किन पढ्दैनन् नेता?
नेपाली नेताहरू सत्तामा मात्र केन्द्रित हुने भएकाले कम पढ्ने गरेको यस सम्बन्धी बहसमा सहभागीले औंल्याएका छन्।
प्रायः सबैले भन्ने गर्छन्- नेताले पढ्दैनन्। के साँच्चै नेताहरू पढ्दैनन्? किन पढ्दैनन्?
राजनीतिशास्त्री हरि शर्मा नेपाली राजनीतिकर्मीले कम पढ्ने गरेको सुनाउँछन्। “राजनीतिकर्मीहरूले कम पढ्छन् भन्नलाई मलाई कुनै संकुचन छैन। किनभने जनताको आकांक्षा, उर्लंदो इच्छालाई पढ्न सकिरहेका छैनन्,” शर्मा भन्छन्, “यो कुनै किताबसँग सम्बन्धित छैन, तर किताब पढ्ने कुरा महत्त्वपूर्ण छ।”
नेपाली नेताले कम पढ्ने गरेकामा जनता समाजवादी पार्टी (नयाँ शक्ति)की नेत्री हिसिला यमी पनि सहमत छिन्। “राजनीतिकर्मीले सबै पढ्नुपर्छ। राजनीतिमा पनि कुन खालको राजनीति हो?” यमी प्रश्न गर्छिन्।
सत्ताकेन्द्रित राजनीतिमा मान्छेलाई पढेर स्वार्थमा पार्न सकिने भए पनि रूपान्तरणको राजनीतिका लागि भने पढ्नै पर्ने उनको भनाइ छ। “रूपान्तरणको राजनीति गर्ने हो भने पढ्नुपर्छ, पढ्नुपर्छ, पढ्नुपर्छ। संसारका चर्चित नेताहरूले असाध्यै पढेको देखिन्छ,” उनी भन्छिन्।
पोखरामा चलिरहेको ‘नेपाल लिटरेचर फेस्टिभल’ अन्तर्गत ‘नेताले किन पढ्नुपर्छ?’ भन्ने सत्रमा बोल्दै राजनीतिशास्त्री शर्मा किताब मात्र नभएर नेताले मान्छेको भावना पनि पढ्नुपर्ने बताउँछन्। “पढ्ने विषय पुस्तक मात्र होइन। मान्छेको भावना बुझ्न सक्ने नेताले पढे कि पढेनन् भन्ने कुरातिर जान्छ,” शर्मा भन्छन्, “ज्ञानको माध्यम पहिला किताब थियो। अहिलेको जेन-जी ट्याब्लेट भएर आएको छ, आइफोन भएर आएको छ। पुस्तक एउटा माध्यम हो।”
उनी अक्षरलाई बोलाउनुपर्ने बताउँछन्। शर्मा भन्छन्, “अक्षरहरू आफैं बोल्दैनन्, अक्षरहरूलाई बोलाइनुपर्छ। लेखकले बोलाउनुपर्छ। पाठक त्यसमा आबद्ध हुन्छन्।”
नेत्री यमी भने नेपाली नेताहरू सत्तादेखि सत्तामा केन्द्रित भएकाले नपढ्ने गरेको तर्क गर्छिन्। “लोकरिझ्याइँ खोज्ने नेताहरू कम पढ्छन्,” उनी भन्छिन्।
संवादमा सहभागी अर्का वक्ता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल पनि लोकरिझ्याइँमा रमाउने नेताले पुस्तक कम पढ्ने गरेको बताउँछन्। समाजको प्रचलित मानसिकतालाई तुरुन्तै पढ्न सक्ने खूबी लोकरिझ्याइँमा रमाउने नेतामा हुने गरेको उनको भनाइ छ। “कुन भाषा, कुन शब्दावली बिक्छ भन्ने कुरा उसको पढाइको क्षमतामा निर्भर हुन्छ। किताबको ज्ञानभन्दा पनि समाजको मनोविज्ञानको एकदम चाँडो पढ्न सक्ने क्षमता उसमा देखिन्छ,” खनाल भन्छन्।
उनी चेतना र चिन्तन निर्माणका पुस्तक पढ्नुपर्ने बताउँछन्। किताबले व्यवहार परिवर्तनमा सघाएको सुनाउँदै खनाल भन्छन्, “चेतना वृद्धिका लागि पढ्नुको अत्यन्तै ठूलो महत्त्व हुन्छ। त्यो म पटक पटक अनुभव गर्छु।” अहिले उनी उड्डयनसँगै परराष्ट्र नीति र कूटनीतिक विषयका पुस्तक पढिरहेको बताउँछन्।
कलेज तथा विश्वविद्यालय नगएका नेताहरूले पढेको देख्दा आफू प्रभावित भएको यमी बताउँछिन्। माओवादी सशस्त्र द्वन्द्वको वेलाको प्रसंग निकाल्दै डा. बाबुराम भट्टराई र आफूलाई कारबाही गरेको वेलामा धेरै पढेको सुनाउँछिन्। सशस्त्र द्वन्द्वका समयमा लेखपढ गर्न नसकेका नेता तथा कार्यकर्ताले पढेको देख्दा चकित परेको उनको भनाइ थियो।
“सबैभन्दा ठूलो कुरा के सिकें भने, हामी जस्तो पढेलेखेको मान्छे (डिग्रीवाला)हरूको एउटा घमण्ड हुन्छ, ज्ञानको घमण्ड। तर जनयुद्धमा गइसकेपछि नपढेका मान्छेलाई चान्स दियो भने उनीहरू यति सिर्जनशील हुँदा रहेछन्, यति कलात्मक हुँदा रहेछन्, मैले त तिनीहरूलाई नमनै गरें,” यमी भन्छिन्।
लेखक शंकर तिवारीसँगको संवादमा सहभागी तीनै नेताले अझ धेरै पढ्नुपर्नेमा जोड दिए। राजनीतिशास्त्री शर्माले पढ्नुलाई व्यापकताको संज्ञा दिए। नेताले पढिदेओस् भन्ने जनताको चाहनालाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ थियो। “हाम्रो इच्छा के हो भने, हाम्रो नेता/नेतृत्वले पढिदेओस् भन्ने आकांक्षाबाट आएको हो। यो सकारात्मक छ, मैले नकारात्मक लिइनँ,” शर्मा भन्छन्।
फेवा ताल किनारको बाराहीघाटमा बूकवर्म फाउन्डेशनको आयोजनामा जारी एनसेल फाउन्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल’ फागुन १८ सम्म चल्नेछ। सम्मेलनमा विभिन्न विषयमा छलफल भइरहेका छन्।