एमएको नेपाली पाठ्यक्रमबाट पारिजातलाई हटाइयो
त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा नेपाली विषयको पाठ्यक्रमबाट साहित्यकार पारिजातलाई हटाइएको छ भने ५७ पुरुष र दुई महिलाका मात्रै सिर्जना राखिएका छन्।
त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रमा स्नातकोत्तर तहका सबै पाठ्यक्रम परिमार्जन तथा परिवर्तन गरेको छ। त्रिविले पटक पटक पाठ्यक्रम फेरबदल गर्ने तयारी गरेको भए पनि पूर्णता पाउन सकेको थिएन। यस पटक फागुन १ देखि नयाँ पाठ्क्रम लागू गरिएको छ।
नयाँ पाठ्यक्रम तय गर्दा भने स्नातकोत्तरको नेपाली विषयको पाठ्यक्रममा मनलाग्दी गरिएको छ। त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय केन्द्रीय विभागले गत माघ ३० मा सार्वजनिक गरेको नयाँ पाठ्यक्रममा समावेशितालाई ध्यान दिइएको छैन।
त्रिविको नेपाली केन्द्रीय विभाग अन्तर्गत नेपाली भाषा, साहित्य र लोकसाहित्य पढाइ हुन्छ। चार सेमेस्टर प्रणालीमा पढाइ हुने स्नातकोत्तरको साहित्यमा कथा, कविता, उपन्यास, नाटक, निबन्ध, आख्यान, गैरआख्यान, काव्य, खण्डकाव्य लगायतका विधामा विभिन्न साहित्यकारका रचना समावेश गरिंदै आएको छ।
नयाँ पाठ्यक्रममा ६२ वटा पाठ छन्। त्यसमा ५७ पुरुषका सिर्जना छन् भने दुई महिलाका मात्र सिर्जना अटाएका छन्। साहित्यकार पारिजातको शिरीषको फूल र तोया गुरुङको कवितासंग्रह समेटिएका छन्। गुरुङको कवितासंग्रह पहिलो पटक स्नातकोत्तरको पाठ्यक्रममा समावेश भएको हो।
त्यस्तै, विशेष अध्ययन अन्तर्गत ऐच्छिक विषयमा विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर ‘गोठाले’, इन्द्रबहादुर राई, पारिजात, विजय मल्ल, भवानी भिक्षु लगायतको जीवनी र कृतिबारे पढ्न पाइन्थ्यो। नयाँ पाठ्यक्रममा भने पारिजातको जीवनी राखिएको छैन।
पाठ्यक्रमबाट पारिजातलाई हटाइएकामा नेपाली विषयका प्राध्यापक नै असन्तुष्ट छन्। उनीहरूले यसमा विमति जनाएका छन्। रत्नराज्य क्याम्पसमा नेपाली अध्यापन गराउँदै आएकी उपप्राध्यापक बिन्दु शर्मा समय अनुसार पाठ्यक्रम समावेशी हुनुपर्नेमा झन् पछाडि फर्काइएको टिप्पणी गर्छिन्। “नयाँ पाठ्यक्रम असमावेशी छ र महिलालाई निषेध गरिएको छ,” शर्मा भन्छिन्।
नेपाली साहित्यका विभिन्न विधा र समालोचनामा योगदान पुर्याएका प्राज्ञिक महिला हुँदाहुँदै पनि पाठ्यक्रममा अटाएका छैनन्। यसअघि पाठ्यक्रममा रहेका महिलालाई हटाएर असमावेशी चरित्र प्रदर्शन गरिएको उनको भनाइ छ। “विद्यार्थीलाई विवेकशील र आलोचनात्मक बनाउने मूल मुहान एवं पाठ्यक्रम नै असमावेशी बनाउनु गलत कार्य हो,” शर्मा भन्छिन्।
त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख कृष्णप्रसाद न्यौपाने भने पाठ्यक्रम निर्माणमा आफू संलग्न नभएको बताउँछन्। “पाठ्यक्रम बनाउने वेला म विभागको जिम्मेवारीमा पनि थिइनँ। पदाधिकारीबाट अनुमोदन भएर आइसकेपछि लागू गर्ने मेरो जिम्मेवारी पनि हो,” न्यौपाने भन्छन्।
नेपाली विषयको पाठ्यक्रम बनाउँदा विषय समितिका अध्यक्ष प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेल, सदस्यमा लक्ष्मणप्रसाद गौतम, सुकुम शर्मा र दुर्गाबहादुर घर्ती थिए। चार सदस्यीय स्थायी समितिले पाठ्यक्रम बनाएको हो। प्राध्यापक लुइँटेलले गत वर्ष अवकाश पाइसकेका छन्।
