परदेशमा ४५ वर्ष हराएका इतुम्बहा:का पौभा
इतुम्बहा:बाट २०३७ सालमा चोरिएर अमेरिका पुर्याइएका पौभा फर्काउन त्यसको दुई वर्षअघि खिचिएको तस्वीर मुख्य प्रमाण बन्यो।
सरस्वती रश्मि शाक्य
सन् १९७८ को एउटा तस्वीरले ऐतिहासिक महत्त्व बोकेका तर हराइसकेका प्राचीन पौभाप्रति फेरि मानिसहरूको चासो बढायो। पुरातत्त्व विभागका फोटोग्राफर चिनिया ताम्राकारले खिचेको त्यो तस्वीर अहिले यति महत्त्वपूर्ण सावित होला भनेर सायदै कसैले सोचेको हुँदो हो।
ताम्राकारले इतु बहा:मा, गुँला पर्वको अवसरमा प्रदर्शनमा राखिएका तीन पौभाको पनि तस्वीर खिचेका थिए। इतु बहा:कै कचा बहा:का बासिन्दा हुन् उनी। उक्त तस्वीरले हराएका पुरातात्त्विक सम्पदा फिर्ता ल्याउन दुई पुस्तादेखि चलिरहेको लडाइँलाई ठूलो भर दियो।
ती पौभाको स्थलगत तस्वीर यही एउटा मात्र जो थियो। “त्यति वेला क्यामेरा अहिले जस्तो सर्वसुलभ नभएकाले जोकसैले फोटो खिचिरहन सम्भव हुँदैनथ्यो,” ताम्राकार भन्छन्, “अनि आफूले खिचेको फोटो यति महत्त्वपूर्ण होला भनेर उति वेला सोचोस् पनि कसले ?”
चोरेर विदेश पुर्याइएका देउता फर्काउन यो तस्वीर जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण छन् यसका लागि संघर्ष गरेकाहरू। इतुम्बहा: सुधार समितिका अध्यक्ष क्याप्टेन चन्द्रबहादुर शाक्य र सचिव स्वस्तिरत्न शाक्य अनवरत रूपमा खटिए। करीब ४५ वर्षअघिको उक्त सम्पदा चोरी घटनाको प्रतिवेदन तयारीदेखि सम्बद्ध निकायको ध्यानाकर्षण, पत्राचारसम्मको पहल अघिल्लो पुस्ताले थाल्दैनथ्यो त पछिल्लो पुस्ताले मेलोमेसो नै पाउँदैनथ्यो। अनि अभियानलाई निरन्तरता पनि दिन सक्दैनथ्यो।
इतुम्बहा:बाट २०३७ सालमा चोरिएका पौभा चित्र।
इतुम्बहा:बाट ३०० वर्षभन्दा पुरानो चिन्तामणि लोकेश्वरको, ६०० वर्ष पुरानो सपत्नीक गगनशिम भरोको अनि १७०४ तिरको दैवी जोडीसामु प्रार्थनारत चार भक्त सहितको पौभा चोरिएका थिए। ११औं शताब्दीको बहाको भित्री मन्दिरमा रहेका यी चित्र करीब १ दशमलव ५ मिटर लम्बाइका थिए।
नेपालमण्डलको केन्द्रमा रहेका पुराना, ठूला र आर्थिक रूपमा समृद्धमध्येको यो बहा:मा केशचन्द्र महाविहार छ। पौभाहरू यी बहा:का सम्पत्ति हुन्। श्रावणशुक्ल प्रतिपदादेखि र भाद्रकृष्ण औंसीसम्म चल्ने एकमहीने गुँला-उत्सवमा मात्र यी सार्वजनिक प्रदर्शनीमा राखिन्छन्। ताम्राकारले त्यही अवसरमा उक्त तस्वीर खिचेका थिए।
२०३७ भदौ २९ का दिन तीनवटै पौभा गायब भए। मन्दिरको भित्तामा एउटा मान्छे छिर्न मिल्ने प्वाल पारिएको भेटियो। बहामा दैनिक अनुष्ठानका लागि आएका संघका सदस्यहरू चकित परे। “यो समाचार आगो जस्तै फैलियो। म पनि दाजुको पछि लागेर घटनास्थल पुगेकी थिएँ,” स्वस्तिरत्नकी बहिनी प्रेमतारा शाक्य भन्छिन्। उनका अनुसार त्यति वेला यस्ता सम्पदाको लूटपाट निकै सामान्य थियो, अपराधीहरू उम्किहाल्थे।
नेपाल सम्पदा पुन:स्थापना अभियानका सचिव सञ्जय अधिकारीसँग फोटोग्राफर चिनिया ताम्राकार। तस्वीर स्रोत : सञ्जय अधिकारी
घटनापछि संघका सदस्यहरूलाई बोलाइयो। भोलिपल्ट हनुमानढोका प्रहरी कार्यालयमा उजुरी गरियो। पुरातत्त्व विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारलाई बोधार्थ पठाइयो। तर लामो समयसम्म मुद्दा अघि बढेन। प्रहरीले कार्यालयमा आगलागी हुँदा कागजातहरू नष्ट भएको दाबी गर्यो। यस्तोमा चन्द्रबहादुर र स्वस्तिरत्नले मुद्दा अघि बढाउन फेरि दबाब सिर्जना गरे।
