कुलमानको प्रतिवाद : ऊर्जामन्त्रीले मानमर्दन र हतोत्साह गरे
ऊर्जामन्त्री दीपक खड्काले आफ्नो मानर्मदन गरी हतोत्साही बनाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आरोप लगाएका छन्।
ऊर्जा मन्त्रालयले मागेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिंदै घिसिङले मन्त्रालयबाट आवश्यक सहयोग, समर्थन, प्रोत्साहन र हौसला प्रदान गर्नुपर्नेमा अति गौण र साना विषय उठान गरी असजिलो पारेको बताएका छन्। मानमर्दन गर्ने र हतोत्साही बनाउने गरी पटक पटक स्पष्टीकरण मागिएको उनले जनाएका छन्।
घिसिङको स्पष्टीकरण पत्रमा यस्तो कार्यले राज्यले प्रदान गरेको पदीय दायित्व, जिम्मेवारी तथा स्रोतसाधन र समयको अवमूल्यन भइरहेको जिकिर गरेका छन्। उनले अब यस प्रकारका दुःख र हैरानी दिने काम नगर्न अनुरोध गरेका छन्।
उनले प्रतिकूलता, असहयोग र अवरोधका बावजूद नेपाल सरकारले दिएको जिम्मेवारी कानून अनुसार पूरा गरिरहेको दाबी गरेका छन्।
ऊर्जा मन्त्रालयले फागुन १३ मा घिसिङलाई पदबाट हटाउन २४ घण्टे स्पष्टीकरण मागेको थियो। यसअघि पनि पटक पटक उनलाई पदमुक्त गर्न स्पष्टीकरण मागिंदै आइएको थियो।
विद्युत् प्राधिकरण ऐन अनुसार मन्त्रिपरिषद्बाट चार वर्षका लागि नियुक्त भएकाले आफूलाई कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको घिसिङको तर्क छ। त्यसैगरी, आफूलाई कुन आरोपमा कारबाही गर्न लागिएको हो, त्यसको यकीन नै नभएकाले कसूर यकीन नगरी गोश्वारा आरोप लगाएर कारबाही गर्न नमिल्ने जिकिर गरेका छन्। आफूमाथि लगाइएका आरोप मनोगत भएको पनि उनको भनाइ छ।
कुलमान घिसिङले बुझाएको स्पष्टीकरण :