डाउन सिन्ड्रोमले नछेकिएको रंगमञ्चको बाटो
‘डाउन सिन्ड्रोम’ अर्थात् बौद्धिक अपांगता भएका व्यक्तिले केही गर्नै सक्दैन भन्ने मान्यतालाई भत्काउँदै प्रतीक घिमिरे भने ६ वर्षदेखि रंगकर्ममा रमाइरहेका छन्।
जन्मिएको केही समयमै चिकित्सकले उनको स्वास्थ्य अवस्थाबारे शंका मानेका थिए। तर आमाबुबालाई सबै कुरा खुलाएर भन्न सकेनन्। बरु बारम्बर नियमित जाँचका लागि अस्पताल बोलाइरहे।
दुई महीना बितिसक्दा पनि अभिभावक अन्योलमै थिए। जति पटक अस्पताल जाँदा पनि औषधि केही नलेखिदिने, तर बारम्बार जाँचका लागि बोलाइरहेपछि मनमा डर र संकोच लिएर बुबा प्रकाश घिमिरेले चिकित्सकलाई सोधिहाले, “के भएको हो बाबुलाई?”
त्यसपछि बल्ल चिकित्सकले कुरा खुलाए, “बाबुलाई ‘डाउन सिन्ड्रोम’ हो कि भन्ने छ। एक पटक विशेषज्ञ डाक्टरलाई पनि देखाउनुपर्यो!”
चिकित्सकको भनाइ सुनेपछि बुबा प्रकाश र आमा तारा घिमिरेको मनमा चिसो पस्न थाल्यो। उनीहरूले केही समयमा अर्को चिकित्सकलाई पनि देखाए। तिनले पनि केही रोग भए/नभएको निर्क्योल गरेनन्। उनले यति मात्र भने, “केही छैन, बिस्तारै ठीक हुन्छ।”
आमाबुबालाई चित्त बुझेन। मनमा उथलपुथल नै थियो। उनीहरू फेरि बच्चालाई लिएर पुरानै चिकित्सकलाई देखाउन गए। त्यसपछि मात्रै चिकित्सकले ‘डाउन सिन्ड्रोम’ नै रहेको बताए।
यतिमै सीमित रहेनन्। चिकित्सकले थपे, “ओछ्यानबाट उठ्न नसक्ने हुन सक्छन्।”
यो सुनेपछि आमाबुबा छाँगाबाट खसे जस्तै भए। उनी जन्मिएकामा खुशी मनाइरहेका अभिभावकका लागि ठूलो बज्रपात परे झैं भयो।
नाटक मुनामदनमा प्रतीक घिमिरे।
अस्पतालबाट घर फर्केपछि बुबा प्रकाशले उनको कानअघि चर्को आवाज बजाइदिए, टिनटिन। यो आवाज सुनेर उनले टाउको घुमाए। त्यति वेला बुबा प्रकाशलाई लाग्यो, “छोराले कान सुन्ने रहेछ, बाँकी बिस्तारै ठीक भइहाल्छ नि!”
अभिभावकको यही आत्मविश्वास र हिम्मतले उनी ‘डाउन सिन्ड्रोम’ को अवस्थाका बावजूद रंगकर्ममा जमिरहेका छन्। उनी अर्थात् प्रतीक घिमिरे।
डाउन सिन्ड्रोमसँगको लडाइँ
प्रतीक २७ वर्षका भए। चिकित्सकको भाषामा उनी बौद्धिक अपांगता भएका व्यक्ति हुन्। उनको अवस्था ‘डाउन सिन्ड्रोम’ को हो।
सामान्यतया एक व्यक्तिमा २३ जोडी अर्थात् ४६ क्रोमोजम हुन्छन्। तर डाउन सिन्ड्रोम भएका व्यक्तिमा थप २१ क्रोमोजोम हुने गर्छन्। जसले गर्दा मस्तिष्कको परिपक्व विकासमा बाधा पुग्छ। नियमित गर्नुपर्ने कामका लागि अरूमा निर्भर हुनुपर्छ। हिंडडुल, बुझाइ र बोलाइमा समस्या हुने गर्छ। ‘डाउन सिन्ड्रोम’ अवस्थामा पनि कतिपयमा गम्भीर त कतिपयमा कम समस्या देखिन्छ।
प्रतीक घिमिरे।
