‘जलवायु परिवर्तन भविष्यको होइन, तत्कालको समस्या बनिसकेको छ’
बढ्दो गर्मीको असर मिर्गाैलादेखि प्रजनन स्वास्थ्यसम्म देखिन थालेको छ। अध्ययनहरूले गर्मीमा काम गर्ने पुरुषको शुक्रकीटको गुणस्तर र संख्यामा गडबडी देखाएका छन्।
न्याशनल युनिभर्सिटी अफ सिंगापुरको योङ लू लिन स्कूल अफ मेडिसिनका एशोसिएट प्रोफेशर हुन्, जेसन ली। उक्त संस्थामा ‘हिट रेजिलिएन्स’ र ‘पर्फमेन्स सेन्टर’ को निर्देशन र ह्युमन पोटेन्सियल ट्रान्सलेशनल रिसर्च प्रोग्रामको सहनेतृत्व सम्हालिरहेका उनी सन् २०१२ देखि अमेरिकन कलेज अफ स्पोर्टस् मेडिसिनका फेलो पनि हुन्। ली हाल सिंगापुरको स्वास्थ्य मन्त्रालयमा ‘हिट इन्जुरी क्लिनिकल प्राक्टिस गाइडलाइन्स’ का सहअध्यक्ष छन् भने विश्वव्यापी ताप स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन समितिमा पनि काम गर्छन्।
यससँगै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्व मौसम विभाग संगठन (डब्लूएमओ) दक्षिणपूर्वी एशियाको हिट हेल्थ हबको नेतृत्व पनि गर्छन्। यो हबले बढ्दो विश्वव्यापी तापक्रमका कारण निम्तिने स्वास्थ्य समस्या व्यवस्थापनका प्रयास गर्छ। तापक्रम वृद्धिले पृथ्वी र मानवीय स्वास्थ्यमा पार्ने असर तथा यसलाई कम गर्ने उपायबारे लीसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानीको सम्पादित अंश :
पृथ्वीको तापक्रम अहिले कसरी र कुन रफ्तारमा बढिरहेको छ, यसले असर पार्ने मुख्य क्षेत्र कुन-कुन हुन्?
विश्व मौसम विज्ञान संगठनले सन् २०२४ लाई अहिलेसम्मकै तातो वर्ष पुष्टि गरेको छ। उक्त वर्षको तापक्रम पहिलेको औद्योगिक स्तरभन्दा करीब १.५५ डिग्री सेल्सियस माथि पुगेको छ। जमीन र समुद्री सतहको तापक्रम असाधारण रूपमा बढेको छ। यसबाट उष्ण क्षेत्रहरूमा थप असर पुग्ने देखिन्छ। खासगरी दक्षिणपूर्वी एशिया, दक्षिणएशिया, ल्याटिन अमेरिका र अफ्रिका धेरै प्रभावित हुन सक्छन्। त्यहाँका पनि सबैभन्दा कमजोर समुदाय बढी मारमा पर्नेछन्।
मानवीय स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा यसले नयाँ समस्या दिनुका साथै पहिल्यैदेखिका शारीरिक समस्या थप बढाइदिन्छ। प्रजनन क्षमता र गर्भावस्थामा असर पार्न सक्छ। हाम्रा सबै विद्यालय वातानुकूलित सुविधायुक्त हुँदैनन्। त्यसैले त्यहाँका बालबालिकाको सिकाइमा समस्या हुन सक्छ।
पेशागत रूपमा हेर्दा खुला क्षेत्रमा बसेर काम गर्नुपर्ने कृषक, प्रहरी, निर्माण क्षेत्रका मजदूरलाई पहिल्यैदेखि असर गरिरहेकै छ। शारीरिक क्षमता कमजोर हुने भएकाले वृद्ध उमेरका मानिसलाई गर्मीले बढी तनाव दिनेछ। काम गर्दा बढ्ने शारीरिक गर्मीसँग बाहिरी गर्मी समेत मिसिंदा श्रमिकको स्वास्थ्यमा असर पर्छ।
तापक्रम वृद्धिका दुष्परिणामबाट जोगिन व्यक्तिगत तवरमा केकस्ता उपाय अपनाउन सकिन्छ?
