मुक्कुमलुङसँग जोडिएको जीवनपद्धति
पाथीभरा (मुक्कुमलुङ)लाई लिएर चलिरहेको आन्दोलनलाई केहीले विकास विरोधीको संज्ञा दिए पनि यससँग स्थानीय बासिन्दाको वर्षौंदेखिको गहिरो आस्था, विश्वास र जीवनपद्धति जोडिएको छ।
सिर्जना सुब्बा
पाथीभरा (मुक्कुमलुङ)मा केबलकार बनाउने र नबनाउने पक्षबीच केही महीनादेखि चलिरहेको विवाद साम्य भएको छैन, बरु झन् झन् बढ्दै छ। केबलकार बनाउने विषयलाई लिएर किन यति धेरै विरोध भइरहेको छ? मुक्कुमलुङ क्षेत्रका बासिन्दा किन आन्दोलित छन्? यसको शुरूआत चीनको प्रसंगबाट गरौं।
माओत्सेतुङले सन् १९५८ देखि १९६२ सम्म चीनमा चलाएको ‘चार हानिकारक जीव नष्ट गर्ने अभियान’ अन्तर्गत भँगेरा, मुसा, झिंगा र लामखुट्टे मारिए। यी जीवलाई सखाप पार्दा अन्नबाली राम्रो हुन्छ र मानिसलाई रोग लाग्दैन भन्ने भाष्य निर्माण गरिएको थियो। तर उब्जनी बढ्नुको सट्टा अन्न नफलेर भोकमरी सिर्जना भयो। भोकमरीका कारण सन् १९५९ देखि १९६१ सम्म करीब डेढ करोडभन्दा बढी मानिसले ज्यान गुमाए। कतिपय दस्तावेजमा त यो संख्या साढे पाँच करोड पुगेको अनुमान गरिएको छ।
यस घटना ‘ग्रेट चाइनिज फेमाइन’ अथवा चीनको ठूलो भोकमरी भनेर चिनिन्छ। चरा, कीटपतंग लगायतको संहारले पर्यावरणमा परेको नकारात्मक असरका कारण अन्नबालीको उब्जनीमा कमी आएको थियो। विकासका नाममा प्रकृतिको विनाश गर्दा विपत्ति सिर्जना भएको इतिहास पढ्न पाइन्छ।
अहिले मुक्कुमलुङमा विकासका नाममा निर्माण गरिन लागेको केबलकारको विरोधमा याक्थुङ/लिम्बू समुदाय खुलेर लागेका छन्। यसरी ज्यानै फालेर विरोध गर्नुमा उनीहरूको मुन्धुमी आस्था, मूल्यमान्यताको ठूलो भूमिका छ। त्यससँग जोडिएकामध्ये एउटा उदाहरण हो, अन्न खाने पन्छी।
कुनै पनि पन्छीलाई अन्नबाली खाइरहँदा धपाउनु हुँदैन भन्ने मान्यता याक्थुङहरूको छ। मुन्धुम र याक्थुङ लोकमान्यता अनुसार चराले मानिसलाई खेतीपातीका लागि बीउ ल्याइदिएका थिए। त्यही बीउ ल्याए बापत अन्न फलेको वेला चरालाई नधपाउने भनी मानिसले वाचा गरेका थिए। धान नाचको उत्पत्तिको किंवदन्तीमा यो प्रसंग आउँछ। त्यसैले याक्थुङहरू अहिले पनि चराचुरुंगीलाई अन्नबाली खायो भनेर धपाउने गर्दैनन् ।
याक्थुङ मुन्धुममा विभिन्न समयमा मानिसलाई साह्रोगाह्रो पर्दा जीवजन्तुले मद्दत गरेका कथा सुन्न पाइन्छ। दुम्सी, मुसा, चरा, बाँदर, चिल, कुकुर आदिले मान्छेलाई सघाएका कथा छन्। न्याय सम्पादनमा फक्तिम्बा (लाटोकोसेरो)ले महत्त्वपूर्ण भूमिका खेलेको मुन्धुममा उल्लेख छ। फक्तिम्बालाई सबैभन्दा विवेकशील चराका रूपमा हेरिन्छ। अन्धकारमा पनि देख्न सक्ने शक्ति भएकाले फक्तिम्बालाई कसैले अन्धकारमा राख्न सक्दैन भन्ने मान्यता छ।
