त नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित छ। सन् २०२४ मा हावा सर्वाधिक स्वच्छ रहेका १२ मुलुक तथा क्षेत्रको पीएम २.५ को मात्रा सरदरमा ३.२५ माइक्रोग्राम प्रतिघनमिटर मात्र छ। ती मुलुक र क्षेत्र हुन्– बहमास, बर्मुडा, फ्रेन्च पोलिनेसिया, यूएस भर्जिन आइल्यान्ड्स, पोर्टरिको, मन्टसेराट, बर्बाडोस, ग्रेनडा, आइसल्यान्ड, न्यूजिल्यान्ड, अस्ट्रेलिया र इस्टोनिया।
नेपालमा वायु प्रदूषणका कारण वार्षिक ४२ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्य सन् २०१९ को एउटा अध्ययनले देखाएको थियो। दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सर आदिको प्रमुख कारणमा अस्वस्थ हावा पनि रहेको विश्व स्वास्थ्य संगठनले जनाउँदै आएको छ। एअर क्वालिटी लाइफ इन्डेक्सको सन् २०२२ को तथ्यांक अनुसार वायु प्रदूषणका कारण नेपालीको आयु सरदरमा ३.४ वर्षले घटिरहेको छ। अर्थात्, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हावाको गुणस्तर कायम भए नेपालीको आयु सरदरमा ३.४ वर्ष थपिन सक्छ।
नेपालभित्रै पनि वायु प्रदूषण सबै स्थानमा समान छैन। खासगरी तराईका जिल्लामा प्रदूषण उच्च छ। मधेशमा हावाको गुणस्तर मापदण्ड अनुसार भए व्यक्तिको औसत आयु पाँच वर्ष थपिन सक्छ। त्यस्तै, लुम्बिनीमा ३.६८ वर्ष र कोशीमा ३.४१ वर्ष थपिन सक्छ।
आईक्यू एअरका अनुसार हावा खराब भएका १२१ राजधानी शहरमध्ये काठमाडौं आठौं स्थानमा छ। यहाँको हावामा सन् २०२४ मा पीएम २.५ को मात्रा सरदरमा ४५.१ माइक्रोग्राम प्रतिघनमिटर छ। यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको तुलनामा नौ गुणा धेरै हो। सर्वाधिक विषाक्त हावा भएका राजधानीमध्ये पहिलो स्थानमा भारतको नयाँ दिल्ली परेको छ। यहाँको हावा काठमाडौंका तुलनामा दोब्बर बिखालु छ। दक्षिणएशियामा बाङ्लादेशको ढाका, पाकिस्तानको इस्लामाबाद पनि उच्च प्रदूषित राजधानी हुन्।
आईक्यू एअरले १३८ देशका आठ हजार ९५४ शहरमा राखिएका वायु प्रदूषण नाप्ने उपकरणबाट प्राप्त तथ्यांक केलाएर यो प्रतिवेदन तयार पारेको हो।
निष्प्रभाव प्रयास
वायु प्रदूषण नियन्त्रणका लागि सरकारले विभिन्न कार्ययोजना र नीति बनाएको छ। वातावरण विभागले जून २०१७ मा ‘काठमाडौं उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन’ कार्ययोजना बनाएर सवारीसाधनले गर्ने वायु प्रदूषण घटाउने नीति अघि सारेको थियो। कार्ययोजनामा सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषण घटाउन तत्काल यूरो-५ मापदण्ड लागू गर्ने उल्लेख थियो।
तर ६ वर्ष पुग्न लाग्दा यूरो-५ त परै जाओस्, यूरो-४ मापदण्ड समेत लागू भएको छैन। जबकि भारतले यूरो-६ बराबरको मापदण्ड लागू गरिसकेको छ। वायु प्रदूषण घटाउन वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मन्त्रिपरिषद्बाट पारित भए पनि कार्यान्वयन भएको छैन।
वातावरणविद् र वैज्ञानिकहरूले भारतबाट आउने प्रदूषित हावा रोक्न नसकिए पनि आन्तरिक प्रदूषण कम गर्न पुराना सवारीसाधनलाई विस्थापन गरेर विद्युतीय सवारीसाधन चलाउनुपर्ने, इँटाभट्टा र प्रदूषण निम्त्याउने उद्योग बस्तीबाट टाढा सार्नुपर्ने, डढेलो र फोहोर जलाउने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने, उद्योग-कलकारखानामा प्रदूषण कम गर्ने प्रविधि जडान गर्नुपर्ने, निर्माण कार्य गर्दा धूलो उड्न रोक्नुपर्ने लगायत सुझाव दिंदै आएका छन्।
यी पनि पढ्नुहोस् :