धेरै उपाय छन्। हामी प्राय: एयर कन्डिशनको उपयोग गर्नु मात्र समस्याको समाधान ठान्छौं। यसको पनि अत्यधिक प्रयोगले समस्या हुन सक्छ। त्यसैले विकल्प खोज्न आवश्यक छ। जस्तै- आफूलाई शारीरिक रूपमा चुस्त राख्ने, तातो वातावरणमा अभ्यस्त हुँदै जाने, कार्यस्थलमा कामसँगै आरामको चक्र लागू गर्ने, प्रशस्त पानी पिउने, पर्याप्त निदाउने, पंखा प्रयोग गर्ने।
गर्मीले दीर्घकालीन रूपमै असर पार्छ। जस्तो- मिर्गौलामा दीर्घकालीन समस्या आउन सक्छ। गर्मीका कारण रक्तसञ्चार छालातर्फ बढी केन्द्रित हुँदा थकाइ, बेहोशी आदि हुन सक्छ। यहाँ रोजगारदाताले पनि बुझ्नुपर्छ कि श्रमिकलाई बीचबीचमा आराम दिइरहनुपर्छ। कामदार स्वस्थ भए नै राम्रो काम गर्ने हुन्।
सन् २०२४ मार्चमा बढ्दो तापक्रमले कृषिमा परेका समस्या बुझ्न थाई अनुसन्धाताका साथ उत्तरपूर्वी थाइल्यान्डमा जेशन ली।
हाम्रा सरकार, उद्योगी, मालिक, सीईओहरूले पनि तापक्रम अनुकूलका नीति बनाउनुपर्छ। यसलाई ठूलो लगानी चाहिंदैन। यो समस्यालाई अहिल्यैदेखि रणनीतिक दृष्टिकोणबाट हेरिनुपर्छ ताकि अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले भविष्यमा धेरै खर्चनुपर्ने दिन नआओस्। उपचारभन्दा पहिले रोकथामका काम गर्दा प्रतिफल राम्रो हुने कुरा केही देशका उदाहरणले देखाई पनि सकेका छन्।
सरकारले अपनाउनुपर्ने रणनीति कस्ता हुन सक्छन्?
जतिसक्दो कार्बन उत्सर्जन कम गर्नुपर्छ। यद्यपि अहिलेको हकमा उत्सर्जन बन्द गरे पनि संसार केही समयसम्म तात्दै जानेछ। अब मानवले मात्र नभई सम्पूर्ण जैविक प्रणालीले तातो विश्वमा बाँच्न सिक्नुपर्छ। वातावरणीय अनुकूलनका उपायले यसमा सघाउन सक्छन्। केही स्थानमा समुदायकै प्रयासमा अनुकूलनका काम भएका छन्। स्थानीय ज्ञानको सही उपयोग गर्नुपर्छ।
तातिंदो विश्वमा बाँच्न मात्र होइन, समृद्ध रूपमा अगाडि बढ्ने उपाय पनि सँगसँगै खोजिनुपर्छ। तत्काललाई चाहिं सरकारले सामुदायिक सहभागितामा जल, जमीन, जंगल जोगाउने काम गर्नुपर्छ। कार्बन उत्सर्जन न्यूनीकरणका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरी समाजलाई गर्मीसँग जुध्न सक्षम बनाउनुपर्छ।
कतिपय सरकारहरूको कार्यकाल छोटो हुन्छ। त्यसैले तिनीहरू पाँच वर्षपछिको कुरा सोच्दैनन्, तत्काललाई लाभ हुने नीति लागू गर्छन्। यसो गर्नु हुँदैन। नेताहरूले आफ्नो कार्यकाललाई मात्र फाइदा पुग्नेभन्दा पुस्तौंपुस्ताले लाभ लिने कार्यक्रम ल्याउनुपर्छ। तापक्रम वृद्धिसँग जुध्न गरिएको लगानी ‘शून्य नाफाको खेल’ होइन भन्ने बुझ्नुपर्छ। देशको भौगोलिक, आर्थिक र सामाजिक सन्दर्भ ध्यानमा राखेर योजना बनाइनुपर्छ। यससँगै राष्ट्रिय स्तरमा गर्मी चेतावनी प्रणालीमा लगानी गर्नुपर्छ। मानिसले शुरूदेखि नै सावधानी अपनाए भने कमैले मात्र अस्पताल भर्ना हुनुपर्छ।
खुला स्थानमा काम गर्ने मजदूरको सुरक्षाका लागि कस्ता उपाय अपनाउन सकिन्छ?
