‘यो मेरो नयाँ रूप हो’
जलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका मेयर धनराज आचार्यले पोखरामा जलन उपचार अस्पताल बनाउने बताएका छन्।
यसअघि पनि जलन विरुद्धका कार्यक्रमका सहभागी हुँदै आएको उल्लेख गर्दै आफैंले भोग्नुपरेपछि झन् संवेदनशील भएको आचार्यको भनाइ थियो। “आज घटना घट्यो, नजानेका कारणले भोलि आधा शरीरमा पुगेको छ, पछि धेरै भयो। बोल्दाबोल्दैको मान्छे सकिएको छ, खाँदाखाँदैको मान्छे सकिएको छ। यस्तोमा काम पनि गरेको थिएँ,” उनले भने, “त्यति वेला यति पीडा होला भन्ने लागेको थिएन, आफैंलाई लाग्दा पीडा झन् महसूस भयो।”
उनले आफूले नयाँ रूप पाएको सुनाए। “शुरूमा त ठूलो घाउ नै थिएन, भोलिपल्ट पर्सिपल्ट बढ्दै जाँदो रहेछ,” मेयर आचार्यले भने, “अहिले तपाईंहरूले देखेको मेरो अनुहारको छाला कुनै पनि पुरानो होइन। यो अहिले पछाडि आएको छाला हो, मेरो नयाँ रूप हो।”
पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएका बेलुन पड्किंदा निस्केको ज्वालाले मेयर आचार्यसँगै अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए। दुवै जनाको कीर्तिपुर अस्पतालमा उपचार भएको थियो। त्यो घटना सम्झिँदै मेयर आचार्यले भने, “यो त कल्पनै गर्न नसकिने चिज रहेछ। भोगाइपछि मात्रै थाहा हुने रहेछ।”
पोखरामा राम्रा अस्पताल भएकाले त्यति वेला आफूले उपचारका लागि काठमाडौं जान नखोजेको सुनाए। काठमाडौं जान सुझाउने चिकित्सक र स्वास्थ्यकर्मीप्रति विश्वास नगरेको जस्तो लाग्ने ठानेर आफूले सकभर पोखरामै उपचार गराउन खोजेको उनले बताए। “काठमाडौं जान पटक्कै मन थिएन। तर उपचारका क्रममा चिकित्सकले पनि कीर्तिपुर अस्पतालका चिकित्सक डा. किरण नकर्मीलाई नै सोध्न थाले। अब के गर्ने, कसो गर्ने भन्न थाले। त्यसपछि मलाई पनि डर लाग्यो र बाँच्नुपर्छ भनेर काठमाडौं गएँ।”
अब भने पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने उनको भनाइ थियो। एनसेल फाउन्डेशन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल भएको शहर भएकाले जलन अस्पताल बनाउनै पर्ने बताए।
“पोखरामा अब एक वर्षभित्र सुविधासम्पन्न जलनको युनिट बन्छ भनेर पीडककै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,” उनले भने, “क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ। अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि पर्ने भएकाले बाध्यात्मक हिसाबले सुविधासम्पन्न युनिट अथवा अस्पताल बनाउनुपर्छ भन्ने प्रतिबद्धता मेरो छ।”
पोखरामा जलनको उपचार हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्रोतसाधनयुक्त बनाउनुपर्नेमा मेयर आचार्यले जोड दिए। कीर्तिपुर अस्पतालले दिए जस्तै सेवा प्रदेश सदरमुकाममा ल्याउने सरकारको योजना सफल बनाउन सरोकारवाला सबैको साथ अपरिहार्य रहेको उनको भनाइ थियो।
त्यस्तै, जलन सम्बन्धी सचेतना र प्राथमिक उपचारबारे विद्यालयदेखि नै सिकाउन आवश्यक रहेको मेयर आचार्यले बताए। जलनको विषय विद्यालय तहको पाठ्यपुस्तकमा समेट्न पाठ्यक्रम विकास केन्द्रसँग पहल गर्ने उनले प्रतिबद्धता जनाए।
संवादमा बोल्दै कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन विभाग निर्देशक डा. किरण नकर्मीले नेपालमा जलनका ७० प्रतिशत घटना घरभित्रै हुने गरेको सुनाए। देशभर ९० वटा केन्द्र भएमा घटना भएको दुई घण्टाभित्रै जलनको प्राथमिक उपचार गर्न सकिने उनको भनाइ थियो। “जल्ने बित्तिकै हेल्थ पोस्ट, जिल्ला अस्पतालमा उपचार गर्न सकिन्छ। देशभर ९० वटा केन्द्र भएमा दुई घण्टामा प्राथमिक उपचार पाउन सकिन्छ,” डा. नकर्मीले भने, “त्यसपछि २० प्रतिशत जलेका घटना प्रादेशिक अस्पतालमा गर्न सकिन्छ र त्योभन्दा बढी भए केन्द्रमा लैजान सकिन्छ।”
कीर्तिपुर अस्पतालमा जलन उपचारका लागि हाल ३५ शय्या छन्। दुई वर्षभित्र ७० शय्याको नेपाल जलन उपचार केन्द्र बनाउने योजना रहेको उनले सुनाए।
घटना घटिसकेपछि आत्तिन नहुने भन्दै डा. नकर्मीले प्राथमिक उपचारका केही उपाय सुझाए। “आगो लागेपछि आत्तिएर भाग्न हुँदैन। भुइँमा लड्नुपर्छ। लडीबुडी गर्नुपर्छ। जीउमा भएको लुगा र गहना खोल्नुपर्छ,” उनले भने, “तातोपना गुम्सिएर घाउ गहिरो हुन्छ। पोलेको ठाउँमा पानी खन्याउनुपर्छ। त्यसले घाउ गहिरो हुन दिंदैन।”
जलन विरुद्धका अभियन्ता उज्ज्वलविक्रम थापाले दुर्घटना जुनसुकै समय हुन सक्ने भन्दै पहिल्यै सचेत हुन आग्रह गरे। “मनुष्य जलेपछि कति पीडादायी हुन्छ भन्ने कुरामा हरेक व्यक्तिको समान अनुभव हुन्छ। एउटै गल्तीले जल्ने गर्छन्। मलाई हुँदैन भन्ने भ्रममा नबाँच्नुहोला,” थापाले भने।
आगोसँग नजीक रहेर काम गर्ने श्रमिकको बीमा गरिदिन उनले व्यवसायीलाई आग्रह गरे। पेट्रोल पम्पमा मोबाइल नचलाउन, जन्मदिनमा प्रज्वलनशील वस्तु प्रयोग नगर्न, भान्सामा हुँदा सामाजिक सञ्जालमा व्यस्त नहुन, कोठामा हिटर बालेर नछोड्ने अभियन्ता थापाले सुझाव दिए।