देशभित्रै बेचिंदै छन् बालिका
खासगरी बुबाआमा दुवै साथमा नरहेका कमजोर आर्थिक स्थितिका बालिका खाजाघर, स्पा, गेस्टहाउस, मसाज सेन्टर आदिमा जबर्जस्ती यौनधन्दामा धकेलिइरहेका छन्।
सरिता (परिवर्तित नाम) ११ वर्षकी हुँदा आमासँग गुल्मीबाट भक्तपुर आइन्। पतिसँग खटपट भएपछि आमा तीन छोराछोरी च्यापेर शहर पसेकी थिइन्। छोराछोरी पाल्न उनी ज्यालामजदूरी गर्न थालिन्। छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गरिदिइन्।
यसैगरी दुई वर्ष बित्यो। बिस्तारै आमा कोठामा आउन छाडिन्। हुँदाहुँदै छाडेरै हिंडिन्। “आमा बिहे गरेर हिंडेपछि हामी अलपत्र पर्यौं,” सरिता भन्छिन्। केही समयपछि आमाले कान्छी छोरीलाई सँगै लगिन्। दाइ पनि काम गर्न भारततिर लागे। अब सरिता एक्ली भइन्। बाबुसँग सम्पर्क नै थिएन।
६ कक्षा पढ्दै गरेकी सरिताले हातमुख जोर्न आफैं कमाउनुपर्ने भएपछि पढाइ छुट्यो। शुरूमा भक्तपुरतिरै भाँडा माझ्ने काम पाइन्। “हातका छाला जाने गरी काम गर्यो, तलब जम्मा आठ हजार दिने,” उनी भन्छिन्। ६ महीनापछि क्याफेमा काम गर्न थालिन्। त्यहाँ पनि शुरूमा तोकिए जति तलब नपाएपछि छाडिदिइन्। यसैगरी कोटेश्वर, जडीबुटी, गौशालातिर भौंतारिंदै साढे दुई वर्ष बिताइन्।
कामकै खोजीमा एकदिन एउटा गेस्टहाउस पुगिन्। त्यहाँ सरसफाइ गर्ने मान्छे चाहिएको रहेछ। खान-बस्नको सुविधा अनि मासिक १० हजार रुपैयाँ तलब। सरितालाई यो प्रस्ताव आकर्षक लाग्यो।
काम थालेको सातादिनजति भएको थियो, एकदिन गेस्टहाउस सञ्चालकले भन्यो, “यसरी त न तिम्रो कमाइ हुन्छ न मेरो, मैले भनेको मान्यौ भने धेरै पैसा कमाउन सकिन्छ।” सञ्चालकले देहव्यापारका लागि गरेको यो प्रस्ताव शुरूमा सरिताले बुझिनन्। जब बुझिन्, खंग्रंग भइन्। अनि त्यस्तो काम नगर्ने अड्डी कसिन्। तर सञ्चालकले धरै दिएन। भनेको नमाने गेस्टहाउसबाटै हिंड्न पर्ने भयो। कामका लागि भौंतारिंदा उनी आजित भइसकेकी थिइन्। राति कोठामा डाको छाडेर रोइन्।
भोलिपल्टदेखि गेस्टहाउसको अँध्यारो कोठामा उनको अर्को नियति शुरू भयो। यी नाबालिका अब दिनदिनै बलात्कृत हुन थालिन्। प्रतिकार गरे साहुको कुटाइ खानुपर्थ्यो। बिस्तारै उनी चुरोट, रक्सी, गाँजाको लती बनिन्। पीडा कम हुने भन्दै साहुले नै ती कुरा खान लगाउँथ्यो। दैनिक पाँचदेखि १० जनासम्म ग्राहक कोठामा पस्थे। महीनाबारीमा पनि आराम थिएन। न त साहूले पहिले आश्वासन देखाए जसरी पैसा दिन्थ्यो।

अति भएपछि एकदिन उनले घर जान्छु भनेर बिन्ती गरिन्। तर साहुले अपशब्द बोल्दै हप्कायो। झन् यातना दिन थाल्यो। यसरी बन्दी बनेरै करीब डेढ वर्ष बित्यो। उनले त्यहाँबाट फुत्कने कल्पना नै गर्न छाडिसकेकी थिइन्। तर एकदिन प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोली पुगेर उनको उद्धार गर्यो। आफू त्यो नरकबाट बाहिर निस्कन पाउने थाहा पाउँदा सरिताका आँखाबाट आँसुका ढिका खसे।
ब्यूूरोका अनुसार उद्धार गर्दाका वेला सरिताको शरीरभरि नीलडाम थियो। उनी मानसिक आघातमा थिइन्। अहिले एक गैरसरकारी संस्थाको आश्रयमा छिन्। त्यहाँ निरन्तर मानसिक परामर्श पाएपछि सरिता आत्मविश्वासी भएकी छन्। पढाइलाई निरन्तरता दिएकी छन्। गेस्टहाउस सञ्चालक विरुद्ध मुद्दा दायर गरेकी छन्। सञ्चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ।
