लिच्छविकालदेखिका ऐतिहासिक सम्पदा अमेरिकाबाट फिर्ता
मठमन्दिर र पाटीपौवाबाट चोरी भएर अमेरिका पुगेका २० वटा ऐतिहासिक सम्पदा नेपाल फिर्ता ल्याइएका छन्।
लामो समयको प्रयासपछि २० वटा सम्पदा फिर्ता ल्याउन सफल भएको नेपाल सम्पदा पुनःस्थापना अभियानका सचिव सञ्जय अधिकारीले बताए। चोरी भएर विदेश पुगेका सम्पदा फिर्ता गर्ने उद्देश्यले नेपाल सम्पदा पुनःस्थापना अभियान स्थापना गरिएको हो।
फिर्ता ल्याइएका २० वटा सम्पदामध्ये १७ वटा मूर्ति छन्। त्यस्तै, तीन वटा पौभा चित्र रहेको अधिकारीले जानकारी दिए।
यी ऐतिहासिक सम्पदा लिच्छवि, मल्ल र शाहकालका रहेको पुरातत्त्व विभागकी अधिकृत सरिता सुवेदीले बताइन्। “ऐतिहासिक सम्पदा अमेरिकाका विभिन्न अक्सन, संग्रहालय, व्यक्तिगत संग्रहमा राखिएका थिए। हामीले ती सम्पदा नेपालका हुन् भनेर बारम्बार प्रमाण पेश गरेपछि फिर्ता भएका हुन्,” सुवेदीले हिमालखबरसँग भनिन्।
अहिले फिर्ता भएका केही मूर्ति इटुम्बहाल र केही बुङमतीबाट हराएका थिए। अन्य सम्पदाको स्थान पहिचान हुनै बाँकी छ।
अभियानका सचिव अधिकारीका अनुसार इटुम्बहालका तीन वटा पौभा फिर्ताका लागि सन् २००२ देखि नै पहल थालिएको थियो। त्यस वेला इटुम्बहालकै स्थानीय चन्द्रबहादुर शाक्यको परिवारले पौभा हराएपछि खोजीका लागि पुरातत्त्व विभागमा निवेदन दिएको थियो। ती कागजात पनि अहिले मूर्ति फिर्ता गर्न प्रमाण बनेको अधिकारीले बताए।
अर्को प्रमाण भने ४५ वर्षअघि पुरातत्त्व विभागका तत्कालीन फोटोग्राफर चिनियाँ ताम्राकारले खिचेको पौभा चित्रको तस्वीर पनि बन्यो। त्यो तस्वीर पौभा चित्र फिर्ताका लागि बलियो दाबी बनेको थियो।
हेर्दा सजिलै मूर्ति फिर्ता भएको देखिए पनि यसको प्रक्रिया भने लामो र झन्झटिलो भएको अधिकारीले सुनाए। “लामो समयको कानूनी लडाइँपछि हाम्रा भगवान् र सांस्कृतिक सम्पदाहरू फिर्ता भएका छन्,” उनले भने, “यो एक व्यक्ति, एक संस्था र सीमित अध्ययन-अनुसन्धानले फिर्ता गर्न सक्ने कुरा होइन रहेछ। सम्पदा फिर्ता ल्याउन धेरै व्यक्ति र संघसंस्थाको मिहिनेत छ।”
यसरी फिर्ता हुने सम्पदामा आठौं शताब्दीको पार्वती/लक्ष्मी, १९औं शताब्दीको तारा, १७औं शताब्दीको काली, १७औं शताब्दीको टेराकोट्टाको भैरव मुखुन्डो, १८औं शताब्दीको बुद्ध, १७औं शताब्दीको पद्मपाणि र १८औं शताब्दीको बालकृष्णको मूर्ति तथा पौभा चित्र लगायत छन्।