भारतीय ‘शार्प शूटर’ पक्राउ, खुल्ला त नेपालीको शृंखलाबद्ध हत्याको रहस्य?
साढे दुई वर्षअघि गोठाटारका व्यापारीको हत्यामा संलग्न रहेका भारतीय ‘शार्प शूटर’ पक्राउ परेसँगै यसअघि नेपालीको शृंखलाबद्ध हत्या घटनाको रहस्य खुल्ने अपेक्षा गरिएको छ।
काठमाडौंको गोठाटारका व्यापारी लाल मोहम्मद हत्या घटनाका ‘शार्प शूटर’ गुड्डु पटेललाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ। पटेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएका हो। उनको दाहिने खुट्टामा गोली लागेको छ।
२०७९ असोज ३ गते साँझ भक्तपुरको गोठाटारमा व्यापारी लाल मोहम्मदलाई गोली हानी हत्या गरिएको थियो। हत्याको साढे दुई वर्षपछि शार्प शूटरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अन्दाजी ४५ वर्षका पटेलको घर भारतको रक्सौल रहेको उनी विरुद्ध जिल्ला अदालत, काठमाडौंमा दायर भएको अभियोगमा उल्लेख छ। उनी यस घटनाका फरार अभियुक्त हुन्। उनलाई टोखाबाट झोर जाने बाटोबाट नियन्त्रणमा लिएको कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए।
विगतमा नक्कली भारतीय मुद्राको कारोबारमा संलग्न मोहम्मदको हत्या भारतीय गुप्तचर संस्थाको सहयोगमा भएको सुरक्षा विश्लेषकहरू बताउँछन्। यद्यपि नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो कुरा भेटिंदैन। नक्कली भारतीय मुद्राको कारोबारमा संलग्नलाई भारतद्वारा पेशेवर अपराधी प्रयोग गरेर हत्या गराइँदै आएको लामो शृंखला छ।
आपराधिक प्रवृत्तिका व्यक्तिलाई प्रयोग गरेर गरिएका हत्या जस्ता अन्तर्देशीय अपराधमा संलग्न नेपाली मारिएका घटनामा शूटर र योजनाकार विरलै पक्राउ पर्ने गरेका छन्। पटेल पक्राउ त्यही विरलै सफल हुने सूचीमा दरिएको छ।
यही घटनाका योजनाकार मानिएका बब्लु पासवानलाई पर्सा प्रहरीले गत वैशाखमा पक्राउ गरेको थियो। उनलाई लागूऔषध र पेस्तोल सहित पक्राउ गरिएको हो।
लाल मोहम्मद हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले त्यति वेलै तीन जनालाई पक्राउ गरेको थियो। १९ वर्षीय महोरम मियाँ, मियाँ थरकै अर्का एक नाबालक र २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तान पक्राउ परेका थिए। उनीहरू पर्सास्थित सीमावर्ती क्षेत्रबाट हतियार काठमाडौं ल्याउने र लाल मोहम्मदको गतिविधि निगरानी गर्ने सहयोगी मात्र थिए। उनीहरू तीनै जनालाई जिल्ला अदालतले दोषी ठहर गरिसकेको छ।
वीरगन्जमा पक्राउ परेका पासवानलाई प्रहरीले मुख्य योजनाकार भने पनि यस घटनामा संलग्न चार जना अझै फरार छन्। पासवानले मियाँद्वयलाई काठमाडौंसम्म हतियार लैजाने जिम्मेवारी दिएको अभियोगपत्रमा उल्लेख छ।
मेरिना तेवारी, राजु भन्ने दिनेश, नितिन खान भन्ने नितिन मदान र मोहम्मद नेजामद्दीन फरार छन्। यीमध्ये दिनेश पनि ‘शार्प शूटर’ रहेको प्रहरीको भनाइ छ।
पटेललाई प्रहरीले टोखामा गोली हानेर पक्राउ गरेको भने पनि उच्च प्रहरी स्रोतका अनुसार नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेर ल्याइएको थियो। पटेल भारतीय सीमाक्षेत्रमा चोरी, लूटपाट, फिरौती असुलीमा कुख्यात थिए। राज्य संरक्षित अपराधमा यस्तै आपराधिक पृष्ठभूमि भएकालाई प्रयोग गरिन्छ। भारतमा समेत उपद्रव मच्चाएकाले भारतीय प्रहरीकै सहयोगमा पटेललाई नेपाल ल्याइएको स्रोतको भनाइ छ।
जाली भारतीय मुद्राको कारोबारमा संलग्न भएको आरोपमा भारतले नेपालीको शृंखलाबद्ध रूपमा हत्या गर्दै आएको इतिहास छ। त्यसमा लाल मोहम्मद सबैभन्दा पछिल्लो पटक हत्या गरिएका व्यक्ति हुन्।
नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको आरोपमा २०५५ सालमा पहिलो पटक नेपाली नागरिकको हत्या भएको थियो। नक्कली भारतीय रुपैयाँ कारोबारको आरोप लागेका सांसद एवं पूर्व मन्त्री मिर्जा दिलसाद वेगको काठमाडौंको सिफलमा भारतीय भूमिगत गिरोह छोटे राजन समूहलाई प्रयोग गरेर हत्या गरिएको थियो।
२०६६ सालमा भने जाली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोप लागेका तीन जना नेपालीलाई चार महीनाको अवधिमा मारिएको थियो। २०६६ असोज १९ मा नेपालगन्जको लालीगुँरास होटलमा अब्दुल मदिज मनिहारको हत्या भएको थियो।
