बेसीको बसाइ : बाघ-भालुभन्दा मान्छेको डर
चिसो छल्न लेकबाट बेसी झरेका किसान वन्यजन्तुभन्दा पनि मान्छेबाट भेडा जोगाउन सकस भएको गुनासो गर्छन्।
चिसो याम सकिनै लागेको छ। मीना साउदका बेसी बसाइका दिन पनि सकिनै लागेका छन्। गर्मीको शुरूआतसँगै बेसीबाट लेक उक्लिनेछिन्, भेडाको बथानसँगै। “दुःखका केही दिन मात्र छन्, चैतदेखि त लेकतिर गइहाल्छौं,” साउद भन्छिन्।
उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान हिउँद लागेसँगै बेसी झर्छन्। साउदको परिवार पनि पुस शुरू भएसँगै बेसी झरेको हो। बाजुराबाट अछाम हुँदै डोटी आइपुगेकी उनी हिउँद सकिनै लागेको सुनाउँदा खुशी देखिइन्।
बाजुराको बुढीगंगा नगरपालिका-१०, पाण्डुसेनकी साउद छरछिमेकीसँगै भेडाको बथान लिएर बेसी झरेको बताउँछिन्। “लेकतिर हिउँदमा बादल लाग्नासाथ हिउँ पर्न थाल्छ। हिउँमा पाठा (भेडाको बच्चा)लाई एकदमै गाह्रो हुन्छ,” उनी भन्छिन्, “अर्को, भेडालाई घाँस पनि पाइँदैन, त्यसैले औल झर्छौं।”
यस पटक गत मंसीर ४ मा एकै गाउँका चार परिवार बेसी झरेका थिए। बाजुराको पाण्डुसेनबाट आएका उनीहरू डोटीको दीपायल सिलगढी नगरपालिकास्थित बुडीतोला सामुदायिक वनमा १५० भेडा चराइरहेका छन्। “भेडा पाल्ने त पुर्ख्यौली पेशा नै हो,” उनी भन्छिन्।
साउद हिउँदमा बेसी झर्न थालेको २२ वर्ष भइसकेको छ। पहिले पहिले त लेकबाट बेसी झर्दा रमाइलो लाग्थ्यो। अहिले भने सकस लाग्न थालेको उनी सुनाउँछिन्। “बाजेबज्यै पनि भेडा लिएर औल झर्थे। त्यति वेला वनमा भेडा चराए बापत पैसा तिर्नुपर्दैनथ्यो,” उनी गुनासो गर्छिन्, “अहिले सामुदायिक वनको नियम परिवर्तन भयो भन्दै पैसा लिन्छन्।”
.JPG)
पहिलो सकस वनमै हुन्छ। उनका अनुसार सामुदायिक वनले हरेक वर्ष बढाएर पैसा तोक्छ। पाँच वर्षअघि ३० हजार रुपैयाँ तिरेको उनी सुनाउँछिन्। “दुई वर्ष लगातार ४० हजारका दरले तिरेका थियौं,” उनी भन्छिन्, “पोहोर ४५ हजार रुपैयाँ तिरेका थियौं। यस वर्ष ५० हजार रुपैयाँ तिर्नुपर्यो।”
डोटीका सामुदायिक वनले पैसा असुल्ने भएकाले कतिपय भेडापालक हुम्लातिर जान्छन्। हुम्लातिर पैसा नलाग्ने गरेको उनी सुनाउँछिन्। “हुम्लातिरको वनमा भेडा चराएको पैसा पर्दैन, तर भीरपाखा भएकाले जोखिम धेरै छ,” उनी भन्छिन्, “हुम्लातिर पानी, खानेकुराको पनि समस्या छ।”
पाण्डुसेनबाटै आएकी भेडापालक पार्वती सिंह वनमा भेडा चराउँदा पनि पैसा तिर्नुपरेपछि अप्ठ्यारो भएको बताउँछिन्। १ र ३ वर्षका छोराछोरी बोकेर भेडासँगै बेसी झरेकी उनी सात दिन पैदल हिंडेको सुनाउँछिन्। “हाम्रो काम नै यही हो। भेडा पाल्नै पर्छ। पुर्खाले यही सिकाएर गए,” सिंह भन्छिन्, “भेडाका लागि कहिले तल, कहिले माथि गरिरहनुपर्छ। बेसीमा पनि दुःखै छ।”
उनले भनेको दुःख हो, स्थानीय बासिन्दाको झमेला। पति दीपक सिंह बिहानै भेडा लिएर जंगलतिर जान्छन्। उनी पालमै छोराछोरी र जंगल जान नसकेका भेडासँगै बसिरहेकी हुन्छिन्। तर स्थानीय बासिन्दा र बाटो हिंड्ने मान्छेलाई चिया खुवाइराख्नुपर्छ। “बाटो हिंड्ने सबैलाई चिया खुवाउनुपर्छ। वरपरका मान्छे पनि आएर चिया माग्छन्,” उनी भन्छिन्, “चिया खाएको कसैले पैसा दिंदैन, सबै सित्तैमा दिनुपर्छ।”
