सयौं ठक्करले नखोसिएको मुस्कान
बाढीमा घर बग्यो, दमले श्रीमान्को ज्यान गयो, उपचार गर्न नसक्दा जेठा छोरा बिते, कान्छा छोरा भारतमा हराएका छन्, मागेर नातिनातिनीलाई पाल्नुपरिरहेको छ, तैपनि केशरी बादीले आश मारेकी छैनन्।
ढिक खोला कलकल बगिरहन्थ्यो। छेउमै ठिक्कको घर थियो। नयाँ दम्पतीको भर्खर छोरा जन्मिएका थिए। “आनन्द थियो, बूढाबूढी खुशी भएर बसेका थियौं,” केशरी बादी साढे तीन दशकअघिको अवस्था सम्झिन्छिन्।
बझाङको खप्तडछान्ना गाउँपालिकास्थित लामातोला गाउँकी केशरीको दिनचर्या एकाएक बदलियो। बस्तीछेउकै खोलामा आएको बाढीले घर बगायो। घर वरपरको जग्गाजमीन पनि बगर बन्यो। “घर बगेपछि बस्ने ठाउँ नै भएन। छोरालाई लिएर बूढाबूढी भौंतारिंदै चैनपुर आइपुग्यौं,” उनी विगत सुनाउँछिन्।
केशरी र पति हर्के बादीले छोरा पदमलाई बोकेर गाउँ छोडे। लामातोलाबाट बझाङ सदरमुकाम चैनपुर पुगे। गाउँभन्दा बजारमा सजिलो होला भनेर आएको उनी बताउँछिन्।
बझाङ सदरमुकामस्थित जयपृथ्वी नगरपालिका-१०, बादीटोलमा बस्न थाले पनि उनको दैनिक व्यवहार चलाउन अनेक हन्डर खेपिन्। चैनपुर बजारसँगै जोडिएको बादीटोलमा ५५ वर्षीया केशरीले कैयौं रात भोकै बिताएकी छन्। “मागेर खानुपर्थ्यो, नयाँ मान्छे भएकाले कसैले केही दिंदैनथे, काम पाइँदैनथ्यो,” उनी भन्छिन्।
जयपृथ्वी नगरपालिका-१० को बादीटोल।
केशरी र हर्केले परिवार सम्हाल्दै गए। दुःखसुख बाँडचुँड गरे। कहिले मजदूरी त कहिले माटोका भाँडा बेचेर दैनिकी चल्थ्यो। गाह्रोसाह्रोमा बाँच्ने बानी परिसकेको थियो। केही समयपछि कान्छा छोरा जन्मिए।
यो दम्पतीका लागि दुई छोरा नै संसार भए। दिनभर ज्यालामजदूरी गर्यो, त्यसैले बिहान-बेलुकाको छाक टार्यो।
दुखजिलो गरेर गुजारा चल्दै थियो। घरमूली हर्के भने बिरामी पर्न थाले। बिस्तारै बिस्तारै रोगले च्याप्दै गयो। अस्पताल लगेर उपचार गराउन सक्ने अवस्था थिएन। “दम थियो, सास फेर्न गाह्रो हुन्थ्यो,” उनी भन्छिन्, “दमकै कारण बित्नुभयो।”
२०५९ सालमा श्रीमान्ले संसार छोडेपछि दुवै छोराको पालनपोषणको जिम्मेवारी केशरीको थाप्लोमा आयो। छरछिमेक र वल्लोपल्लो गाउँ डुल्दै जेनतेन खानेकुरा जुटाएको उनी सुनाउँछिन्। माटाको भाँडा बनाउने र गाउँघरमा नाचगान गर्ने पुर्ख्यौली पेशालाई उनले पनि निरन्तरता दिइन्।
छोरा हुर्किंदै जाँदा उनलाई लागेको थियो, अब त सुबिस्ता हुन्छ। स्कूल जान नपाएका दुवै छोरा काम गर्ने भइसकेका थिए। ऋणपान गरेर दुवैले बिहे पनि गरे।
जीवन ठीकठाक चल्दै थियो। तर एकाएक जेठा छोरा पदम बिरामी परेको उनी सुनाउँछिन्। “जन्डिसले छोराको मृत्यु भयो। अस्पताल लग्न पनि पाइनँ,” केशरी भन्छिन्, “गाउँघरमा उपचार त गरें। अस्पताल लगेर उपचार गराउन भने पैसा भएन।”
जेठा छोरा पदम ३३ वर्षको उमेरमा सात वर्षअघि बितेका थिए। तन्नेरी छोरा गुमाउँदा केशरीलाई सम्हालिन साह्रै गाह्रो पर्यो। तैपनि कान्छो छोरा र नातिनातिनीको मुहार हेरेर पीडा भुलेको उनी सुनाउँछिन्।
छरछिमेकीसँगै केशरी बादी।
पदमको मृत्युपछि कान्छा छोरा धर्मेले भरथेग गरिरहेका थिए। उनी चार वर्षअघि कामका लागि भारत गए। ब्याङ्लोरमा काम गरिरहेका धर्मेले खर्च पठाउन थालेपछि केशरीलाई सजिलो भएको थियो। “कान्छो छोरा कमाउन थालिसक्यो, अब आराम हुन्छ भन्ने सोचेकी थिएँ,” उनी भन्छिन्, “के भयो कुन्नि! दुई वर्षदेखि केही खबर छैन, हरायो।”
ब्याङ्लोर पुगेका गाउँका मानिससँग कान्छो छोरा धर्मेको खोजखबर गरिदिन आग्रह गरेकी थिइन्। चिनजानका मान्छेले खोजखबर पनि गरेका थिए। तर केही पत्तो नलागेको उनी बताउँछिन्।
