‘मीठो बाट गर’ देखि ‘उदिरहन मन भो’ सम्म
अपलोड गरिएको ६ वर्षभित्र यूट्यूबमा एक करोड पटक हेरिएको/सुनिएको स्वरसम्राट् नारायणगोपालको ‘केही मीठो बाट गर, राट टेसै ढल्किंदै छ’ मानक गीत बन्न सक्छ भने गायक कुमा सागरको ‘हावाको लहरसँगै उदिरहन मन लाग्छ’ माथि गरिएका आलोचना निरर्थक सुनिन्छन्।
युवापुस्तामाझ असाध्यै चर्चित गायक कुमा सागरको गायन उच्चारणलाई कमेडियन साजन श्रेष्ठ, सुजन जिम्बा, उत्सव सापकोटा र पडकास्टर सुशान्त प्रधानले ‘हँसीमजाक’ को विषय बनाएपछि यो मजाक कानूनी परिधिभित्र प्रविष्ट गरेको त तपाईंले सुनिसक्नुभयो होला। कुमा सागरको गाउने शैलीमाथि गरिएको खिसीटिउरीले ‘सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा गम्भीर चोट पुगेको’ भन्दै उनीहरू विरुद्ध प्रहरीमा उजुरी दर्ता गराइएको छ। उजुरीमा पडकास्टमा नेवारी संस्कृति र परम्परामाथि आँच आउने भाषा प्रयोग गरिएको आरोप लगाइएको छ।
पडकास्टमा गायक कुमा सागरले गाएका गीतहरूलाई मजाकमा उडाएपछि भाषिक रूपले अशुद्ध तर अत्यन्त रुचाइएका उनका अन्य गीतहरूमाथि पनि सामाजिक सञ्जालमा खिसीटिउरी शुरू भएको थियो। जस्तै- एक वर्षअघि आफ्नै यूट्यूब च्यानलमा कुमाले अपलोड गरेको एक करोड ३० लाख पटक हेरिएको ‘हावाको लहर’ गीतलाई पनि तारो बनाइएको थियो।
गीतको लवज यस्तो छ–
हावाको लहरसँगै उदिरहन मन भो नि टिम्रो त्यो बासना मनमै चल्यो रे...
टिमी आई यो धर्ती रंगायौ रे...
भाषिक रूपमा शुद्धता खोज्ने हो भने प्रेमिकाको बासनाको सुगन्धले गायकको ‘मन हावाको लहरसँगै उड्थ्यो’। तर यो गीतमा ‘रोमान्टिक’ कुमालाई ‘उड्न’ होइन, ‘उदिरहन’ मन लाग्छ। छैन त गजब?
उपत्यकामा नेवारी समुदायमाझ दैनन्दिन गरिने संवादको अभ्यास मातृभाषामा हुने हुनाले स्वभावतः तिनको लवज पनि त्यही बमोजिमको हुने नै भयो। ‘त’ लाई ‘ट’ र ‘स’ लाई ‘श’ बोलिनु स्वाभाविक भयो। जस्तै- यूट्यूबमा ९० लाखले आनन्द लिएको कुमाकै अर्काे चर्चित गीत ‘फुरफुरी’ को टुक्का हेरौं–
जाने भए जाऊ ए माया अब धेरै नसटाऊ
टिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि लौ
उनको प्रायशः सबै गीतमा यस्ता ‘भाषिक अशुद्धता’ बग्रेल्ती छन्, ६८ लाखले सुनेको/हेरेको ‘चमेली फूल’ को व्याकरण पनि अन्य गीतमा झैं छ–
टिमी नै ट हौ सारा संसार
टिमी नै ट हौ मेरो ग्रहण
तर कुमाका यिनै गीत अहिले सबैभन्दा बढी रुचाइएका छन्। कुमालाई भ्याईनभ्याई छ।
स्वरसम्राट्को ‘अशुद्धता’