भेडापालक किसान पार्वती सिंह।
बस्ने ठाउँमा आउने स्थानीय बासिन्दालाई पनि पाहुना जस्तै सत्कार गर्नुपरिरहेको उनको भनाइ छ। कतिपय गाउँले त सित्तैमा खानेकुरा पाइन्छ भनेर पनि आउने गरेको उनको गुनासो छ। “हाम्रो घरमा आउने सबैलाई पाहुना मानी सित्तैमा चिया खुवाउनुपर्छ। भान्छामा दिनभरि चिया पाक्छ,” उनी भन्छिन्।
यति गर्दा पनि स्थानीय बासिन्दा दुःख दिन्छन्। अलिकति रूखको हाँगा काट्यो भने पनि गाली गर्ने गरेको उनी सुनाउँछिन्। “चिया खान आउँछन्, तर जंगलबाट दाउरा लियो भने कराउँछन्,” उनी भन्छिन्, “पैसा तिरेर बसेका छौं। तैपनि दुर्व्यवहार गर्छन्। सबै सहनुपरिरहेको छ।”
अर्को समस्या हो, भेडाको सुरक्षा। उनीहरूलाई जंगली जनावरको डर लाग्दैन। त्यसमा बानी परिसकेको छ। “हामी जंगलमै हिंड्ने हो, जंगलमै वास बस्ने हो। त्यसैले पूरा तयारीका साथ आउँछौं,” उनी भन्छिन्।
तर भेडाको सुरक्षा गर्न गाह्रो हुने गरेको उनी सुनाउँछिन्। जंगलमा वन्यजन्तुबाट त जसोतसो जोगाए पनि मान्छेबाट जोगाउन भने गाह्रो रहेको उनको अनुभव छ। “मान्छेहरू भेडा चोरिदिन्छन्। धेरैजसो त पाठा चोरी हुन्छन्,” सिंह भन्छिन्, “बाघ-भालुको डर हुँदैन, आएको थाहा पाइहाल्छौं, तर मान्छेले चोरेको पत्तै पाइँदैन।”
.jpg)
उनीसँगै दोर्जे भण्डारी, वीरेन्द्र थापा, लक्ष्मी थापा, राज रोकाया र मीना रोकाया पनि बेसी झरेका थिए। सबै जना सँगसँगै जंगल छेउमा बनाएको त्रिपालको टहरामा बसिरहेका छन्।
उनीहरूको पनि त्यस्तै गुनासो छ। भेडा र पाठा चोरी हुँदा घाटा लाग्ने गरेको सुनाउँछन्। एउटा भेडा कम्तीमा १० हजार रुपैयाँमा बिक्री हुन्छ। ठूलो भेडा २० हजार रुपैयाँमा पनि जान्छ।
चिसो मौसम शुरू भएसँगै हिमाली क्षेत्रमा हिउँ पर्न थाल्छ। स्थानीय बासिन्दा हिउँदे खेती लगाएर मंसीरदेखि बेसी झर्न थाल्छन्। झन्डै तीन महीना बेसीमा बिताएर फागुन अन्तिम साता तथा चैत पहिलो साता आफ्नै थातथलो फर्किन्छन्।
विगतका वर्षमा मंसीर अन्तिमतिर बेसी झर्ने गरेको भए पनि यस पटक छिटै आएको दीपक सिंह बताउँछन्। “यस वर्ष चाँडै चिसो भयो। त्यसैले अलि छिटै हिंड्यौं,” भेडाको बथान बीचमा भेटिएका सिंह भन्छन्, “भेडा चराउँदा रमाइलै हुन्छ।”
पछिल्लो समयमा भने भेडा चोरी हुने गरेकाले समस्या भएको उनी सुनाउँछन्। “पहिले बाघ-स्यालले भेडा लग्ने गरेका थिए, अहिले मान्छेले पनि चोरेर लग्छन्,” सिंह भन्छन्।
.jpg)
जंगली जनावरबाट भेडा र आफ्नो सुरक्षा गर्न कुकुर पालेका हुन्छन्। यो समूहसँग पाँच वटा कुकुर छन्। कुकुरले आफूहरूको सुरक्षा गर्ने गरेको सिंह बताउँछन्। “यी त बाघसँग पनि लड्ने कुकुर हुन्,” उनी हाँस्दै भन्छन्।
यस पटक उनीहरूको बेसी बसाइको अवधि सकिंदै छ। अब डोटीबाट अछामको साँफेबगर, मेल्लेख, दर्ना लगायत विभिन्न ठाउँ हुँदै आफ्नै गाउँ फर्किने योजना बनाइसकेका छन्। बसाइ सर्ने क्रममा खोलानाला, भीरपाखा हुँदै यात्रा गर्नुपर्छ। जंगलमै वास बस्नुपर्छ। अब बेसीमा धेरै दिन बस्नुनपर्ने मीना सुनाउँछिन्। “केही दिनपछि त लेकतिर लाग्छौं,” उनी भन्छिन्, “बाटामा गाह्रोसाह्रो हुन्छ, गाउँ पुगेपछि त आराम भइहाल्छ। दुःखका दिन सकिन्छन्।”