पूर्व राजा र हिमानी ट्रस्टका नाममा ठगी
आफूलाई पूर्व राजाको भान्जा भन्दै हिमानी ट्रस्टबाट अमेरिका र न्यूजिल्यान्ड पठाइदिने प्रलोभनमा पारेर अनुपकुमार सिंहले १७ जनाबाट सवा करोड रुपैयाँभन्दा बढी ठगेको उजुरी परेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
राज केसीसँग सुभद्रा दाहालको भेट करीब दुई वर्षअघि भएको थियो। भेटको माध्यम बनेको थियो, सामाजिक सञ्जाल टिकटक। परिचय झांगिंदै गएपछि सुखदुःखका गफ हुन थाले। रुकुम, बाँफीकोटकी सुभद्रा केही वर्षयता ललितपुरको महालक्ष्मी नगरपालिका-४, इमाडोल बस्दै आएकी छन्।
उनले राजसँग चिनापर्ची बढाउनुको कारण थियो, विदेश जाने चाहना। टिकटक भिडियोमा राजको परिचय कलंकीमा रहेको भनिएको ‘दिव्यज्योति इन्टरन्याशनल ल्याङ्वेज एन्ड कन्सल्टेन्सी’ को प्रबन्ध निर्देशक भनी लेखिएको थियो।
सुभद्राका दुई छोरी र एक छोरा छन्। तर पतिसँग राम्रो सम्बन्ध थिएन। प्रहरी निरीक्षक रहेका पतिले सम्बन्धविच्छेदका लागि दबाब दिइरहेका थिए। यो विवाद प्रहरीसम्मै पुगेको थियो। प्रहरीले मिलापत्र गराइदिए पनि पतिको व्यवहार नफेरिएपछि उनलाई सँगै बस्न मन थिएन। त्यसैले छोराछोरी सहित विदेशिने उपाय खोजिरहेकी थिइन्। टिकटकमा भेटिएका केसीसँग उनले यी सबै बह पोखिन्।
सुभद्रालाई बहिनी भन्ने केसी अब ‘ज्वाइँले निकै अन्याय गरेछ’ भन्दै सहानुभूति देखाउन थालेका थिए। त्यसैले आफूले परिवारलाई नै विदेश पठाउन नसक्ने तर यस्तो गर्न सक्ने साथी रहेको भन्दै रामचन्द्र खनाल (प्रविन)सँग चिनाइदिए। अघिल्लो चैतमा रामचन्द्रलाई भेट्न छोरी र बहिनी सहित सुभद्रा लगनखेल पुगिन्।
रामचन्द्रले दुइटा प्रस्ताव राखे। पहिलो, भारतीय जनता पार्टीका नेता विजय जोलीको अमेरिकामा व्यवसाय रहेकाले उनी मार्फत जान सकिने। दोस्रो, पूर्व युवराज्ञी हिमानी शाहका नाममा स्थापित हिमानी ट्रस्टबाट पनि त्यस्तो अवसर रहेको।
सुभद्राले हिमानी ट्रस्ट रोजिन्। तर भारतबाट जाने भनिएको विकल्पबारे पनि आफन्तबीच कुरा राखिन्। भाइ नाता पर्ने प्रेमप्रकाश केसी जान तयार भए। त्यति वेलै रामचन्द्रले आफू बिरामी परेकाले भारत जान लागेको भन्दै यही मेसोमा प्रेमप्रकाशलाई पठाउने चाँजोपाँजो पनि मिलाउने बताए। अनि उपचार खर्च आवश्यक परेको बहाना बनाएर पैसा मागे। तर त्यो पैसा उनले आफ्नो नभएर भाइ भनी चिनाएका अभिषेकराज खनालको खातामा हालिदिन भने। सुभद्राले १९ लाख ८० हजार रुपैयाँ हाल्दिइन्। “त्यो पैसा आफन्तसँग सापटी मागेर पठाएकी थिएँ,” उनी भन्छिन्।
सुभद्रालाई पूर्व राजपरिवारले आयोजना गरेको पार्टीका लागि भनेर पठाइएको फर्जी निम्तोपत्र।
केही दिनपछि रामचन्द्रले प्रेमप्रकाशलाई पठाउन मिलेन भन्न थाले। यता सुभद्रालाई पनि पठाउने सुरसार थिएन। त्यसैले उनले पैसा फिर्ता मागिन्। रामचन्द्रले खाता नम्बर मागे, तर पैसा फर्काएनन्। बरु हिमानी ट्रस्टबाट चाहिं साँच्चै सम्भावना रहेको भन्दै लोभ देखाए। यति वेलासम्म महीनौं बितिसकेको थियो। गत असोज २ मा पतिसँग कानूनी रूपमै छुट्टिएपछि सुभद्रा झन् बिरक्तिएकी थिइन्। “त्यसपछि मलाई झन् यहाँ बस्न मन भएन। त्यसैले सकेसम्म जान्छु नै भन्ने लाग्यो र हुन्छ भनें,” उनी भन्छिन्।