हाल जेठी बुहारी अलग्गै बस्छिन्। कान्छी बुहारी सुस्त मनस्थितिकी छन्। उनी घर बाहिरको कामकाज गर्न सक्दिनन्। त्यसैले कान्छी बुहारी र चार नातिनातिनी केशरीकै भरमा छन्। “जग्गाजमीन केही छैन। मागेरै गुजारा चलाइरहेकी छु,” उनी भन्छिन्, “नातिनातिनीलाई स्कूल पठाउन पनि सकिनँ।”
अचेल त उनका हरेक दिन सकसपूर्ण बित्छन्। खानेकुरा माग्न नसकेको दिन भोकै बस्नुपर्छ। बिहान र साँझ गाउँघरमा खानेकुरा माग्न निस्किन्छिन्। “जसले जे दियो, ल्याउँछु। त्यसैले छाक टर्छ,” उनी भन्छिन्।
बिसन्चो भएर माग्न जान नसकेको वेला वा कसैले केही नदिएको वेला भोकै बस्नुपर्ने अवस्था रहेको उनी दुखेसो गर्छिन्। फागुन दोस्रो साताको एक अपराह्न उनको घरमा पुग्दा साँझलाई खानेकुरा केही नभएको पीडा पोखिन्। “बुहारीले केही थाहा पाउँदिन, सबै आफैं जोहो गर्नुपर्छ,” उनी भन्छिन्, “आज कसैले पनि केही दिएनन्। साँझ नातिनातिनीलाई के खुवाउने चिन्ता छ।”
छरछिमेकी पनि सरसापट दिन सक्ने अवस्थाका छैनन्। यो टोलमा बादी समुदायका १५ परिवार बस्छन्। सरकारले १२ वटा घर बनाइदिएको छ। सबै मिलेर बसेका छन्। बस्ने घर भए पनि खेतबारी भने छैन। सबैले मजदूरी गरेरै गुजारा चलाउँछन्।
छिमेकी ४१ वर्षीया राधा बादी पनि मागेर नै परिवार पालिरहेको बताउँछिन्। पहिले मागेर गुजारा चल्ने भए पनि अहिले गाह्रो भएको उनको भनाइ छ। “माटाका भाँडा बनाउँथ्यौं। गाउँ गाउँ लगेर बेच्थ्यौं। त्यससँगै नाच्थ्यौं, गाउँथ्यौं,” उनी भन्छिन्, “अहिले माटाको भाँडा पनि बिक्री हुँदैन। टीभी, मोबाइल छन्, हामीले नाचेको, गाएको पनि कसैले सुन्दैन।”
बजारको अभावले दुई-चार जनाले मात्रै परम्परागत पेशा अँगालिरहेका छन्। मादल तथा वाद्यवादनका सामग्री, जाल, सुल्पा, चिलिम बनाउँछन्। त्यो पनि बिक्री नहुने गरेको उनी दुखेसो गर्छिन्। गाउँमा रोजगारी नभएपछि कतिपय भारततिर गएका छन्। उतैबाट पठाउने पैसाले घर खर्च चल्ने गरेको छ।
सरकारले घर बनाइदिए पनि जीविकोपार्जनका लागि कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ। राज्यबाट प्रदान हुने आधारभूत सेवासुविधामा पनि उनीहरूको पहुँच छैन। बालबालिका शिक्षाबाट समेत वञ्चित छन्। नातिनातिनीलाई पढाउन नसकेकामा केशरीलाई पनि ग्लानि हुन्छ। “हाम्रो जीवन त यसैउसै बितिसक्यो। बालबच्चाले पनि हाम्रो जस्तै दुःख पाउने भए,” उनी भन्छिन्, “पढाउन सकेकी भए केही कामकाज त पाउँथे।”

अहिले उनलाई आफ्नो चिन्ता छैन। आफ्नो जीवन त बितिहाल्छ जस्तो लाग्छ। सुस्त मनस्थितिकी बुहारी र चार नातिनातिनीको चिन्ताले पिरोल्छ। उनीहरूले के गरेर खालान् भन्ने चिन्ता हुने गरेको उनी सुनाउँछिन्।
सरकारले घर त दिएको छ, खानेकुराको जोहो गर्न सकिने व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लाग्छ। केही सीप सिकाइदिए कमाउन सक्थे कि भन्ने उनको इच्छा छ। बुहारी र नातिनातिनीलाई केही वर्ष पाल्न सके सजिलो हुने उनको आशा छ। कहिलेकाहीं बिसन्चो हुँदा पनि उनीहरूकै चिन्ता हुन्छ। सकी नसकी गाउँघरतिर खानेकुरा माग्न गइहाल्छिन्।
उनले गाह्रोसाह्रो झेल्न थालेको साढे दशक भइसकेको छ। लामातोलाको घर बाढीले बगाएदेखि दुःख सहने बानी नै परिसकेको उनी सुनाउँछिन्। “जस्तोसुकै भए पनि मर्न त सकिंदैन, मर्नु पनि भएन,” उनी भन्छिन्, “केही वर्ष नातिनातिनीलाई हुर्काउन सके त कमाउने भइहाल्थे।”
यति बोल्दा भने उनको अनुहारमा आशा पलाएको देखियो। भुइँमा लत्रिएको सल ओड्दै मुसुक्क मुस्कुराइन्।