‘नो केबलकार’ पक्षद्वारा काठमाडौंकेन्द्रित आन्दोलनको घोषणा
पाथीभरा (मुक्कुमलुङ) केबलकारको विरोध गरिरहेको ‘नो केबलकार’ पक्षले काठमाडौंकेन्द्रित आन्दोलनको घोषणा गरेको छ।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। संघर्ष समितिले फागुन १७ मा कोशी प्रदेशका सबै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ। त्यस्तै, मधेश प्रदेशमा पनि जनप्रदर्शन र विरोध सभा गर्ने जनाएको छ।
फागुन १८ गते फुङलिङ काण्डबारे संसारभर जानकारी गराइने भएको छ। यसका लागि ‘ग्लोबल जूम’ बैठकको आयोजना गरिएको जनाइएको छ।
त्यसपछि फागुन २१ मा काठमाडौंमा प्रदर्शन गरिने भएको छ। सरकार र आमसमुदायको ध्यानाकर्षण गराउन काठमाडौंमा प्रदर्शन गर्न लागिएको जनाइएको छ।
त्यस्तै, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख विरुद्ध सरकार र संयुक्त राष्ट्रसंघका निकायमा उजुरी दिने पनि तय गरिएको छ।
मुक्कुमलुङ संरक्षकहरूलाई गोली प्रहार गर्दै हिरासतमा लिएर सरकारले ज्यादती गरेकाले अर्को चरणको आन्दोलनको घोषणा गर्नुपरेको गोविन्द याङ्गछुमले बताए।
आन्दोलनका क्रममा माघ १२ गते बलुडाँडामा सुरक्षाकर्मीको गोली लागेर तीन जना घाइते भएका थिए। त्यस्तै, फाल्गुन १० मा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा नौ जना घाइते भएका थिए भने १८ जनालाई प्रहरी नियन्त्रणमा लिएको थियो। अहिले उनीहरू हिरासतमै छन्।
पत्रकार सम्मेलनमा बोल्दै पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र माखेमले धार्मिक धरोहरलाई व्यापारीकरण गर्न खोजेपछि आन्दोलनमा उत्रिनुपरेको बताए।
त्यस्तै, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तोष मेहताले आन्दोलनकारीमाथि स्थानीय प्रशासनले निर्ममतापूर्ण दमन गरेको आरोप लगाए। केबलकार निर्माणको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ।