काभ्रेमा विश्व युवा महोत्सव हुँदै
काभ्रेको धुलिखेलमा चैत दोस्रो साता विश्व युवा महोत्सव हुने भएको छ।
जिल्ला समन्वय समिति, काभ्रेको आयोजनामा चैत १४ देखि १८ गतेसम्म विश्व युवा महोत्सव हुन लागेको हो। महोत्सवमा ७५ देशका १० हजारभन्दा बढी युवा सहभागी हुने जिल्ला समन्वय समितिका प्रमुख एवं महोत्सवका संयोजक दीपककुमार गौतमले बताए।
संयोजक गौतमका अनुसार भिजन-२०२५, दिगो विकास लक्ष्य र १६औं पञ्चवर्षीय योजनालाई लक्षित गरेर महोत्सव आयोजना गर्न लागिएको हो। यसमा २५ वटा शीर्षकमा छलफल तथा बहस हुनेछन्।
मानव अधिकार, वातावरण, सामाजिक न्याय, पर्यटन, स्वास्थ्य, शिक्षा, नेतृत्व, रैथाने खाना, संस्कृतिबारे छलफल हुने उनले बताए। महोत्सवले नेपाललाई विश्वभर चिनाउन सहयोग पुग्ने उनको भनाइ छ।
महोत्सवमा अनलाइन भिडिओ प्रतियोगिता पनि हुने भएको छ। ‘रैथाने ज्ञान, अबको समाधान’ शीर्षकमा हुने प्रतियोगितामा तीनदेखि पाँच मिनेटसम्मको भिडिओ पठाउन सकिनेछ। नेपाली र अंग्रेजी दुवै भाषामा भिडिओ पठाउनुपर्नेछ।
प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार, द्वितीयलाई ३५ हजार र तृतीयलाई २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ। चैत १० गतेसम्म भिडिओ पठाइसक्नुपर्नेछ।