मजदूरलाई बदलिंदो तापक्रममा काम गर्न क्रमशः अभ्यस्त बनाउँदै लैजान सकिन्छ। तर काम गर्ने समय र आरामको सन्तुलन मिलाउन जरूरी छ। निरन्तर रूपमा अत्यधिक परिश्रम गर्न नदिने, कामअघि चिसो खानेकुरा उपलब्ध गराउने, छहारीमा बस्न दिने गर्नुपर्छ। पसिना बग्दा शरीरमा पानीको कमी हुन्छ। त्यसैले आवश्यक मात्रामा तरल पदार्थ आपूर्ति गरिनुपर्छ। फेरि गर्मी भन्नासाथ पानी मात्र पिउन हुँदैन। किनकि कुनै पनि कुराको अत्यधिक वा न्यून मात्रा दुवै हानिकारक हुन सक्छ।
नेपालबाट खाडी मुलुकमा श्रम गर्न गएकामध्ये थुप्रैले अहिले मिर्गौलाको डायलासिस गराइरहेका छन्। यसको कारण पनि गर्मी नै होला कि?
पहिले पहिले कृषि क्षेत्रमा प्रयोग हुने कीटनाशक वा वंशानुगत कारणले मिर्गौलाको रोग लाग्छ भनिन्थ्यो। हालैका अध्ययनले लगातार उच्च तापक्रममा रहँदा पनि मिर्गौला रोग लाग्ने देखाएका छन्। मध्य अमेरिका र अन्य केही स्थानमा ३० देखि ४० वर्षका युवामा यो समस्या पाइएको छ।
गर्मीमा शरीरले तापक्रमसँग जुध्न छालासम्म रगत पठाउँछ। पसिनाको माध्यमबाट पनि ताप उत्सर्जन हुन्छ। यस्तो अवस्थामा अत्यधिक मिहिनेत गर्दा रगत मुख्य रूपमा मांसपेशीहरूमा जान्छ। तब मिर्गौलामा रगतको आपूर्ति राम्ररी हुँदैन। अर्कातिर खुला ठाउँमा शौचालय सजिलै नपाइने हुँदा मजदूरहरू कम पानी पिइदिन्छन्। सोही कारण मिर्गौलामा दीर्घकालीन असर पर्न सक्छ।
खाडीमा निर्माण कार्यमा खटिरहेका मजदूर। तस्वीर स्रोत : इन्टरप्रेस सर्भिस
मिर्गौला मात्र होइन, प्रजनन स्वास्थ्य पनि जोखिममा छ। कारण प्रस्ट नभए पनि अध्ययनहरूले गर्मीमा काम गर्ने पुरुषको शुक्रकीटको गुणस्तर र संख्यामा गडबडी हुने देखाएका छन्। गर्भावस्थामा पनि असर देखिएको छ। जस्तै, कम तौलको बच्चा जन्मिने वा बच्चामा जन्मजात स्वास्थ्य समस्या निम्तिने जोखिम छ।
तापक्रम वृद्धिले भविष्यमा कोरोना महामारी जस्तै संकट निम्त्याउन सक्ला?