नयाँ पाठ्यक्रममा लुइँटेलको किताबलाई पनि राखिएको छ। स्नातकोत्तर तहको चौथो सेमेस्टरमा आप्रवासी नेपाली साहित्यलाई ऐच्छिक विषयका रूपमा पढाइन्छ। २०७९ सालमा लुइँटेलले लेखेको डास्पोराको सैद्धान्तिक स्वरूप पुस्तक पाठ्यक्रममा राखिएको हो।
पाठ्यक्रममा आएका विवादबारे त्यो वेला नै विषयगत समिति सदस्यले उठाउँदा सम्बोधन नभएको एक प्राध्यापक बताउँछन्। “पाठ्यक्रम बनेर आइसकेपछि अन्तिममा १९ सदस्यीय समितिमा छलफल हुनुपर्छ। तर यस पटक भएन,” उनी भन्छन्। पाठ्यक्रम बनाउने विषयगत समितिमा छलफल नै नभई डीन कार्यालय, विद्या परिषद् र प्राज्ञिक परिषद्बाट अनुमोदन भएको ती प्राध्यापकको आरोप छ।
नेपाली विभागका प्रमुख न्यौपाने भने नयाँ पाठ्यक्रम एक वर्षअघि नै तयार गरिएको बताउँछन्। त्यसलाई स्थायी समितिले पारित गरेपछि आफू सम्मिलित १९ सदस्यीय समितिले अनुमोदन मात्र गरेको उनको भनाइ छ।
प्रयोगात्मकमा पनि मनलाग्दी
ऐच्छिक विषय अन्तर्गत विद्यार्थीले विभिन्न विषय रोज्न पाउँछन्। तर ऐच्छिक विषयमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यासमा एकरूपता छैन। जस्तै- नेपाली लोकवार्तामा सैद्धान्तिक र प्रयोगात्मक दुवै अभ्यास गर्नुपर्ने व्यवस्था गरिएको छ। अन्य ऐच्छिक विषयमा भने प्रयोगात्मक राखिएको छैन।
यसले विद्यार्थीको परीक्षाको नतीजामा समस्या ल्याउने उपप्राध्यापक शर्मा बताउँछिन्। “एकै खालको ऐच्छिक विषयमा कुनैमा प्रयोगात्मक छ भने कुनैमा छैन। परीक्षाको नतीजा तयार पर्दा यसले समस्या हुन्छ,” उनी भन्छिन्।
नयाँ पाठ्यक्रम लागू गर्ने समयलाई लिएर पनि प्राध्यापकले गुनासो गरेका छन्। एउटा सेमेस्टर ६ महीनाको हुने भएकाले हरेक सेमेस्टरमा एक विषयका लागि ४८ पाठघण्टा छुट्याइएको हुन्छ। नयाँ पाठ्यक्रममा पाठभित्रका शीर्षक र उपशीर्षक धेरै भएको शर्मा औंल्याउँछिन्। यसमा १०० पाठघण्टा राख्दा पनि समयमा कोर्स सकाउने अवस्था नभएको उनको मूल्यांकन छ।
त्यस्तै, फागुन १ देखि लागू गरिएको नयाँ पाठ्यक्रमको पढाइ जेठभित्र सक्नुपर्ने बाध्यता आएको छ। किनकि परीक्षाको मिति तोकिइसकेको छ। वार्षिक प्रणालीको जस्तो पाठ्यक्रम बनाइएको प्राध्यापकहरूको भनाइ छ।
पाठ्यक्रममा समावेश विषयवस्तुलाई लिएर पनि आलोचना भएको छ। प्रगतिवादी र नारीवादी धारलाई निषेध गरिएको आरोप छ।
आजभन्दा १०० वर्षअघिका कथा राखिएका छन् भने अहिलेका प्रगतिवादी र नारीवादी धारका कथालाई समावेश गरिएको छैन। “पुरुषप्रधान समाजले महिलालाई ममतामयी, दयालु, प्रेमिल लगायत विभिन्न रूपमा देखाउँछ। यस्तै चिन्तनलाई पाठ्यक्रमले संरक्षण गरेको छ,” उपप्राध्यापक शर्मा भन्छिन्।
त्रिवि नेपाली केन्द्रीय विभाग प्रमुख न्यौपाने भने अरूले बनाएको पाठ्यक्रममा आफूले स्पष्टीकरण दिनुपरिरहेको गुनासो गर्छन्। केही प्राध्यापकबाट लिखित रूपमा पनि असन्तुष्टि आएको उनी सुनाउँछन्। असन्तुष्टिबारे डीन कार्यालयलाई जानकारी गराइसकेको उनी बताउँछन्। “केही कुरा असमावेशी छन्। माथिल्लो निकायबाट यसमा संशोधन हुनुपर्छ भन्ने प्रस्ताव आएमा संशोधन गर्न सकिन्छ,” न्यौपाने भन्छन्।