बाघ बस्तीमा पसेपछि गाउँले त्रस्त
बिहानीपख बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिन नसकिएपछि सप्तरीको सप्तकोशी नगरपालिका-१, फत्तेपुरका बासिन्दा त्रस्त बनेका छन्।
आज बिहान करीब ६ बजेतिर बाघ बस्तीमा पसेको स्थानीय बासिन्दाले बताए। बाघको आक्रमणबाट तीन जना घाइते छन्। बाघको आक्रमणबाट फत्तेपुरका रिझन गोसाईं, गणेश खत्री र कृष्ण विष्ट घाइते भएको फत्तेपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) पन्नालाल चौधरीले बताए।
बस्तीमा पसेको बाघले गोसाईंलाई आक्रमण गरेको थियो। उनको आँखामा चोट लागेको छ। त्यसपछि नजीकै रहेका खत्रीलाई झम्टिएको थियो। उनको घाँटी र हातमा चोट लागेको छ।
बस्तीमा हल्लाखल्ला मच्चिएपछि घर बाहिर निस्किँदै गरेका विष्टलाई बाघले आक्रमण गरेको थियो। उनको छातीमा चोट लागेको छ। गोसाईं र खत्री स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर घर फर्किएका छन् भने विष्टलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सई चौधरीले जानकारी दिए।
बिहानै बस्ती पसेको बाघ मध्याह्नसम्म पनि नियन्त्रणमा आएको छैन। एक घरदेखि अर्को घरमा गइरहेको उनले बताए। “अहिले निकै त्रासपूर्ण अवस्था छ, स्थानीय बासिन्दाको सुरक्षा गरिरहेका छौं,” सई चौधरीले हिमालखबरसँग भने, “बाहिरबाट विज्ञ टोली आउँदै छ। त्यसपछि बाघलाई नियन्त्रणमा लिन सकिन्छ कि!”
बस्तीमा पसेको बाघ।
बाघ नियन्त्रणका लागि कोशी संरक्षण केन्द्र र कोशीटप्पु वन्यजन्तु आरक्षको प्राविधिक टोली खटिएको छ। दुवै टोलीले बाघलाई नियन्त्रणमा लिन सकेको छैन। उनीहरूले नियन्त्रणमा लिन नसकेपछि चितवनस्थित जैविक विविधता संरक्षण केन्द्रको प्राविधिक टोली बोलाइएको छ।
स्थानीय सञ्चारकर्मी खगेन्द्र कार्कीका अनुसार अहिले बाघ फत्तेपुरको बसपार्क नजीकैको बस्तीमा छ। स्थानीय बासिन्दा घर छोडेर बाहिर आएका छन्।
स्थानीय बासिन्दा भीड लागेकाले पनि बाघ बाहिर निस्किन सकेको छैन। एउटा गोठबाट अर्को गोठमा चहारिरहेको उनले बताए।