प्रकृतिसँगको अर्को कथा पनि छ। केसामी-नाम्सामी मुन्धुममा धर्तीको पहिलो महिला (मुजिङ्ना खेयोङ्ना)ले दुई सन्तानलाई जन्म दिन्छिन्। दाजु बाघ र भाइ मान्छे हुन्छन्। प्राकृतिक रूपमा बाघ र मान्छेलाई जन्म दिनु सम्भव छैन, तर यी प्रकृति र संस्कृतिका प्रतीक हुन्। प्रकृति स्वच्छन्द, जंगली र अदम्य हुन्छ भने संस्कृति सभ्य, रत्तिएको र मूल्यमान्यताले भरिपूर्ण। दुवै विपरीत स्वभावका भए पनि एउटै आमाका सन्तान हुन् र एकअर्काको साथ चाहिन्छ।
मुन्धुमका यी कथाले मानिस र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध प्रस्ट्याउँछन्। प्रकृतिमा सबै जीवजन्तुको आआफ्नो भूमिका हुन्छ भन्ने मान्यता राख्छ। जस्तो- गँड्यौला र सर्पले माटोलाई बाँधेर राख्छ, त्यसैले नमार्नु भनिन्छ। रूख काट्नुअघि क्षमा मागिन्छ। एउटा रूख काटेपछि त्यही प्रजातिका दुई बोट रोप्नुपर्छ भन्ने मान्यता छ।
केबलकारका लागि रूख कटान गरिएको ठाउँमा वृक्षरोपण गर्दै संघर्षरत समूह।
राति जंगलमा सुसेली नबजाउनु, होहल्ला नगर्नु भनिन्छ। होहल्ला गर्दा ‘ताम्भुङ्ना’ (वनदेवी) रिसाउँछिन् भन्ने मान्यता छ। वनस्पति र जीवजन्तुको रक्षा गरेर वनदेवी बस्ने गरेको जनविश्वास छ। चराचुरुंगी र वन्यजन्तुलाई दुःख नदिन र उनीहरूको सुरक्षा गर्न बनाइएको मान्यता हो, यो।
त्यसैले शिकार खेल्न जानुअघि वनदेवी र शिकारी देवताको आराधना गर्नु, अर्काको ज्यान लिन लागेकामा क्षमा माग्नु र आफूलाई चाहिने जति मात्र लिनु भन्ने मुन्धुममा उल्लेख छ। यस मान्यतालाई याक्थुङ/लिम्बूहरूले पालना गर्दै आएका छन्।
त्यस्तै, मान्छेको सृष्टिबारे सनवा चःइत् मुन्धुम अर्थात् सृष्टि वर्णन मुन्धुममा अर्को रोचक कथा छ। भगवान् पोरोक्मी याम्फिमिवाले पृथ्वी, ढुंगा, माटो, हावा, पानी, जलचर, थलचर, वनस्पति सबै उत्पत्ति गरिसकेपछि अन्तिममा मान्छेको सृष्टि गर्न चाहेछन्। उनलाई सर्वगुणसम्पन्न, अजर-अमर मान्छे बनाउन मन लागेछ। पहिले ढुंगामाटो प्रयोग गरेर मान्छे बनाए। मान्छे यति सानो भयो कि बाख्राको बर्कौला पनि भारी हुने भयो।
त्यस्तो सानो मान्छेले धर्तीको भोगचलन, व्यवस्थापन र संरक्षण गर्न सक्दैन भन्ने सोचेर ‘तिमीहरू धर्तीको मालिक-मालिक्नी ‘खाम्बोङ्बा-लुङबोङ्बा भई बस्नू’ भने। त्यसैले याक्थुङ समुदायमा मानिसहरू धर्तीको मालिक नभई ‘खाम्बोङ्बा-लुङबोङ्बा’ हुन्छन् र धर्ती वा भूमि किनबेच हुने वस्तु होइन भन्ने मान्यता छ। याक्थुङ समुदायमा भूमि (जल, जमीन र जंगल) सामूहिक सम्पत्ति हुने गर्थे।
किपट प्रथा हटेसँगै व्यक्तिगत बन्न थालेको पाइन्छ। २०२१ सालमा भूमिसुधार ऐन लागू भएसँगै किपट प्रथा हट्यो। त्यसपछि जग्गाजमीन सामूहिक स्वामित्वबाट रैकर वा व्यक्तिगत स्वामित्वमा राख्न शुरू भयो।
