राराको डाँफे होटलमा आगलागी
मुगुको रारा ताल नजीक रहेको डाँफे होटलमा आगलागी भएको छ।
छायानाथ रारा नगरपालिका-९ स्थित रारा तालछेउमा रहेको डाँफे होटलमा गए राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ। आगलागीबाट थप चार घरटहरा जलेर नष्ट भएका छन्।
आगोबाट काठैकाठको संरचनाले बनेका घरटहरामा क्षति पुगेको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आज बिहान आगो नियन्त्रणमा लिएको छ।
जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक (सई) दीपक केसीको नेतृत्वमा १५ जनाको टोली गए राति नै रारा ताल पुगेको थियो। होटलको भान्साबाट सल्किएको आगोले ग्यासको सिलिन्डर पड्किएको जनाइएको छ। जसले गर्दा धेरै क्षति भएको घटनास्थल पुगेका सई केसीले बताए।
होटलमा रहेका पर्यटकलाई तत्काल उद्धार गरी नजीकैका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो।