रिंकु सदा घटनाका मुख्य आरोपी रूपेश मण्डल पक्राउ
सिरहाको नवराजपुर गाउँपालिका-१, भगवानपुरकी रिंकु सदाको बलात्कार र ज्यान गएको घटनाका मुख्य आरोपी रूपेश मण्डल पक्राउ परेका छन्।
मण्डललाई बुधबार सिरहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले बताए। रिंकु मृत भेटिएपछि मण्डल भागेका थिए।
गत माघ ३० गते रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन्। त्यसअघि गत माघ २७ गते शौच गर्न जाँदा चार युवकले सामूहिक बलात्कार गरेको बताएकी थिइन्। बलात्कारको घटना पञ्चायत बसेर मिलापत्र गरिएको थियो।
रिंकु मृत भेटिएपछि परिवारले रूपेश मण्डल लगायत विरुद्ध जाहेरी दिएको थियो। पछि घटनाबारे थप तथ्य खुल्दै गएपछि रूपेश मण्डल, चन्दन साह, रामविनय मण्डल, नठुनी साह, रामपुकार मण्डल, रामकृपाल मण्डल, रामप्रित साह र विन्देश्वर साह विरुद्ध पूरक जाहेरी दिइएको थियो।
उनीहरू विरुद्ध अपहरणपछि सामूहिक बलात्कार, हत्या र पञ्चायतले लेनदेन गरी मिलापत्र गरेको कसूरमा प्रहरीले अनुसन्धान थालेको थियो। आरोपितमध्ये तीन जनालाई फागुन ११ मा पक्राउ गरिएको थियो।
घटनामा संलग्न र पञ्चायतमा सहभागी भएर मिलापत्र गराएको आरोपमा चन्देश्वर मण्डल, रामविनय मण्डल र कमलेशकुमार दास पक्राउ परेका थिए। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पासवानले बताए।
यो पनि पढ्नुहोस् : घरमा सुत्नै सकेको छैन पीडित परिवार