पुरातात्त्विक सम्पदाको चोरीका लागि सत्तरीको दशक निकै कुख्यात थियो। यसरी हराएका सम्पदा पछि विदेशी र निजी संग्रहालयमा देखिन्थे।
पौभाहरूको खोजी
२६ फेब्रुअरी २००३ मा अमेरिकाको स्मिथसोनियन इन्स्टिच्यूशन अन्तर्गतको इमेजिन एशिया फेमिली प्रोग्राम्सका समन्वयकर्ता स्टिफन ट्रुएक्स एकर्ड नेपाल आए। यहाँका परम्परागत कला र शिल्पबारे अनुसन्धान गर्न चाहेका उनीसँग केही पौभाका प्रतिकृति पनि थिए। एकर्ड तिनको प्रामाणिकता बुझ्न चाहन्थे। अक्टोबर २००३ मा अमेरिकाकै साक्लर ग्यालरीले गर्न लागेको ‘हिमालय : एक सौन्दर्य यात्रा प्रदर्शनी’ का लागि ती पौभा सूचीबद्ध थिए।
अमेरिकाबाट पौभासँगै फर्काइएका अन्य पुरातात्त्विक कलाकृति।
सात दिनका लागि आएका एकर्ड पौभाहरूबारेको जानकारी खोज्दै इतुम्बहा: पनि पुगे। अनि बहा:का सदस्यहरूलाई ती पौभाका प्रतिकृति छाडेर उनी अमेरिका फर्किए। हेर्दै जाँदा ती पौभा तिनै थिए जो चोरी भएका थिए। १७ मार्च २००३ मा चन्द्रबहादुरले एकर्डलाई ती पौभाहरू चोरीका भएको खबर गरे।
त्यसपछि एकर्डले पनि तिनलाई प्रदर्शनीमा नराख्ने भनी खबर पठाए। पौभा अमेरिकामा रहेका पत्तो लागेपछि चन्द्रबहादुरले १८ जुलाई २००३ मा तिनलाई फर्काउने पहल अघि बढाइदिन अनुरोध सहित पुरातत्त्व विभागका तत्कालीन महानिर्देशक कोषप्रसाद आचार्यलाई पत्र लेखे। अनि सोही वर्ष ८ डिसेम्बरमा एकर्डसँग पनि ती चित्र संग्रह गर्ने न्यू योर्कस्थित व्यापारीको जानकारी मागे।
नेपाली महावाणिज्यदूत चक्रकुमार सुवेदीलाई न्यू योर्कमा कलाकृति हस्तान्तरण गरिंदै।
अब चोरिएका पौभाको वर्तमान स्थिति र तिनको नेपालस्थित बहा:सँगको सम्बन्ध र प्रामाणिकता पुष्टि भइसकेको थियो। चिनियाले चोरिनुभन्दा दुई वर्षअघि खिचेको तस्वीर त्यसको बलियो प्रमाण थियो। संघले १६ जनवरी २००६ मा पुरातत्त्व विभागका अनुसन्धान अधिकारी भेषनारायण दाहाललाई ती कलाकृति बहा:ले बेचेको नभई चोरी भएको खुलाउँदै पत्र पठायो।
सन् १९८० मा संघनायक रहेका (मू थ्यापा) मोतीकाजी शाक्य, छोरा स्वस्तिरत्न र नातिनी रहेकी यो पंक्तिकार समेत गरी तीन पुस्ता अभियानमा गाभियौं। स्वस्तिरत्नकै पहलमा पुरातत्त्व विभाग, प्रहरी र भन्सार विभाग पनि यो अभियानमा सहभागी भए।
नेपाल सम्पदा पुनःस्थापना अभियानका सचिव सञ्जय अधिकारी पनि मिसिए। उनले ती पौभा फर्काउन र त्यसका लागि आवश्यक प्रमाण जुटाउन चिनिया ताम्राकार, बहा:का पदाधिकारी, न्यू योर्कका जिल्ला अटर्नी आदिसँग कैयौं पटक अनलाइन बैठक चलाए।
फिर्ता भएका कलाकृतिका साथ नेपाली प्रतिनिधिहरू त्रिभुवन विमानस्थलमा। तस्वीर स्रोत : सञ्जय अधिकारी
अन्ततः चोरिएको साढे ४४ वर्षपछि गत मार्च ४ मा यी पौभा मौलिक थलोमा फर्किएका छन्। अमेरिकाको म्यानहट्टनका जिल्ला अटर्नीले न्यू योर्कमा नेपालका कार्यवाहक महावाणिज्यदूत चक्रकुमार सुवेदीलाई पौभा हस्तान्तरण गरे।
त्यसपछि यी पौभा विजयमान सिंह र न्यू योर्कको नेवा गुठीलाई जिम्मा लगाइयो। तिनले आवश्यक कोष जुटाएर पौभा सहित चोरिएर त्यहाँ पुगेका विभिन्न २० देवताका मूर्ति समेत फिर्ता पठाएका छन्। ती कलाकृति गत मंगलबार पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगलाई हस्तान्तरण गरिएका छन्।
(शाक्य त्रिभुवन विश्वविद्यालय अन्तर्गत बौद्ध अध्ययन केन्द्रीय विभागकी विद्यावारिधि शोधार्थी हुन्। नेपाली टाइम्सबाट अन्शु खनालले गरेको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)
यी पनि पढ्नुहोस्