पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा जलेश्वरमा
फागु पूर्णिमाको दिन जनकपुरधाम गृह परिक्रमापछि सम्पन्न हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाका पदयात्री सोमबार जलेश्वर पुगेका छन्।
महोत्तरीको मटिहानीमा आइतबार रात्रि विश्राम गरेका पदयात्री रामजानकीको डोला सहित जलेश्वर आइपुगेका हुन्। मिथिला परिक्रममा रामजानकीको ससाना डोला सहित पदयात्रा गरे पनि मुख्य रूपमा मिथिलाबिहारी र किशोरीजीको डोला सबैभन्दा ठूलो र मुख्य मानिन्छ।
जलेश्वरस्थित भृगु सरोवरको किनारबाट मिथिलाबिहारीको डोलालाई परशुराम साह मिथिला परिक्रमा संस्थाले बाजागाजा सहित स्वागत गरी विश्रामस्थल परिक्रमासँगै गाछीसम्म पुर्याउने परम्परा रहेको स्थानीय बासिन्दा श्यामनन्दनप्रसाद साहले बताए। पछिल्लो समय जलेश्वर नगरपालिका लगायतको सहभागितामा स्वागत यात्रा हुने गरेको छ।

जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले परिक्रमा यात्रीको स्वागत तथा व्यवस्थापनमा नगर प्रहरीसँगै स्वास्थ्य सेवा लगायत सम्पूर्ण कर्मचारीलाई परिचालन गरिएको बताए। परिक्रमा मेलाकै कारण हरेक वर्ष जस्तै आज जलेश्वर नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ।
मिथिला माध्यमिकी परिक्रमाका पदयात्रीले एक छाक शुद्ध भोजन, भुइँमा विश्राम र विना साबुन, तेलको स्नान गरी १५ दिनको अवधिमा १३३ किलोमिटर यात्रा गर्नुपर्ने नियम छ। परिक्रमा यात्रीको १५ दिने विश्रामस्थलमध्ये धनुषामा ६ र महोत्तरीमा पाँच वटा छन् भने भारतीय क्षेत्रमा चार वटा विश्रामस्थल पर्छन्।

जलेश्वरमा पुगेका पदयात्रीलाई चोक चोकमा स्वागतसँगै निःशुल्क खानेपानी, खाजा तथा भोजन वितरण गरिएको छ। अर्कातर्फ, परशुराम साह मिथिला परिक्रमा संस्थाले समूहमा रहेका साधुसन्त तथा गृहस्थ आश्रमका पदयात्रीलाई खाद्यान्न, दाउरा तथा बिदाइ दिने गरेको सदस्य गोपालप्रसाद साहले बताए।