‘म जस्तो लिम्बू भाषा लेख्न बोल्न जान्नेले पनि व्याकरणको किताबबाट नयाँ कुरा सिकें’ (भिडिओ)
लिम्बू भाषा लेख्न र बोल्न जान्ने भए पनि लिम्बू भाषाको व्याकरणको किताबबाट धेरै कुरा सिक्न पाएको लेखक बैरागी काइँलाले बताएका छन्।
भाषाविद् जर्ज भान ड्रिमले लेखेको पुस्तक अ ग्रामर अफ लिम्बू : बेस्ड अन द फेदाप डाइलेक्ट अफ दी ओल्ड लिम्बू हर्टल्यान्ड हालै प्रकाशन भएको छ।
पाटनमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै मुन्धुमविद् बैरागी काइँलाले यो किताबले नयाँ कुरा सिकाएको बताएका हुन्। उनले भने, “म जस्तो लिम्बू भाषा लेख्न बोल्न जान्नेले पनि व्याकरणको किताबबाट नयाँ कुरा सिकें।”
भाषाविद् ड्रिमको यो पुस्तक ३८ वर्ष पहिल्यै छापिएको थियो। ‘वेस्ट बर्लिन’ ले प्रकाशन गरेको पुस्तकको मूल्य करीब २२ हजार रुपैयाँ थियो। अहिले जगदम्बा प्रकाशन ललितपुरले नयाँ संस्करण प्रकाशन गरेको हो। ७२२ पृष्ठको नयाँ संस्करणको मूल्य दुई हजार रुपैयाँ छ।
यो पनि पढ्नुहोस् : ‘चिनियाँ हान जातिको जीन लिम्बू जातिसँग मिल्छ’