अदालतको आदेश कार्यान्वयन नभएपछि द्वन्द्वपीडितले गुहारे प्रधानमन्त्री
सर्वोच्च अदालतको आदेश कार्यान्वयन नभएपछि द्वन्द्वपीडितले स्वास्थ्य उपचार खर्च र क्षतिपूर्तिको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ का द्वन्द्वपीडित पूर्णप्रसाद पौडेलले बुधबार प्रधानमन्त्री ओलीलाई निवेदन दिएका हुन्। उनले अदालतको आदेश अनुसार उपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
सशस्त्र द्वन्द्वका क्रममा पौडेललाई सुरक्षाकर्मीले यातना दिएका थिए भने उनकी पत्नीलाई घरमै दुर्व्यवहार गरेका थिए। आमालाई दुर्व्यवहार गरेको देखेका दुई छोराले सहन नसकेपछि ज्यान त्यागेका थिए।
पौडेललाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएर यातना दिएका थिए। उनको चलअचल सम्पत्ति लुटिएको थियो।
त्यस विरुद्ध उनी अदालत पुगेका थिए। सबै तहका अदालतले उनलाई क्षतिपूर्ति भराउन र दोषीलाई कारबाही गर्न सरकारका नाममा आदेश दिएका थिए।
अदालतको आदेश कार्यान्वयन नभएपछि उनी फेरि सर्वोच्च अदालत पुगेका थिए। गत मंसीर २० मा सर्वोच्चले उनलाई क्षतिपूर्ति उपलब्ध गराउन र लुटिएको धनसम्पत्ति भराउन फेरि आदेश दिएको थियो।
अदालतको पटक पटकको आदेश कार्यान्वयन नभएपछि उनले प्रधानमन्त्रीलाई गुहारेका हुन्। उनले अदालतको फैसला कार्यान्वयन गराउन माग गर्दै प्रधानमन्त्रीलाई भनेका छन्, ‘फैसला कार्यान्वयन गरी क्षतिपूर्ति, औषधि खर्च, लुटिएको धनमाल फिर्ता पाऊँ।’
यससँगै दोषी देखिएका सुरक्षाकर्मीलाई कारबाही गर्न पनि माग गरेका छन्।
यो पनि पढ्नुहोस्