वाईपी पन्तको जीवनका ईर्ष्यालाग्दा पहेली
युवावस्थामै अर्थसचिव र गभर्नर भएका यादवप्रसाद पन्तको जीवनका रहर र ईर्ष्यालाग्दा अनेक पहेली पुस्तकाकारमा आएका छन्।
बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेर नेपाल फर्किंदा वाईपी अर्थात यादवप्रसाद पन्त २४ वर्षका मात्रै थिए। त्यसको चार वर्षअघि पन्तले स्नातकोत्तरको पढाइ पूरा गरेका थिए। त्यो समयमा कम उमेरमा स्नातकोत्तर र विद्यावारिधि गर्ने उनी पहिलो नेपाली थिए।
यो सात दशकअघिको समय हो। राणाशासन ढलेर प्रजातन्त्र आएको २००७ साल वरपरको अवधिमा युवा अर्थशास्त्री पन्तको जीवनयात्रा रोचक ढंगले अघि बढ्यो।
विद्यावारिधि गरेर २००९ सालमा भारतबाट नेपाल फर्के लगत्तै त्रिचन्द्र कलेजमा प्राध्यापन गर्न थाले। त्यसको ६ वर्षपछि अर्थसचिव बने, जति वेला उनको उमेर ३० वर्ष मात्र थियो। ४० वर्ष नपुग्दै नेपाल राष्ट्र ब्यांंकको गभर्नर भए। पछि अर्थमन्त्री नै बने।
जमीनदार बुबा भने छोराले जागीर नगरोस् भन्ने चाहन्थे। अझ पढ्नलाई विदेश नगए हुन्थ्यो भन्ने चाहना थियो। उनले भने विदेशमा पढे, देशको प्रतिनिधित्व गर्दै देश-विदेश चहारे। अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई स्थापित गराउन योगदान दिए।
उनै पन्तको जीवनका विभिन्न आयाम समेटेर पुस्तक प्रकाशन भएको छ, सम्झनामा डा. यादवप्रसाद पन्त। पुस्तकमा पन्तबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चर्चित ४० जनाका संस्मरण, विचार र उनको कामको विश्लेषण समाविष्ट छन्।
विदेशीको नजरमा प्रशंसित पन्त
उच्च ओहदामा काम गर्दा उनको एउटै ध्येय थियो- देशको आर्थिक अवस्थाको सुधार। अर्कातर्फ, एक प्राज्ञिक लेखकका रूपमा उनक लेखनले देशका समस्याको विश्लेषणमा सघाउ पुर्याउँथ्यो। त्यो नेपालीको मात्र होइन, विदेश विज्ञका नजरमा पनि देखिन्छ।
दिल्ली विश्वविद्यालयका प्राध्यापक आशिष बोसले पहिलो पटक पन्तलाई भेट्दाको संस्मरण सुनाएका छन्। दिल्लीमा आयोजित अर्थशास्त्रीको सेमिनार सकिएपछि साँझपख पन्तसँग भलाकुसारी गर्दै हस्तरेखा नियालेको स्मरण गरेका छन्। पन्तको हस्तरेखा हेर्दै बोसले भनेछन्, ‘तपाईंले धेरै दिन यो काम गरिरहनुहोला जस्तो लाग्दैन, किनभने तपाईंको भाग्यले तपाईंलाई धेरै माथि लैजान्छ, र हुन सक्छ तपाईं नेपालको प्रधानमन्त्री नै बन्नुहोला।’
यादवप्रसाद पन्तको सम्मानमा निस्किएको हुलाक टिकट।
विनयी स्वभावका पन्तले हाँसेरै टारिदिए। प्राध्यापक बोसले भने जस्तै प्रधानमन्त्री नभए पनि पन्त मन्त्री त बने।
विश्व ब्यांकका तत्कालीन प्रशान्त क्षेत्रीय निर्देशक निगेल रोबर्टस्ले पनि पन्तसँगको रमाइलो किस्सा स्मरण गरेका छन्। २०३० सालको दशकमा रोबर्टस् पूर्वी नेपालमा गैरसरकारी संस्थामा कार्यरत थिए। एक पटक ब्रिटिश काउन्सिलले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएको वेला झिंजो लागेर कुनामा बसेर बगैंचातिर हेरिरहेका थिए।
त्यही वेला एक जना आएर कुराकानी गर्न थाले। ‘मैले उहाँको नाम सम्झन सकिनँ, तर उहाँले आफ्नोबार बताउनुभन्दा पनि मलाई नेपाल कसरी आइपुगेको र यहाँ के गरिरहेको सोध्नुभयो। उहाँले मेरो नेपालबारेको आलोकाँचो दृष्टिकोण बडो चाख दिएर सुन्नुभयो,’ रोबर्टस्ले लेखेका छन्, ‘आधा घण्टा जति बात मार्दा मेरा कुराले उहाँले दिक्क मानेको वा झिंजो मानेको संकेत देखाउनुभएन, बरु बडो उत्सुक देखिनुभयो। मैले नेपालको पूर्वी क्षेत्र मेची, कोशीका गाउँठाउँमा के गरिरहेको छु भन्ने उहाँलाई विस्तारपूर्वक बताएँ। जुन काठमाडौंका अधिकांश अधिकारीहरूलाई वास्ता हुँदैनथ्यो। हाम्रो कुराकानी टुंगियो र हामी छुट्टियौं, तर उहाँ को हुनुहुन्थ्यो भन्ने मलाई केही थाहा भएन।’
केही दिनपछि रोबर्टस्ले द राइजिङ नेपालमा आफूले कुरा गरेको व्यक्तिको तस्वीर छापिएको देखे। उनी त जापानका नेपाली राजदूत र राष्ट्र ब्यांकका गभर्नर भइसकेका व्यक्ति भनेर थाहा पाएको उल्लेख गरेका छन्।
पछि रोबर्टस् विश्व ब्यांंकको आवासीय प्रतिनिधिका रूपमा नेपाल आउँदा पन्त मन्त्री थिए। ‘नेपालमा पाँच वर्ष बिताउँदा डा. पन्त जलस्रोतमन्त्री हुनुहुन्थ्यो,’ रोबर्टस् लेख्छन्, ‘जलस्रोतमन्त्री हुँदा उहाँसँग नजीकबाट काम गर्ने अवसर पाएँ। उहाँको कामप्रतिको लगाव, इमानदारी, नम्रताको लाभ उठाएँ।’
पन्तको विश्लेषणात्मक कुशाग्रताबाट प्रभावित भएको रोबर्टस्ले स्मरण गरेका छन्। ‘उहाँको नैतिक अडान कति अपरिवर्तनीय रहेछ भन्ने पनि मैले बुझ्ने मौका पाएँ,’ उनले लेखेका छन्।
भारतीय पूर्व विदेशसचिव एरिक गोन्साल्भेजले पन्तलाई दक्षिणएशियाका साथै विश्वकै वित्तीय र विकास अर्थशास्त्रका शिखर व्यक्तित्व मानेका छन्। एशियाली मुलुकका गम्भीर चासोका मुद्दाहरूः योजना निर्माण, योजना कार्यान्वयन र यो क्षेत्रमा विकासको गति कसरी अघि बढाउने भन्ने विषयमा पन्तबाट धेरै सिक्ने अवसर पाएको गोन्साल्भेजले लेखेका छन्।
औपनिवेशिक प्रभुत्वबाट भर्खरै स्वतन्त्र भएका मुलुकहरू शुरूआती वर्षमा अपरिपक्व राष्ट्रवादले ग्रसित थिए। त्यति वेला सीमापार सहयोग र सहकार्य अवरुद्ध भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘भारतीय संस्थापन पक्षलाई साना छिमेकीहरूसँगको व्यवहारमा पारस्परिकतालाई अलग्गै राख्नुपर्छ भन्ने कुरा बुझ्न लामो समय लाग्यो।’
त्यो वेला पन्तको प्रयासले आपसी सम्बन्धी सुधार भएको गोन्साल्भेजले स्मरण गरेका छन्। ‘भारतलाई दबाब दिन चिनियाँ वा पश्चिमा कार्ड खेल्न खोज्नु दीर्घकालीन हितमा छैन भन्ने नेपालले बुझेकै थियो, किनभने त्यो भारतलाई दबाब दिने भरपर्दो उपाय थिएन नै। यो कुरा डा. पन्तले राम्रैसँग बुझेका थिए र उनको हस्तक्षेपले आपसी सम्बन्ध सुधारमा उल्लेख सुधार गरेको थियो,’ भारतका पूर्व विदेश सचिव गोन्साल्भेजले भनेका छन्।
त्यस्तै, फिलिपिन्सका प्राध्यापक तथा पूर्व मन्त्री गेराडो पी. सिक्याटले पन्तको प्राज्ञिक क्षमताको प्रशंसा गरेका छन्। ‘पद र योगदानको दृष्टिकोणले उच्च शिखरमा पुगिसकेपछि पनि उहाँले नेपालको अर्थतन्त्रबारे कलम चलाइरहनुभयो,’ सिक्याटको निष्कर्ष छ, ‘जसले गर्दा पेचिला आर्थिक मुद्दा र समस्याबारे विज्ञ तथा जनसाधारणले राम्रोसँग बुझ्ने अवसर पाए।’