अब रामचन्द्रले सुभद्रालाई ट्रस्टसँग निकट रहेका भन्दै अर्का व्यक्तिसँग सम्पर्क गराइदिए। उनलाई पूर्व राजा ज्ञानेन्द्रको भान्जा अनुपकुमार सिंह भनी चिनाइएको थियो। सुभद्रा कात्तिक १२ गते अनुपकुमारलाई भेट्न अनामनगर पुगिन्। भाटभटेनी सुपरमार्केटको शाखा नजीकै आर्मीको ट्र्याकसुट लगाएका एक व्यक्ति आएर उनलाई मोटरसाइकलमा लगे।
“घरको सजावट आलिशान थियो। बोलीचाली पनि त्यस्तै खालको। मलाई त दुरुस्तै राजपरिवार नै रहेछन् भन्ने लाग्यो,” सुभद्रा भन्छिन्। अनुपकुमारले सुभद्रालाई आफू ज्ञानेन्द्रकी बहिनी र हिमालयकुमार सिंहको छोरा अनि नेपाली सेनाको पूर्व पाइलट भनी चिनाए।
अनुपकुमारले सुभद्रालाई बी वान/बी टु भिसा लगाइदिने, यसबाट अमेरिकामा पाँच वर्षसम्म बस्न मिल्ने, वाशिङ्टन डीसीमा बस्ने हिमानीकी आफन्त मुनाराज्यलक्ष्मी राणाले प्रायोजन गर्ने भनी बेलीविस्तार लगाए। “उनले ९९ प्रतिशत भिसा लाग्छ, एक प्रतिशत मात्रै नहुन सक्छ भनेका थिए,” सुभद्रा सुनाउँछिन्।
सुभद्रालाई विश्वास दिलाउन अनुपकुमार राजपरिवारसँगका फोटो पठाउँथे। परराष्ट्रमन्त्री आरजु राणा देउवा आफ्नै फुपूकी छोरी रहेको र आफूले नगर्नू भन्दाभन्दै शेरबहादुर देउवासँग बिहे गरेकाले बोलचाल नरहेको, एआईजी दुर्गा सिंह आफ्नै बहिनी भएको बताउँथे। पूर्व युवराज पारसले पठाएको मेसेज भन्दै ‘फरवार्ड’ गर्दिन्थे। यति वेला उनी सुभद्राका छोरीहरूलाई भान्जी भन्न थालेका थिए।
यता सुभद्राले पनि उनले भने जसरी भीआईपीहरूको स्याहारसुसारका लागि मान्छे अमेरिका लैजान मिल्छ कि मिल्दैन भनेर चिने/जानेकाहरूलाई सोधिन्। उनीहरूबाट ‘मिल्ने’ जवाफ आएपछि बिस्तारै विश्वासमा पर्दै गइन्। तापनि आफूलाई एक पटक हिमानीसँग भेटाइदिन अनुपकुमारलाई आग्रह गरिन्। उनले केही समयपछि भेटाइदिने भन्दै भाका सार्दै गए। “मलाई पनि राजपरिवारसँग त्यति सजिलै भेट्न नमिल्ने होला भन्ने लाग्यो,” सुभद्रा भन्छिन्।
अनुपकुमारले सुभद्राका छोरीहरूलाई ‘ब्रिटिश इन्टरन्याशनल स्कूल अफ वाशिङ्टन’ मा भर्ना गराउने प्रक्रियाका लागि भन्दै उनीहरूको विद्यालयका केही कागजात पनि मगाए। अनि ६ जनवरीमा पूर्व युवराज पारसकी छोरी पूर्णिकाको टीकाटालो रहेको र त्यही मेसोमा थप केही व्यक्तिलाई पनि अमेरिका लैजान मिल्ने बताए। सुभद्राले यो कुरा आफ्ना भाइहरूलाई सुनाइन्। अब कमल दाहाल, झलक दाहाल, सुदीप दाहाल, सुमित्रा दाहाल, टेकबहादुर दाहाल, नेत्र ढकाल, किरण नाथ, प्रेम केसी, विमला घर्ती मगर पनि अमेरिका जान तयार भए।
अनुपकुमारले न्यूजिल्यान्डमा पनि नेपालको पूर्व राजपरिवारसँग सम्बन्ध रहेका व्यक्तिबाट कामदारको माग भएको भन्दै लोभ्याए। विदेश जाने मौका पर्खेर बसिरहेका सुभद्राका फुपूका छोरीहरू नम्रता केसी, स्नेहा गौतम सहित उनका सात जना आफन्त न्यूजिल्यान्ड जान तयार भए।