२०६० चैतमा भेटिएको नक्कली भारतीय नोटको विषयमा मनिहार विरुद्ध मुद्दा चलेको थियो। शुरूआतमा पुर्पक्षका लागि थुनामा पुगेका मनिहार पछि धरौटीमा छुटेका थिए। मनिहारको हत्या गर्न मनमित सिंह परिचालन भएको प्रहरी अनुसन्धाबाट खुलेको थियो। मनमित पछि युनुस अन्सारीलाई कारागारभित्रै पसेर गोली हान्ने घटनामा संलग्न भएका थिए।
२०६६ पुसमा बुटवलको मैनाबगरमा सौकात वेगको हत्या भएको थियो। भारतीय मोटरसाइकलमा आएका आक्रमणकारीले उनको हत्या गरेका थिए। मोहम्मद वाकर सइनले वेगको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। वेग नक्कली भारतीय रुपैयाँ र आतंकवादी गतिविधिमा संलग्न रहेको भन्दै भारतले २० हजार रुपैयाँ इनाम सहित ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो।
त्यही वर्षको माघमा सञ्चार उद्यमी जमिम शाह जाली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमै मारिएका थिए। लाजिम्पाट-महाराजगन्जको मूल सडकमै गाडीभित्र सवार जमिमको दिउँसै हत्या गरिएको थियो। उनको हत्यामा भारतीय जेलमा रहेका आपराधिक समूह बब्लु श्रीवास्तवको हात रहेको तथ्य प्रहरीले फेला पारेको थियो। बब्लुले पनि आफ्नो पुस्तक अधूरा ख्वाबमा आफूलाई जाली भारतीय रुपैयाँको कारोबारमा संलग्नहरूको हत्या गर्न भारतीय प्रहरीले गोप्य ‘मिसन’ दिएको उल्लेख गरेका छन्।
त्यसको दुई वर्षपछि २०६८ असोजमा काठमाडौंको घण्टाघरस्थित मस्जिदबाट मूल सडकमा निस्कनासाथै इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्या भयो। मोहम्मद फोहद भनिने विपिन यादवले फैजानको हत्या गरेको घटनाको दुई वर्षपछि प्रहरीले खुलाएको थियो। यादवलाई बब्लु श्रीवास्तवले फैजानको ‘सफाया’ गर्न खटाएको पाइएको थियो।
त्यस्तै, २०७० सालमा राजविराजमा जाली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा सांसद सदरुल मियाँ हकको सुतिरहेकै वेला घाँटी रेटेर हत्या गरिएको थियो। सदरुल हत्या मात्र जाली भारतीय रुपैयाँसँग जोडिएको अहिलेसम्मको फरक प्रकृतिको हत्या हो। नत्र सबै घटनामा मोटरसाइकलमा आएर ‘शार्प शूटर’ ले हत्या गरेका छन्। सुनसरीबाट अवैध रूपमा नेपाली नागरिकता लिएका भारतीय सुब्रतो बिनले सदरुलको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो।
२०७५ असोजमा सुनसरीमा खुर्सिद आलमको हत्या भयो। भारतले खुर्सिद इन्डियन मुजाहिद्दीन (आईएम)का लागि काम गर्ने पाकिस्तानी एजेन्ट भएको आरोप लगाउँदै आएको छ। आईएमका सदस्यलाई नेपाली नागरिकता दिलाउन र जाली भारतीय मुद्राको कारोबारमा खुर्सिदको संलग्नता रहेको भन्दै भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए।
यस बाहेक हत्या प्रयास भएका घटना पनि छन्। २०६८ वैशाखमा नेपालस्थित पाकिस्तानी दूतावासको भिसा शाखाका कर्मचारी महबुब असिफमाथि महाराजगन्जमा गोली प्रहार भएको थियो। पेट र हातमा गोली लागेका उनी बाँच्न सफल भए। मोटरसाइकल चढेर आएका दुई जनाले उनलाई गोली हानेको भनिए पनि यस घटनामा संलग्न कोही पक्राउ परेनन्। पाकिस्तानले भने घटनामा भारतको हात रहेको दाबी गरेको थियो।
२०६७ फागुनमा जाली भारतीय रुपैयाँ कारोबारको मुद्दामा जेल सजाय भोगिरहेका युनुस अन्सारीको हत्या प्रयास भएको थियो। भारतीय नागरिक मनमित सिंहले गोली हानेको खुलेको थियो। गोली नपड्किएपछि अन्सारी जोगिएका थिए।
पाकिस्तानको सहयोगमा नेपाल हुँदै जाली भारतीय रुपैयाँ भारत पुर्याइने गरेको र यसमा नेपालीलाई समेत प्रयोग गरिएको भारतले आरोप लगाउँदै आएको छ। २०७३ कात्तिकदेखि भारतले ५०० र एक हजारका नोट नचलाउने निर्णय गरेपछि नेपालका लागि समेत टाउको दुखाइको विषय बनिरहेको नक्कली भारतीय रुपैयाँको तनाव केही कम भएको थियो।
नोटबन्दीपछि भारतीय जाली नोट बरामद हुने क्रम उल्लेख्य घटे पनि भारतीय शंका भने नहटेको मोहम्मद हत्याले पुष्टि गरिदिएको थियो। यद्यपि ‘शार्प शूटर’ पटेल र योजनाकार भनिएका पासवानको पक्राउले भारतीय अभीष्ट एक हदसम्म खोल्न सक्नेछ। किनभने हत्यामा संलग्न यो तहका व्यक्ति अहिलेसम्म पक्राउ परेका थिएनन्।