मेयरले नै लगाए नगरपालिकामा ताला!
संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मेयरले नै नगरपालिकामा ताला लगाएका छन् भने प्रमुख जिल्ला अधिकारीलाई साँचो बुझाएका छन्।
महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले कार्यालयमा ताला लगाएका हुन्। “कामकाज नै नहुने भएपछि कार्यालयले खोलेर बसेको के काम भयो?” मेयर साहले हिमालखबरसँग भने, “नगरपालिका कार्यालयमा ताला लगाएर सीडीओलाई साँचो बुझाएको छु।”
मेयर साहले आइतबार महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई साँचो बुझाएका हुन्। प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुँदासम्म ताला नखोल्ने मेयर साहले बताए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटक पटक आग्रह गर्दा पनि प्रशासकीय अधिकृतको व्यवस्था नभएको उनको भनाइ छ। उनले मन्त्रालयका सचिव रविलाल पन्थलाई नौ दिनअघि नै समस्याबारे जानकारी गराएका थिए। “समस्या समाधानका लागि पहल गरिदिन मन्त्रालयका सचिवलाई आग्रह गरेका थियौं,” साहले भने, “हप्ता दिनभित्र समस्या समाधान नभए पालिकामा ताला लगाएर साँचो प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रालयमा पठाइदिने जानकारी गराएका थियौं।”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी खोसेको थियो। त्यसपछि भंगहा नगरपालिकाकै आठौं तहका लेखा अधिकृत रामसागर यादवलाई निमित्तको जिम्मेवारी दिइएको थियो।
त्यसपछि मन्त्रालयले फागुन ४ मा उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो। घिमिरे अहिलेसम्म नगरपालिकामा हाजिर हुन नआएपछि कामकाज प्रभावित भएको मेयर साहले बताए।
त्यसबारे जानकारी दिन मेयर साह सहितको टोली काठमाडौं पुगेको थियो। यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग छलफल गर्न खोजे पनि भेट्ने समय नपाएको मेयर साहले बताए। “मन्त्रीले भेट्ने समय नै दिएनन्। सचिवले हाकिम पठाउँछौं त भने, तर पठाएनन्,” उनले भने, “हाकिम नपाएपछि पालिकामा ताला लगाएर सीडीओलाई साँचो जिम्मा लगाउन बाध्य भयौं।”
भंगहा नगरपालिकामा जनप्रतिनिधिले नै ताला लगाएपछि दैनिक कामकाज ठप्प छ। प्रमुख प्रशासकीय अधिकृतको अभावमा विकास निर्माणका लागि टेन्डर, दीर्घरोगीले पाउने सुविधाको सिफारिश यसअघि नै रोकिएका थिए। केही काम गर्नै नसक्ने भएपछि ताला लगाउनुपरेको मेयर साहको भनाइ छ।
“प्रशासकीय अधिकृत नहुँदा सेवाग्राहीले पहिले पनि समस्या भोगिरहेका थिए। ताला नै लगाएपछि थप कठिनाइ हुने भयो,” उनले भने, “केही उपाय नलागेपछि ताला लगाउनुपरेको हो। मेरो बाध्यतालाई जनताले पनि बुझिदिनेछन्।”