किंवदन्ती अनुसार त्यसपछि पनि पोरोक्मी याम्फिमिवाले विभिन्न पदार्थको मान्छे बनाउँछन्, बहुमूल्य रत्न, सुन, चाँदी। तर कुनै मानिस बोल्दैन। त्यसपछि तागेरा निङ्वाफुमाङले सपनामा उपाय सुझाउँछिन्, सुली, खरानी र बाँसको टोड्काको पानी मिसाएर मान्छे बनाउने। त्यसरी बनाएको मान्छेलाई ‘ए मनुवा’ भनेर बोलाउँदा ‘हजुर’ भनेर जवाफ दिन्छ।
कस्ता कस्ता वस्तुको मान्छे बनाउँदा बोलेका थिएनन्। सुली र खरानीले बनाउँदा बोलेपछि मान्छेलाई हेर्दै ‘थुक्क’ भन्छन्। यसरी थुक्क भन्दा मान्छेको शिर ढल्छ र मर्छ। बल्लतल्ल बनाएको मान्छे मरेपछि पोरोक्मी याम्फिमिवालाई के गर्ने भन्ने मेसो हुँदैन। त्यसपछि तागेरा निङ्वाफुमाङलाई सम्झिन्छन्। उनले सपनामा आएर ‘मान्छेको शिर उठाउनु, जीवित हुन्छ’ भन्छिन्।
शिर उठाउने अनुष्ठान गरेपछि मान्छे जीवित हुन्छ। त्यसैले लिम्बू समुदायमा ‘शिर उठाउनु’ को अर्थ व्यापक छ। यो अनुष्ठान पनि हो, सामाजिक सम्बन्ध सुमधुर राख्नका लागि गरिने द्वन्द्व व्यवस्थापनको तरीका पनि हो। अर्को, ‘चोत्लुङ’ पुग्ने उपाय पनि हो। डा. चैतन्य सुब्बाका अनुसार शिर उच्च राखी आत्मसम्मान र गर्वका साथ न्यायसंगत भएर जिउनु नै चोत्लुङ पुग्नु हो। चोत्लुङ पुगेका मान्छे नै अजर-अमर हुन्छन् भन्ने मान्यता छ।
नवा चःइत् मुन्धुमको अन्त्यतिर आउँदा पोरोक्मी याम्फिमिवाले मरणशील मान्छेको उत्पत्ति गर्छन्, जुन अन्य जीवजन्तुभन्दा विवेकशील हुन्छ। त्यसैले मान्छेलाई धर्तीको संरक्षण, व्यवस्थापन र भोगचलन गर्ने जिम्मा दिन्छन्। मान्छेमा विवेक मात्र होइन, पोरोक्मी याम्फिमिवाको जस्तो रिस, राग र डाहा जस्ता गुण पनि आउँछन्। त्यसैले आफूले भने जस्तो मान्छे नबन्दा ‘थुक्क’ भनेका थिए।
आँखीडाहा र ईर्ष्याका विषयमा नाहेन मुन्धुममा धेरै व्याख्या गरिएको छ। यस मुन्धुमले मान्छेलाई लोभलालच, रिस र गलत काम गराउने/उक्साउने कुराको मुख्य जड नै आँखीडाहालाई मान्छ। लोभलालचकै कारण मान्छेले आफूलाई चाहिनेभन्दा बढी खोज्छ, आफन्त र छरछिमेकीको डाहा गर्छ, सधैं स्वार्थका लागि काम गर्छ। त्यसले समाजको भलाइ गर्दैन र व्यक्तिको चोत्लुङ पनि उठ्दैन भन्ने मान्यता छ।
यसको व्यवस्थापन गर्न याक्थुङहरू वर्षमा एक पटक ‘गाली-सराप बगाउने’ अनुष्ठान गर्छन्। अरूले आफू र आफ्नो परिवारका लागि सोचेका-बोलेका तथा आफूले अरूका लागि गलत सोचेका-बोलेका सबै बगेर जाओस् भनी सपरिवार खोलामा गएर यो अनुष्ठान पूरा गरिन्छ। यसरी आफ्नो मन र चित्तलाई शुद्ध गर्ने, अत्यधिक लोभ-लालचबाट बच्ने र आत्मसन्तुष्टि लिने प्रचलन छ।
यस्तै, मुन्धुममा घर कसरी बनाउने, कुन रूखको काठ प्रयोग गर्नेदेखि लिएर घरलाई धमिरा लाग्नबाट कसरी बचाउनेसम्म उल्लेख छ। घरबारे विस्तृत जानकारी भएका याक्थुङ/लिम्बूहरूले मन्दिर र धार्मिक स्मारक बनाउन खोजेनन्, किन?