फिलिपिन्स विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डा. गोन्जालो एम हुराडोले नेपालका लागि फिलिपिन्सको राजदूत भएर आउँदा पन्तसँग चिनजान भएको स्मरण गरेका छन्। पन्तको प्राज्ञिक पृष्ठभूमि गहिरो रहेको र सार्वजनिक चासोका मुद्दाको बुझाइ सपाट रहेको अनुभव प्राध्यापक हुराडोले स्मृतिलेखमा उल्लेख गरेका छन्।
जापानका वरिष्ठ मानवशास्त्री प्राध्यापक जिरो कावाकिताले जापानका अर्थशास्त्री, व्यवसायी, सामाजिक अभियन्तासँग पन्तले फलदायी संवाद स्थापित गरेको अनुभव व्यक्त गरेका छन्। पन्तकै सक्रियतामा सन् १९७९ मा नेपाल-जापान मैत्री तथा सांस्कृतिक संघ गठन भई त्यसले नेपाल-जापान सम्बन्ध सुधार गर्न भूमिका खेलेको र अन्य कामकाजमा पनि सहकार्य भएको स्मरण गरेका छन्। कावाकिताले पन्तलाई ‘आफ्नो देशको आर्थिक उन्नतिमा अतुलनीय योगदान दिनुभएका एउटा सक्षम अर्थमन्त्री र उत्तिकै क्षमतावान् जलस्रोतमन्त्रीका रूपमा पाएको’ उल्लेख गरेका छन्।
अमेरिकी म्यागेजिन न्यूजविकका पत्रकार बर्नार्ड क्रिसरले टोकियोमा रहँदा जापानका लागि नेपालका तत्कालीन राजदूत पन्तलाई बारम्बार भेटेको स्मरण गरेका छन्। ‘डा. पन्त अन्य कूटनीतिज्ञ जस्तो शिष्टाचार भेटघाटमा मात्र सरिक हुने र आफ्ना समकक्षीहरूसँग सानातिना कुरामा रमाउने खालका कूटनीतिज्ञ हुनुहुन्नथ्यो,’ क्रिसरले लेखेका छन्, ‘जापानमा हुँदाको अवसरलाई सक्दो सदुपयोग गर्दै उहाँले गम्भीरतापूर्वक आर्थिक विकासको अध्ययनमा लाग्नुभयो र आफ्नो देशलाई फाइदा हुनेगरी जापानसँगको सम्बन्ध सुधार्न कुनै कसर बाँकी छोड्नुभएन।’
लामो समय अंग्रेजी साप्ताहिक टेलिग्राफ सम्पादन गरेका पत्रकार एन. पी. उपाध्यायले कसैले उनलाई भ्रष्ट भन्ने साहस गरेको आफूले नसुनेको बताएका छन्। अर्का पत्रकार पी. खरेलले पन्त नेपाली समाजमा विरलै भेटिने पात्र सरह भएको उल्लेख गरेका छन्। ‘त्यो समाज जहाँ विवादले सार्वजनिक पद धारण गरेका मान्छेहरूलाई घेरेको हुन्छ, तर डा. पन्तले त्यस्तो अवस्थाको सामना कहिल्यै गर्नुपरेन,’ पत्रकार खरेलले लेखका छन्, ‘यस सन्दर्भमा समकक्षीहरूसँग तुलना गर्ने हो भने उहाँको रेकर्ड आरिसलाग्दो नै मान्नुपर्छ।’
श्रीलंकामा रहेको साउथएशिया पर्स्पेक्टिभ नेटवर्क एशोसिएशनका अर्थशास्त्री डा. पोन्ना विग्नराजाले पन्तलाई रणनीतिकारका रूपमा स्मरण गरेका छन्। ‘डा. पन्त जस्ता व्यक्तिले शुरूआती दिनमा रोपेका विकासका नवीन सोच बीज सरह थिए, जसको परिणामस्वरूप नेपालको विकास प्रक्रियाले जनताकेन्द्रित रणनीति अंगीकार गर्दै विभिन्न गतिविधिहरू अघि बढाएको थियो,’ विग्नराजा लेख्छन्, ‘यसै क्रममा अघि बढेका गाउँ फर्क राष्ट्रिय अभियान र राष्ट्रिय विकास सेवा; कृषि विकास ब्यांंकको साना किसान विकास कार्यक्रम; ग्रामीण महिलाको लागि उत्पादन ऋण जस्ता अनेकौं नवीन राष्ट्रिय कार्यक्रमले सामाजिक अभियानको बाढी नै चल्यो।’
