ट्रम्प र जेलेन्स्कीबीच नोकझोक, कसले के भने?
अमेरिका भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच भेटवार्ताका क्रममा भएको नोकझोकले संसारभर तरंग ल्याएको छ।
ट्रम्प र जेलेन्स्कीबीच ओभल अफिसमा भएको वार्तामा नोकझोक भएको हो। सौहार्दपूर्ण रूपमा शुरू भएको वार्ता अन्तिमतिर नोकझोकमा परिणत भएको थियो।
दुवै नेताले बोलेपछि पत्रकारले प्रश्न सोध्न शुरू गरेका थिए। करीब ५० मिनेट लामो बहसको अन्तिम १० मिनेटमा नोकझोक भएको हो। पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उपराष्ट्रपति जेडी भान्सले ‘कूटनीति’ आवश्यक रहेको बताएका थिए। त्यसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘कस्तो कूटनीति’ भनेर प्रश्न गर्दै यसअघि भएको युद्धविराम रूसले भंग गरेको सुनाएका थिए।
उपराष्ट्रपति भान्सकै भनाइलाई समर्थन गर्दै ट्रम्पले दबाब दिने किसिमले बोलेपछि जेलेन्स्कीले असहमति जनाएका थिए। त्यसपछि ट्रम्पले जेलेन्स्कीलाई भने, “या त सम्झौता गर्न तयार हुनुपर्छ नत्र अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको छ।”
त्यसपछि दुवै नेताबीच चर्काचर्की भएको थियो। ट्रम्पले जेलेन्स्कीलाई भने, “लाखौं मानिसको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ। तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्दै हुनुहुन्छ र जे गरिरहनुभएको छ, त्यो यो देशप्रति अपमानजनक छ।”
नोकझोकका क्रममा दुई नेता।
दुई नेताबीच नोकझोक भइरहँदा अमेरिकाका लागि युक्रेनी राजदूत ओसना मार्कारोभा निराश देखिएकी थिइन्। उनी रोइरहेको रहेको तस्वीर र भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
चर्काचर्कीबीच सकिएको वार्ताको अन्त्यमा पत्रकारले सम्झौता हुन्छ त भनेर सोधेका थिए। त्यसमा ट्रम्पले ‘हेरौं’ भन्ने जवाफ दिएका थिए। ट्रम्पको जवाफले ओभल अफिसमा एकाएक सन्नाटा छाएको थियो।
जेलेन्स्की युक्रेनको खनिज सम्पदा बाँडफाँड गर्ने र रूससँग शान्ति सम्झौताबारे छलफल गर्न ट्रम्पको निमन्त्रणामा अमेरिका पुगेका थिए। फ्रान्स र बेलायतका नेताहरूको प्रयासपछि ट्रम्प जेलेन्स्कीसँग वार्ता गर्न सहमत भएका थिए।
यो नोकझोकपछि अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्बन्धी सम्झौतामा हस्ताक्षर भएन। जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपतिको कार्यालयबाट बाहिरिन भनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ह्वाइट हाउसबाट बाहिरिएपछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले आफू र ट्रम्पबीच हुन पुगेको विवाद ‘दुवै पक्षका लागि ठीक नभएको’ प्रतिक्रिया दिए। अझै दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने विश्वास रहेको जेलेन्स्कीले बताए। उनले भने, “अमेरिका र ट्रम्पको समर्थन विना यो यात्रा पक्कै कठिन हुनेछ।”
यो नोकझोकको भिडिओ सञ्चारमाध्यममा आएसँगै यूरोपेली मुलुकका नेताले जेलेन्स्की र युक्रेनको समर्थन गरेका छन्। यूरोपेली आयोग प्रमुख उर्सुला भोन डेर लेयेन र यूरोपेली काउन्सिल प्रमुख एन्टोनियो कोस्टाले संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्की कहिल्यै एक्लो नभएको बताएका छन्। “बलियो बन्नुहोस्, साहसी बन्नुहोस् र निडर बन्नुहोस्,” संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामी न्यायपूर्ण र स्थायी शान्तिका लागि तपाईंसँग सहकार्य गरिरहनेछौं।”
त्यस्तै, यूरोपियन युनियनका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले यूरोपेली शक्ति र वाशिङ्टनबीचको ट्रान्सएट्लान्टिक गठबन्धनबारे अमेरिकी नेतृत्वमाथि प्रश्न उठाएका छन्। उनले भनेका छन्, “आज यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नका लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी यूरोपेलीहरू के गर्छौं, यसमा निर्भर रहनेछ।”
यस्तै, बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग फोनमा कुरा भएको र युक्रेनलाई ‘अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले अमेरिका, यूरोप र युक्रेनका सहयोगीबीच ‘अविलम्ब’ शिखर सम्मेलन गर्न आह्वान गरेकी छन्।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेन युद्धमा रूस ‘आक्रमणकारी’ भएको बताएका छन्। उनले भनेका छन्, “आक्रमणकारी रूस हो। युक्रेनलाई सहयोग गर्ने र रूसलाई तीन वर्षअघि नै प्रतिबन्ध लगाउने तथा त्यसलाई निरन्तरता दिने हाम्रो निर्णय सही थियो।”
जर्मनीका नेता फ्रेडरिक मर्जले जेलेन्स्कीलाई समर्थन गर्ने आश्वासन दिएका छन्। “हामीले यस भयानक युद्धमा आक्रमणकारी र पीडितलाई कहिल्यै भ्रमित गर्नु हुँदैन,” मर्जले भनेका छन्।
पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टस्कले जेलेन्स्कीलाई सम्बोधन गर्दै भनेका छन्, “प्रिय युक्रेनी मित्रहरू, तपाईं एक्लो हुनुहुन्न।”
त्यस्तै, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युद्धग्रस्त युक्रेनको पक्षमा आफ्नो देश उभिने बताएका छन्। उनले भनेका छन्, “युक्रेनी मित्रहरू, स्पेन तपाईंहरूको साथमा उभिएको छ।”
(एजेन्सीहरूको सहयोगमा।)
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ओभल अफिसमा भएको नोकझोक सहितको पूर्ण वार्ता