गुठीपीडित किसान र प्रहरीबीच नयाँ बानेश्वरमा झडप
स्वर्गद्वारी गुठीपीडित मोही किसान र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ भने प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
दाङको देउखुरीबाट काठमाडौं आएका गुठीपीडित मोही किसान महीना दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्। उनीहरूले आइतबार प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा नयाँ बानेश्वर पुगेका गुठीपीडित किसान र प्रहरीबीच झडप भएको हो। स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिको अगुवाइमा निषेधित क्षेत्रभित्र प्रवेश गर्न लाग्दा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले बताए।
झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा पौडेल घाइते भएका छन्। घाइते डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकामा पाँच वटा टाँका लगाइएको एसपी बोहराले बताए।
झडपका क्रममा प्रहरीले गुठीपीडित किसानलाई नियन्त्रणमा लिएको छ। नयाँ बानेश्वरबाट १२ जनालाई नियन्त्रणमा लिएको एसपी बोहराले बताए।
गत वर्ष सरकारसँग भएको सहमति कार्यान्वयन माग गर्दै गुठीपीडित किसान आन्दोलनमा उत्रिएका हुन्। २०८० चैत ७ मा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहमति गरेको थियो। जसमा स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानको मागलाई सम्बोधन हुनेगरी सरकारले नयाँ एकीकृत कानून बनाउने उल्लेख थियो।
एक वर्ष पुग्न लाग्दा पनि सरकारले कानून निर्माणको प्रक्रिया थालेको छैन। त्यसका लागि दबाब दिन एक महीनाअघि गुठीपीडित किसान काठमाडौं पुगेका हुन्। उनीहरूले माग पूरा नहुँदासम्म घर नफर्किने जनाएका छन्।