सरितालाई आश्रय दिंदै आएको संस्थाकी परामर्शकर्ता विभिन्न बाध्यताले कामको खोजीमा निस्किएर बेचबिखनमा परेका बालिका थुप्रै रहेको बताउँछिन्। तर उनीहरू विभिन्न कारणले आफ्नो उमेर लुकाइरहेका हुन्छन्। कतिले साहुको डरले गर्दा त्यो काम आफ्नै रहरले गरेको बताउँछन्। “१३ वर्षकाले पनि शुरुमा २२ वर्षको भएको अनि आफ्नै इच्छाले आएको बताउँछन्। उनीहरूलाई विश्वास दिलाउन दुई-तीन दिन लाग्छ। त्यसपछि बल्ल रुँदै-चिच्याउँदै एक-एक कुरा भन्छन्,” उनी भन्छिन्, “कतिपयलाई सुधारगृह समेत पठाउनुपर्छ।” ती परामर्शकर्ताका अनुसार यसरी उद्धार गरिएकाहरूलाई परिवारसँग पुनःस्थापना गर्न निकै ग्राहो हुन्छ। त्यसैले बालिकाको उमेर र अवस्था हेरेर मात्र परिवारको जिम्मा लगाइन्छ।
कारण आर्थिक अवस्था
नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोका अनुसार आर्थिक वर्ष २०७६/०७७ यता देशभित्रै भएका बेचबिखनका घटनामा १६० बालिका पीडित छन्। आव २०७६/०७७ मा २२, २०७७/०७८ मा २७, २०७८/०७९ मा १७, २०७९/०८० मा ३२, २०८०/८१ मा ३८ र चालू आवको माघसम्म २४ बालिका बेचबिखनमा परेका छन्। यो अवधिमा १३३ मुद्दा दर्ता भएका छन्।
विभिन्न खाजा घर, स्पा र अन्य मनोरञ्जन क्षेत्रमा बालिकालाई ललाइफकाइ गरेर, धम्क्याएर र प्रलोभनमा पारेर यौनकार्यमा लगाइएको पाइएको ब्यूरोका डीएसपी सुधीर राई बताउँछन्। “ब्यूरोले उद्धार गरेकामा महिला र बालिका नै धेरै छन्,” उनी भन्छन्।
डीएसपी राईको बुझाइमा प्रायः आर्थिक अवस्था कमजोर भएका र बाबुआमाले छाडेकाहरू बेचिने जोखिममा देखिन्छन्। “परिवारको साथ नभएपछि उनीहरू बाँच्नका लागि उमेर सानै भए पनि कामको खोजीमा लाग्न बाध्य हुन्छन्। शुरूमा अन्य काम भने पनि पछि यौनकार्यमा लगाइने गरेको देखिन्छ,” उनी भन्छन्।
बेचबिखनमा परेका बालिका सम्बन्धी मुद्दाहरू हेर्दै आएकी अधिवक्ता शशी बस्नेत आर्थिक अवस्था कमजोर भएका कतिपयलाई सजिलै पैसा कमाइने प्रलोभनमा पारेर यौनकार्यमा लगाइएको पाइएको बताउँछिन्। “उनीहरूलाई जसरी हुन्छ पैसा कमाउने ध्याउन्न हुन्छ। पछि जोखिममा पर्न सकिन्छ भन्ने आकलन गरेकै हुँदैनन्,” उनी भन्छिन्।
बालिकालाई वेश्यावृत्तिमा लगाएको भन्दै ब्यूरोले गत फागुन ४ गते काठमाडौं, ठमेलस्थित नेचुरल स्पाकी सञ्चालिका रमिला गौतमलाई पक्राउ गर्यो। ती बालिकालाई शुरूमा पार्लरको काम गराउने भनी पछि मालिस गराउन आउने ग्राहकसँग जबर्जस्ती यौनसम्पर्क गराउन लगाइएको पाइएको ब्यूरोको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, गत कात्तिक २ गते नयाँ बसपार्कस्थित निमा गेस्टहाउसका सञ्चालक सुजन तामाङलाई प्रहरीले पक्राउ गर्यो। उनलाई बालिकालाई आर्थिक प्रलोभनमा पारी यौनकार्यमा लगाएको आरोप छ। तामाङले बालिकालाई महीनादिनसम्म बाहिर निस्कन नदिई बिरामी हुँदा समेत ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाएको, नमान्दा कुटपिट गरेको ब्यूरोले जनाएको छ।
विसं २०७९ को मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी राष्ट्रिय प्रतिवेदनले देशभित्र मानव बेचबिखनको जालो फैलिराखेको औंल्याउँदै मनोरञ्जन क्षेत्रमा जोखिम उच्च रहेको जनाएको छ। प्रतिवेदन अनुसार रात्रिकालीन डान्सबार, रेस्टुरेन्ट, क्याबिन रेस्टुरेन्ट, दोहोरी साँझ, डान्स क्लब, मसाज पार्लर र खाजाघरमा बालिकाहरूको बेचबिखन भइरहेको छ।