जलवायु परिवर्तन र महामारी फरक विषय भए पनि प्रभाव पक्कै घातक हुन सक्छ। महामारीका वेला मानिसहरू तत्कालको जोखिम बुझेर छिटो प्रतिक्रिया दिन्थे। तर जलवायु परिवर्तनलाई धेरैले भविष्यको समस्या ठानिरहेका छन् जबकि अहिले नै धेरै मानिस यसबाट प्रभावित छन्। यसलाई समाधान गर्न तात्कालिक र दीर्घकालीन दुवै योजना अघि बढाउनुपर्छ। ताकि भावी पुस्ताका लागि पनि यो महामारी नबनोस्।
कतिले जलवायुमा परिवर्तन देखिनु स्वाभाविक र प्राकृतिक रहेको भन्दै तापक्रम वृद्धिको अहिलेको मुद्दालाई खिसी गर्छन्। खासमा यो कति गम्भीर समस्या हो?
यो कुरा तपाईं कहाँ हुनुहुन्छ, त्यसमा भर पर्छ। धेरै महीना गर्मी र आर्द्रता रहने दक्षिणपूर्वी एशिया वा दक्षिणएशियामा यो समस्या तत्काललाई ठूलो नलाग्न सक्छ। तर मैले यस अवस्थालाई ‘उम्लिरहेको भ्यागुता’ भनी तुलना गर्ने गरेको छु, किनभने हामी ‘थ्रेसहोल्ड’ नजीकै छौं। तापक्रममा थोरै मात्र वृद्धिले पनि दीर्घकालीन रूपमा ठूलो असर पार्न सक्छ। तपाईंसँग त्यसको सामना गर्ने स्रोतसाधन छ/छैन भन्ने कुराले पनि धेरै फरक पार्छ।
जलवायु जोखिमको कुरा गर्दा यो धूमपान नियन्त्रण अभियान जस्तै भएको छ। चुरोटले तत्काल असर नदेखाउने भएकैले मानिसहरू अभियानलाई उडाउँछन्। तर दीर्घकालमा उनीहरू यसकै कारण स्वास्थ्यमा गम्भीर असर भोगिरहेकै हुन्छन्। जलवायु परिवर्तनको हकमा पनि यही लागू हुन्छ। भविष्यमा आर्थिक, सामाजिक रूपमा ठूलो मूल्य चुकाउनुपर्छ। तापक्रम वृद्धि अन्य प्राकृतिक प्रकोप जस्तो प्रत्यक्ष रूपमा देखिंदैन। कुनै भौतिक संरचना नष्ट नहुनाले मानिसहरू यसलाई चाँडै भुलिदिन्छन्।
चर्को घाममा काम गरिरहेका कृषि मजदूर। तस्वीर स्रोत : नवीन बराल/द थर्ड पोल
तपाईं संलग्न संस्थाले तापक्रम वृद्धिबाट मान्छेलाई जोगाउन केकस्ता योजना बनाइरहेछन्?
अहिले सिंगापुरको कुल प्रजनन दरमा गिरावट आएको छ। यसमा तापक्रमको मात्र भूमिका रहेको सोझै भन्न नसकिए पनि यो अप्रत्यक्ष कारण भने हुन सक्छ। जस्तो- अत्यधिक गर्मीका कारण बाहिर व्यायाम गर्न सकिंदैन, जसकारण स्वास्थ्यमा असर गर्छ। स्वास्थ्य बिग्रिएपछि शरीरका धेरै पक्ष प्रभावित भई नै हाल्छन्।
त्यसैले हामी प्रजनन क्षमतादेखि गर्भावस्थासम्म परेको असर, यसबाट जोगिने उपायबारे छलफल गरिरहन्छौं। तापक्रमलाई सही तरीकाले उपयोग गर्ने उपाय पनि छ। जस्तै- व्यायाम गरेर स्वास्थ्य राम्रो राख्न सकिन्छ। यसले मानसिक तनाव व्यवस्थापन गर्न मद्दत गर्छ।
हामी विद्यालयसँग पनि कुराकानी गर्छौं। जस्तो- विद्यालयको पोशाक तापक्रम अनुकूल बनाउन, कक्षाकोठाको वातावरण पनि त्यस्तै बनाउन सुझाउँछौं। बढी जोखिममा रहेका अपांगता भएका व्यक्ति, नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगी, वृद्धवृद्धालाई पनि बढ्दो तापक्रमबाट जोगिने उपाय सिकाइरहेछौं।
यी पनि पढ्नुहोस्