कुमा सागरको उच्चारणमा भेटिने भाषिक अशुद्धताले विवादको उत्कर्ष छोएपछि फेरि पुरानै बहस दोहोरिन गएको छ, ‘गीत भाषिक शुद्धताका कारण कर्णप्रिय हुन्छ कि त्यसमा अन्तर्निहित मौलिकपना र गायकको स्वरले त्यसलाई विशेष बनाउँछ?’ कुनै वेला स्वरसम्राट् गायक नारायणगोपालका गीतमाथि पनि यस्ता बहस र खिसीटिउरी नभएका होइनन्, तर त्यस बखत पनि नेवारी पृष्ठभूमिका नारायणगोपालको भाषिक अशुद्धतालाई उनको क्षमता र मिठासले खर्लप्पै ढाकिदिएको थियो। नारायणगोपाल सम्भवतः नेपालीभाषीले सबैभन्दा बढी सुनेका, रुचाइएका र ‘स्वरसम्राट्’ उपाधिले समेत सम्मानित गायक हुन्।
नारायणगोपाल ।
म्युजिक नेपालले अपलोड गरेको ६ वर्षमै यूट्यूबमा एक करोड पटक हेरिएको/सुनिएको स्वरसम्राट् नारायण गोपालको ‘केही मीठो बाट गर, राट टेसै ढल्किंदै छ, भरे फेरि एकान्तमा रुनु ट छँदै छ’ निस्कँदा पनि भाषिक शुद्धताको बहस चलेको वरिष्ठ संगीतकार तथा गीतकार बुलु मुकारुङ सम्झन्छन्। ‘त’ को ठाउँमा ‘ट’ को उच्चारणले के यो गीत उनैले गाएका हुन् त भन्नेसम्मको प्रश्न उठाइएको मुकारुङ सम्झन्छन्।
“नेपाली गीतलाई अफ्रिकन, अमेरिकन र जापानिजहरूले पनि गाएका छन्, जसमा शब्दको सही उच्चारण छैन। तर उनीहरूले त्यही गीत गाउँदा रमाउने नेपाली अर्को मातृभाषी गायकले गाएको गीतको शब्द उच्चारणको आलोचना गर्दै बस्नु गलत छ,” मातृभाषाको लवजलाई खिसी गर्ने संस्कार गलत ठान्ने मुकारुङ भन्छन्, “विदेशीहरूले गाएको ‘रेस्सम फिरिरि’ गीतको टोन मिलेन भनेर जसरी हियाउन मिल्दैन, त्यसैगरी अर्को मातृभाषीले गाएको गायनलाई पनि खिसी गर्न मिल्दैन। बहुभाषी देशमा गाइने गीत पनि फरक सुनिनु नौलो होइन। त्यसमाथि शब्दको सही उच्चारणले मात्र राम्रो गायक बन्ने होइन।”
हुन पनि स्वरसम्राट्को मातृभाषी लवजले उनको गीतको सौन्दर्य कहिल्यै कम भएन। कान्छी फिल्मको कहिल्यै प्रौढ नहुने ‘हिमालसरि’ गीत सुन्नुहोस्, तपाईंले अहिलेसम्म हेक्का नराखेको भाषिक अशुद्धता त्यहाँ पनि भेट्नुहुनेछ। तर तीन वर्षमा ११ लाखले सुनेको यो गीतको मादकता कहिल्यै कम भएको सुनिंदैन। गीत चाहिं यस्तो छ-
जहाँ वरले पीपल अँगालेर बस्छ,
तिम्रो मेरो साइनो टेटैतिर खोज, टेटैतिर साेध
उदितनारायण झा
एकछिन नारायणगोपाललाई बिर्सौं। इन्डियामा गई नब्बेको दशकमा गायकीमा एकछत्र राज गरेका सप्तरीका गायक उदितनारायण झाका लोकप्रिय नेपाली गीत सुन्नुहोस्, त्यहाँ पनि तपाईंले भाषिक समस्या भेट्नुहुनेछ। नपत्याए साइनो फिल्मको ‘नयाँ नयाँ सजाऊ है संसार’ गीत सुन्नुहोस् त, त्यहाँ उदितनारायण सुखदुःख ‘बाँड्दैनन्’, ‘बाँट्छन्।’
नयाँ पुस्ताका प्रतिनिधि गायक कुमा सागर मात्र होइन, गायन क्षेत्रका दिग्गज नारायणगोपाल र उदितनारायणका अति मन पराइएका मैले माथि उल्लेख गरेका केही प्रतिनिधिमूलक ‘अशुद्ध गीत’ लाई सांगीतिक भण्डारबाट निकालिदिने हो भने के होला? संगीतका ज्ञाताहरू संगीत, स्वर र शब्दको घुलनबाट निस्किएको गीतले श्रोतालाई मन्त्रमुग्ध पार्दै अर्कै संसारको शयर गराउने