महिलाका निम्ति महिला मञ्च नेपाल (वुफोवन), शक्ति समूह र श्रमिक महिला साझा मञ्च मिलेर गत वर्ष गरेको अध्ययनले पनि मनोरञ्जन क्षेत्रका महिला श्रमिक यौनशोषणको जोखिममा रहेको औंल्याएको छ। काठमाडौं, पोखरा र इटहरीका क्याबिन रेस्टुरेन्ट, डान्स बार, खाजाघर, दोहोरी रेस्टुरेन्ट, मसाज सेन्टर, स्पामा काम गर्ने ५०७ जना श्रमिकलाई समेटेर गरिएको भनिएको उक्त अध्ययन अनुसार तीमध्ये ४६ प्रतिशतले हिंसा र यौन दुर्व्यवहार भोगेको बताएका छन्।
ब्यूरोका डीएसपी राईका अनुसार बाहिर खाजाघरको होर्डिङ बोर्ड राखेर भित्र वेश्यावृत्ति गराउने काम भइरहेको छ। “त्यसैले अहिले ब्यूरोले उद्धार गर्नेहरूमा अधिकांश खाजाघर र स्पामा काम गर्नेहरू नै हुन्छन्,” उनी भन्छन्।
समाजशास्त्री मीना पौडेल खाजाघर सहितका क्षेत्रमा राज्यको प्रत्यक्ष निगरानी नपुगेकाले पनि त्यहाँ अपराध भइरहेको बताउँछिन्। “कतिपय साना व्यापार दर्ता समेत नभएकाले तिनको नियमन हुन सकेको छैन। को कहाँ काम गर्छन्, पहिचान गरिएको छैन। वेटरको काम भनेर वेश्यावृत्तिमा लगाइएको छ, नियमन कसले गर्ने?” उनी प्रश्न गर्छिन्।
बालिकाहरू वेश्यावृत्तिको जोखिममा पर्नुमा आन्तरिक आप्रवासनलाई बेवास्ता गर्ने परिपाटीलाई पनि उनी कारण मान्छिन्। “हामी वैदेशिक रोजगारीका मात्र कुरा गर्छौं। तर विभिन्न जिल्लाबाट कामको खोजीमा काठमाडौं आउने कति छन्, ती कहाँ काम गर्छन् र तिनमा बालिका कति छन् भनेर सरकारले हेरेको पाइँदैन,” पौडेल भन्छिन्।
कानूनी व्यवस्था
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कसैलाई नेपालभित्रकै एक ठाउँबाट अर्को ठाउँमा वा विदेश लैजाने कार्यलाई मानव बेचबिखन मानेको छ। त्यसमा बालबालिकाको बेचबिखन गर्ने वा वेश्यावृत्तिमा लगाउनेलाई १० देखि १२ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। यस्ता घटनामा मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५, घरेलु हिंसा ऐन, २०६६, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार ऐन, २०७१, बालश्रम ऐन, २०५६, श्रम ऐन, २०७४, अपराध पीडित संरक्षण ऐन, २०७५ आदि पनि आकृष्ट हुन्छन्।
अधिवक्ता बस्नेत भने कानूनमा व्यवस्था भए पनि झन्झटिलो प्रक्रियाका कारण पीडितलाई न्याय पाउन मुश्किल परिरहेको बताउँछिन्। “ब्यूरोले पीडितको उद्धार त गर्छ, तर लामो र झन्झटिलो कानूनी प्रक्रियाका कारण आरोपित फरार भइसक्छ। ऊ पक्राउ नपरी मुद्दा अन्तिम हुँदैन,” उनी भन्छिन्।
अर्कातिर बेचबिखनमा परेका बालिकालाई परिवार र समाजमा पुनःस्थापित हुन उस्तै गाह्रो छ। “उद्धारपछि जिम्मा लिने संघसंस्थाले पनि केही समय राख्ने हुन्,” उनी भन्छिन्, “त्यसपछि राम्ररी पुनःस्थापना नहुँदा उनीहरू फेरि उही जोखिममा फस्ने डर हुन्छ।”
बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनमा कसूरदारलाई हुने जरिवानाको कम्तीमा ५० प्रतिशत बराबर रकम पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था छ। तर क्षतिपूर्तिको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकिरहेकाे अधिवक्ता बस्नेतको भनाइ छ।
समाजशास्त्री पौडेल भने बेचबिखन सम्बन्धीे कानून समयसान्दर्भिक नभएको भन्दै परिमार्जन गर्नुपर्नेमा जोड दिन्छिन्। “मानव बेचबिखनको स्वरूप फेरिएकाले कानूनले त्यसलाई समेट्न सक्नुपर्छ,” उनी भन्छिन्, “खाजाघर, होटल, रेस्टुराँ आदिमा हुने श्रमलाई पनि कानूनले व्याख्या गर्नुपर्छ।”
यी पनि पढ्नुहोस्