हेटौंडामा टोनी हागनको शालिक अनावरण
स्वीश भूगर्भशास्त्री टोनी हागनको अर्धकदको शालिक हेटौंडा उपमहानगरपालिकामा मंगलबार अनावरण गरिएको छ।
हेटौंडाको नेत्रज्योति टोलस्थित टोनी हागन स्मृति उद्यानमा हागनको शालिक अनावरण गरिएको हो। हागनलाई हेटौंडा शहरको परिकल्पनाकार मानिन्छ। ७५ वर्षअघि हेटौंडाको बाटो हुँदै काठमाडौं आएका हागनले हेटौंडा एउटा सुन्दर शहर बन्ने परिकल्पना गरेका थिए।
मंगलबार एक कार्यक्रमबीच हेटौंडाकी मेयर मीना लामा, पूर्व मेयर हरिबहादुर महत र हागनकी छोरी डा. क्याट्रिन हागनले शालिक अनावरण गरेका हुन्। २०२० सालमा स्थापना गरिएको उद्यान एक बिघा चार कट्ठा क्षेत्रफलमा फैलिएको छ।
क्याट्रिनले शालिक स्थापना गरिएकामा हेटौंडा उपमहानगरप्रति आभार प्रकट गरिन्। राजाको निम्तोमा नेपाल आएका हागनको सल्लाह अनुसार सडक बनेको भए हेटौंडा अहिलेभन्दा झन् विकसित भइसक्ने क्याट्रिनको भनाइ थियो।
कार्यक्रममा टोनी हागन फाउन्डेशन नेपालका अध्यक्ष प्रा.डा. प्रमोदकुमार झाले हेटौंडाकी मेयर लामा र टोनी हागन स्मृति उद्यान विकास मञ्चका अध्यक्ष इन्द्र नेपाललाई हागनले लेखेका पुस्तक प्रदान गरे। कार्यक्रममा हागनले नेपालको विकासका लागि गरेको योगदान, हेटौंडामा मानवबस्ती र शहरीकरणको विकास, टोनी हागन स्मृति उद्यानमा प्रदान गरिने सुविधाबारे चर्चा गरिएको थियो।