बताउँछन्। क्षमतावान् संगीत मर्मज्ञले गराउने त्यस्तो शयरमा भाषिक शुद्धता त्यसै गौण भइदिन्छ भनिन्छ। पारम्परिक नेवारी बाजा धिमे, तबला र आधुनिक गितारको धुनमा ‘नेवारी टोन’ मा निस्कने कुमा सागरको मौलिक गीतले आफैंमा नवीनताको स्वाद दिन्छ। त्यही सुन्न उनका दर्शक ‘स्टेज शो’ मा ओइरिन्छन्। नेपालभाषाको लवजले गीतमा मिठास थपेको र त्यसले कुमाको ‘क्रेज’ बढाएको सामाजिक सञ्जालमा उनको गीतमा लेखिएका प्रतिक्रियाहरूबाट पनि बुझ्न सकिन्छ।
शब्द र संगीतको भाषा
एक जमानामा नेपाली सिनेमामा एकछत्र राज गरेका गीतकार तथा संगीतकार शम्भुजीत बास्कोटा बेग्लै संस्कृतिबाट आएका गायकहरूको शिल्प र शैलीले गायनमा मिठास थपेको र आफ्नोपन दिएको बताउँछन्। बास्कोटा भन्छन्, “यो त खुशी हुने विषय हो। यसमा आलोचना गर्ने वा विवाद सिर्जना गर्नुको कुनै तुक छैन।”
गायिका लोचन भट्टराईको बुझाइमा यदि गीतमा भाषिक शुद्धता खोज्दै बसेको भए नारायणगोपाल कहिल्यै स्वरसम्राट् बन्न सक्ने थिएनन्। उनी अर्थ्याउँछिन्, “गायकले स्वरको मिठासबाट श्रोताहरूको मन भर्छ। त्यसपछि उसले कति शब्द सही उच्चारण गर्यो र कति अशुद्ध गर्यो भन्ने हेरिंदैन।”
संगीतकार राजकुमार श्रेष्ठको बुझाइमा गीतसंगीतको भाषा पुस्तकमा लेखिएको शब्द जस्तै हुनुपर्छ भन्ने होइन। गीत गाउँदा पीडाको भाव दिनुपर्यो भने शब्दलाई निचोरेर दुःखको अनुभूति दिने स्वर निकालेर पनि गाइन्छ। शब्द, लय र संगीत मार्फत अनेक भावना निकाल्ने क्रममा कहिले शब्द तोडमरोड हुन्छ, कहिले जानेरै मातृभाषाको ‘फ्लेभर’ दिइन्छ। त्यसरी बनेको गीतलाई कोरा ह्स्व, दीर्घ र उच्चारणको सीमा बनाएर मापन गर्न मिल्दैन।
वरिष्ठ संगीतकार तथा गीतकार दीपक जंगमको भनाइमा कहिलेकाहीं गीतको शैलीका कारण शब्द गौण भइदिन्छ भने कहिले चाहिं संगीतले पनि शब्दलाई गौण बनाइदिन्छ। यदि त्यस्ता गीत सबैले मन पराएका छन् भने शुद्धताको बहस निरर्थक हो। जंगम भन्छन्, “यदि भाषिक शुद्धता हेर्ने हो भने हजारौं गीत गाएका उदितनारायण झाको नेपाली शुद्ध उच्चारण छैन। तर उनको गायकी नरुचाउने नेपाली शायदै होलान्। मातृभाषाले नयाँपन दिन्छ भने त्यो खिसीको विषय त झन् हुँदै होइन।”
गायिका ज्ञानु राणाको मत भने थोरै फरक छ। उनी मातृभाषाको लवज आउँदा गीतमा मिठास भरिए पनि गीत गाउँदा शुद्ध उच्चारणको महत्त्वलाई भुल्न नहुने बताउँछिन्। उनको भनाइमा शब्द, संगीत र शुद्ध उच्चारण भएको स्वरबाट गीतको त्रिवेणी बन्नुपर्छ। “शब्दलाई चपाएर, केलाएर, खेलाएर, सही उच्चारण गरेर गीत गाउँदा गायकको साधना झल्किन्छ,” उनी भन्छिन्, “त्यसैले भरसक हामीले शुद्ध उच्चारणमा जोड दिनुपर्छ। तर जानेरै फरक फरक मातृभाषीहरूले आफ्नोपन ल्याउन खोज्छन् भने त्यो पनि स्वागतयोग्य नै छ।”