स्मृतिग्रन्थमा विश्व स्वास्थ्य संगठनमा वरिष्ठ अधिकृतका हैसियतमा काम गरेका बद्रीराज पाण्डेले पन्तको अध्ययनशीलताको चर्चा गरेका छन्। ‘एक अध्ययनशील व्यक्तित्व हुनुहुन्थ्यो र आफ्नो विषय बाहेक स्वास्थ्य क्षेत्रका पुस्तक र पत्रिकाहरू पनि पढ्नुहुन्थ्यो,’ पाण्डेको स्मरण छ, ‘आफूले पढेका विषयहरूबारे मसँग छलफल गर्नुहुन्थ्यो। अनि उहाँले उठाएका प्रश्नहरूको उत्तर दिन मैले शारीरिक र मानसिक स्वास्थ्यसँग सम्बन्धित मेडिकल पुस्तक पढ्नुपर्थ्यो। यसरी उहाँले मलाई पढ्नमा प्रोत्साहित गर्नुभएको थियो।’
अन्तर्राष्ट्रिय आबद्धता
सन् १९५६ देखि १९५९ सम्म एशियाका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक आयोग (इस्क्याप)मा आबद्ध भएर पहिलो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गरेका थिए। त्यसरी संयुक्त राष्ट्रसंघको विदेशी नियोगमा आबद्ध हुने उनी पहिलो नेपाली अर्थशास्त्री थिए। उनले इन्टरन्याशनल ब्यांंक अफ रिकन्स्ट्रक्शन एन्ड डेभलपमेन्ट (आईबीआरडी)मा सन् १९६२ देखि १९६७ सम्म वैकल्पिक गभर्नरको जिम्मेवारी निर्वाह गरेका थिए।
उनी १९६८ देखि १९७३ सम्म इन्टरन्याशनल मनिटरी फन्ड (आईएमएफ) र सन् १९८० देखि १९८३ सम्म आईबीआरडी दुवैका गभर्नर भएका थिए। यी दुई अन्तर्राष्ट्रिय संस्थामा उनले निर्वाह गरेको जिम्मेवारीले नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा योगदान पुगेको उनका समकक्षीले उल्लेख गरेका छन्।
ब्यांककमा बसेर इस्क्यापमा काम गरेका उनी फर्केपछि सरकारको आर्थिक सल्लाहकार नियुक्त भएका थिए। उनको बीपी कोइराला र सुवर्ण शमशेरसँग सौहार्द सम्बन्ध थियो।
गरीबी उन्मूलन, रोजगारी सिर्जना, मूल्य र अर्थतन्त्रलाई स्थिर राख्न पन्तले प्रस्तुत गरेको धारणा महत्त्वपूर्ण मानिन्छ। उनी आर्थिक विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता र सरकारको बलियो नियमनकारी भूमिकाको वकालत गर्थे। अर्थसचिव र राष्ट्र ब्यांंकको गभर्नरका रूपमा उनले ब्यांकिङ नीतिमा ठूलो सुधार गरेका थिए। उनले पहिलो पञ्चवर्षीय योजना बनाउने काममा सघाएका थिए।
वरिष्ठ मेडिकल कन्सल्ट्यान्ट डा. प्रदीप भण्डारीले पन्तले कमाएको सम्मान नै उनको जीवनको साँचो कमाइ भएको जिकिर गरेका छन्। ‘हामी कसैले पनि अनुनयविनय गरेर सम्मान पाउन सक्दैनौं, यो त कमाउनुपर्छ। हाम्रो सामाजिक र सांस्कृतिक परिवेशमा पद तथा ओहदामा बसको व्यक्तिले आदेश लगाउँछ र साधारण मानिसलाई अह्राउने खटाउने प्रभुत्व र शक्तिको आनन्द लिन्छ,’ भण्डारीले लेखेका छन्, ‘यस्तो परिवेशमा सम्मान पाउने व्यक्तिले पनि खोक्रो सम्मान मात्र पाएको हुन्छ। हाम्रो समाजमा वास्तविक सम्मानयोग्य व्यक्ति थोरै छन्। म नि:सन्देह के भन्न सक्छु भने, त्यस्तो सम्मान पाउने एक व्यक्ति डा. यादवप्रसाद पन्त पनि हुनुहुन्थ्यो।’
पन्तको ८२ वर्षको उमेरमा २०६४ सालमा निधन भएको थियो।