उनीहरूका लागि वन, जंगल, खोलानाला, खोल्साखोल्सी, डाँडाकाँडा र हिमाल सबै देवताका वासस्थान हुन्। फक्ताङ्लुङ (कुम्भकर्ण), चमचमलुङ (कञ्चनजंघा), मुक्कुमलुङ (पाथीभरा) जस्ता हिमालमा देवताको वास रहेको जनविश्वास छ। त्यस्तै, माई खोला, तमोर खोला, काबेली खोला, तिम्बुङ पोखरी, माई पोखरी जस्ता खोला, पोखरी र पानीका मुहानमा ‘वरक्मा’ (पानीकी देवी)को वास रहेको मान्यता छ। जसले गर्दा मन्दिर र स्मारक बनाउन आवश्यक भएन।
याक्थुङहरू घरमा वास गर्ने देवीदेवताहरू युमा साम् (बोजू देवता), थेबा साम् (बाजे देवता), हिम् साम् (घर देवता) र थर अनुसार विभिन्न कुलदेवताको पूजा-अनुष्ठान गर्दा देवताको प्रतीकरूपी ढुंगा राख्ने गर्छन्। अनुष्ठान सकिएपछि बारी वा कान्लातिर सेलाइदिन्छन्। प्रकृतिले दिएको कुरा प्रकृतिमै फिर्ता गरिदिन्छन्। घरमा सधैं पूजा गर्दा पनि कलशमा पानी, तितेपाती र फूल राखेर धूप वा दियो बाल्छन्।
अझ, याक्थुङहरूको प्रमुख चाड चासोक मनाउँदा नयाँ अन्नबाली देवतालाई चढाइन्छ। यससँगै खेतीपाती गर्ने क्रममा कीराफट्यांग्रा, जीवजन्तु जानीनजानि मारिएकामा क्षमा माग्ने गरिन्छ। त्यसैले हरेक वर्ष चासोकमा अन्नबालीका लागि देवतालाई धन्यवाद दिनेसँगै मारिएका जीवजन्तुप्रति कृतज्ञता प्रकट गरिन्छ। यी मूल्यमान्यता र अभ्यासले पनि याक्थुङहरू प्रकृतिसँग कति नजीक छन् भन्ने बुझ्न सकिन्छ।

याक्थुङ/लिम्बूहरूले मान्दै आएको धर्मलाई कतिले युमा धर्म भन्छन् भने कतिले किरात। गहिरिएर हेर्दा यो प्रकृति धर्म हो। प्रकृतिको पूजा गर्ने र त्यसको रक्षा गर्ने धर्म हो। यस धर्मले प्राकृतिक रूपमा सिर्जना भएका हरेक वस्तुमा आत्मा छ, प्रकृतिको दोहन गर्नु उनीहरूलाई चोट पुर्याउनु र अन्याय गर्नु हो भन्ने मान्यता राख्छ।
अहिले चर्चामा रहेको पूर्वी नेपालको यो पहाडलाई सेमुक्तु मुक्ति कोक्मा, मुक्तुबुङ, मुक्कुमलुङ, पाथीभरा जस्ता अनेक नामले पुकारिन्छ। यस स्थलको याक्थुङ नाम जे भए पनि आगो र शक्ति भन्ने अर्थ लाग्छ। सबै सभ्यतामा आगोको महत्त्वपूर्ण स्थान छ। आगो दिने शक्ति एउटा भौतिक कुरा हो भने अर्को अलौकिक शक्तिका रूपमा लिइन्छ। मुक्कुमलुङमा रहेको त्यो शक्तिले गर्दा आफूले चिताएको पूर्ण हुने जनविश्वास छ।
मुक्कुमलुङ जाँदा धागो बाँध्दै तलदेखि माथि जानुपर्ने प्रचलन छ। त्यसको पनि छुट्टै किंवदन्ती छ। मुक्कुमलुङलाई युमा माङको भौतिक रूपमा लिइन्छ। युमालाई आविष्कारी देवी पनि मानिन्छ। थक्थक्मा मुन्धुममा युमाले मानिसलाई तानमा कपडा बुन्न सिकाएको उल्लेख छ। तानमा कपडा बुन्दा दुई किसिमले धागो लगाइन्छ, तनौटो र बुनौटो।
मुन्धुममा तनौटोलाई जीवनको प्रतीक मानिन्छ र बुनौटोलाई त्यसमा आउने उतार-चढाव। त्यही जीवनको प्रतीकस्वरूप धागोलाई बाँध्दै फेदीबाट शिरसम्म पुर्याउँदा जीवनरूपी धागोमा कहीं गाँठो नपरोस्, नचुँडियोस्, बाधा-अड्चन नआओस् भन्ने कामना गरिन्छ।
विकास मान्छेको आवश्यकता हो भन्नेमा दुईमतै छैन। तर जुन विकासले प्रकृतिलाई अन्याय गर्छ, त्यो विकास होइन। मुन्धुममा पनि सृष्टिको शुरूआतबाटै मानिसलाई प्रकृतिको संरक्षण गर्नु, प्रकृतिबाट चाहिए जति मात्र लिनु, लोभलालच लागे पनि त्यसबाट बच्न ‘गाली-सराप बगाउने’ अनुष्ठान गर्नु, प्रकृतिले दिएकामा कृतज्ञता व्यक्त गर्नु र ‘शिर ठाडो’ गरी बाँच्नु भनी सिकाइएको छ। यसै कारण याक्थुङहरू सदियौंदेखिको आस्था, विश्वास र जीवनपद्धति अँगाल्दै मुक्कुमलुङ (पाथीभरा) बचाउन आन्दोलित बनेका छन्।