उनीहरूलाई विश्वास दिलाउन अनुपकुमारले श्रम स्वीकृत गराएरै पठाउने, मासिक दुई लाख तलब हुने, वार्षिक ४२ दिन बिदा पाइने, २६ महीनापछि पीआर पाइने बताएका थिए। न्यूजिल्यान्डबाट त्यहाँका नागरिकहरू लुथमिला इमान र मेरी पी कोस्टर ओनर नै लिन आउने भन्दै उनीहरूको फोटो पठाएका उनले २१ डिसेम्बरलाई उड्ने मिति तोकेका थिए।
अमेरिका जाने भन्दै १० जना र न्यूजिल्यान्ड जाने भन्दै सात जनाले विभिन्न समयमा गरी एक करोड २७ लाख ८० हजार रुपैयाँ बुझाइसकेका थिए। अनुपकुमार पनि पैसा चाहिं अरूकै खातामा पठाउन लगाउँथे। आफ्नो खातामा चाहिं करोडौं रुपैयाँ हुने भएकाले हिसाबकिताब राख्न गाह्रो पर्ने भन्दै बहाना बनाउँथे।
एकदिन अनुपकुमारले भिसाको सम्पूर्ण प्रक्रिया पूरा भई अमेरिका जाने कुरो टुंगो लागेको र यही खुशियालीमा राजपरिवार सहितको पार्टी आयोजना गर्न लागिएको सुनाए। अनि १६ डिसेम्बरमा सोल्टी होटलमा साँझ ६ बजे ‘ककटेल पार्टी’ मा आउनू भन्दै निम्तो दिए। निम्तोपत्रमा अंग्रेजीमा ‘राेयल बिजनेश टीम’ लेखिएको छाप लगाइएको छ। उनले सुभद्रालाई राजपरिवारको बीचमा बस्नुपर्ने भएकाले त्यस्तै खालका कपडा लगाउन, छोरीहरूलाई लिएर आउन भने। जेठी छोरीलाई पूर्व रानी कोमलले ‘क्राउन’ समेत लगाइदिने बताए।
“क्राउन बनाउन भान्जीको टाउकोको नाप चाहियो भन्दै मागेका थिए,” सुभद्रा सुनाउँछिन्, “पार्टीमा जानकै लागि मैले ३ लाखका त कपडा नै किनें।”
उक्त दिन कुनै पार्टी भने भएन। अनुपकुमारले परिवारमा आन्तरिक झगडा भएर पार्टी रोकिएको खबर पठाए।
अनुपकुमारले पूर्व राजाले लेखेको भन्दै सुभद्रालाई पठाएको पत्र।
अब सुभद्रालाई आफू ठगिएको शंका पस्यो। उनी पैसा र पासपोर्ट फिर्ता माग्न थालिन्। तर अनुपकुमारले अरूलाई नसके पनि कम्तीमा सुभद्रा र छोराछोरीलाई चाहिं पठाउने भनी झुलाउन थाले। सबैको पासपोर्ट दरबार सचिवालयमा रहेको भन्दै अड्काए। उनीहरू नबिच्कियून् भनेर पूर्व राजा ज्ञानेन्द्रले पठाएको भन्दै कागजमा लेखिएको चिठी देखाउन थाले। त्यसमा पनि त्यही छाप लगाइएको थियो । तर जति पर्खिए पनि भिसा आएन। सुभद्राले कानूनी प्रक्रियामा जाने धम्की दिएपछि पुस २८ देखि अनुपकुमार सम्पर्कविहीन भइदिए।
सुभद्राले गत माघ ८ गते अनुपकुमार सिंह, राज केसी, रामचन्द्र खनाल, पैसा हाल्न ब्यांक खाता उपलब्ध गराउनेहरू दीपकराज खनाल, अभिषेक खनाल, सचिन व्यञ्जनकार र किरणसिंह कार्की गरी सात जना विरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएकी छन्। प्रहरीले फागुन ९ गते अनुपकुमार र दीपकराजलाई, फागुन ११ मा सचिनलाई र फागुन १२ मा राजलाई पक्राउ गरेको छ। दीपकराज अधिवक्ता हुन्। अन्य आरोपी फरार रहेको जिल्ला प्रहरी कार्यालय, ललितपुरका एसएसपी श्याम अधिकारी बताउँछन्। “उनीहरूले राजपरिवारसँग सम्बन्ध रहेको भन्दै ठगी गरे पनि अनुसन्धानमा राजपरिवारसँग कुनै कनेक्सन देखिएको छैन,” उनी भन्छन्।