प्रतीकलाई चिकित्सकले ‘हिंड्न सक्दैन’ भनेका थिए। बुबा प्रकाश चिकित्सकको भनाइ मान्न तयार थिएनन्। त्यसैले अनके कोशिश गरिरहे। प्रतीकले १८ महीनामा बल्ल कोल्टे फेरेका थिए। “ओछ्यानबाटै उठ्न सक्दैन भन्थे डाक्टरले, तर १८ महीनापछि फर्कने त भयो,” बुबा प्रकाश छोराको अवस्था सम्झन्छन्।
प्रतीकलाई बोल्न र हिंड्न सिकाउन अभिभावकले अनेक कोशिश गरे। पूरै समय प्रतीकलाई दिए। “हिंडाउन धेरै प्रयास गर्यौं, हिंड्न थाल्यो,” प्रकाश खुशी हुँदै सुनाउँछन्, “अहिले त प्रतीक र म साथी जस्ता भएका छौं।”
प्रकाश र तारा दुवै शिक्षण पेशामा संलग्न थिए। तैपनि समय मिल्ने बित्तिकै प्रतीकसँग खेल्न पुगिहाल्थे। बिस्तारै छोरा प्रतीकका लागि प्रकाश साथी नै बने। अहिले त प्रतीक पनि बुबालाई ‘तिमी’ भनेर नै सम्बोधन गर्छन्।
प्रतीक पटक पटक हराएको प्रकाश सम्झिन्छन्। प्रतीक १० वर्षको हुँदा एक पटक काठमाडौंमा बुबासँग हिंड्दा पनि बाटो बिराए। प्रकाश रुँदै छोराको खोजीमा भौंतारिए। कतै नदेखेर निराश भइसकेका थिए।
केही समयपछि प्रतीक फर्केर आइरहेको प्रकाशले परैबाट देखें। त्यति वेला प्रतीकले प्रकाशलाई भनेका थिए, “तिमी रोको? किन रोको? म रोइनँ, म उता बसें। फेरि फर्किएर आएँ।”
.jpg)
प्रतीक धेरै पटक यसरी नै हराए, आफैं फर्किएर पनि आए। यसले प्रतीकका आमाबुबालाई छोराप्रति हिम्मत र विश्वास बढ्दै गयो।
प्रायः अभिभावकले ‘डाउन सिन्ड्रोम’ भएका बच्चालाई कोठामा थुनेर, लुकाएर राख्ने गर्छन्। कतै हराउला कि भनेर कोठामै हुर्काउँछन्। तर प्रकाशले त्यसो गरेनन्। प्रतीकलाई आफू सरह नै व्यवहार गरे, धैर्य राखे। “प्रतीक मभन्दा धेरै राम्रो मान्छे छ, संवेदनशील छ,” प्रकाश भन्छन्, “अरूलाई कस्तो माया गर्छ, बुझ्छ। म सकारात्मक छु, उसले अझ धेरै गर्न सक्छ।”
अनि प्रतीक बने कलाकार
बुबा प्रकाश शिक्षण पेशासँगै फाट्टफुट्ट नाटक खेल्थे। नाटकसँगै फिल्ममा पनि खेल्न थाले। प्रतीकले दलन टेलिशृंखला हेरेका थिए। जसमा प्रकाशले अभिनय गरेका छन्। प्रतीकलाई दलन खूब मन पर्यो।
त्यसपछि बुबासँगै शूटिङस्थल चहार्दा, बुबालाई रंगमञ्च र पर्दामा हेर्दा प्रतीकलाई पनि कलाकारिताप्रति रुचि जागेको थियो। त्यसो त उनी स्कूलका कार्यक्रममा पनि नाच्थे। कक्षा ९ सम्म अध्ययन गरेका उनी गीत बजेको सुन्दा नाचिहाल्थे।
२०७५ सालमा पोखरा थिएटरमा कलाकार खगेन्द्र लामिछानेको नाटक अटलबहादुरको आंतकको ‘रिहर्सल’ चलिरहेको थियो। प्रकाशको पनि अभिनय रहेको नाटकमा एक प्रहरी पात्रको खाँचो पर्यो। लामिछानेले त्यो कुरा सुनाएपछि प्रकाशले प्रतीकलाई ल्याउने बताए।
नाटक अटलबहादुरको आंतकमा प्रहरीको भूमिकामा प्रतीक घिमिरे।
पहिलो पटक रंगमञ्चमा नाटक खेल्न उत्रिएका प्रतीकले निर्देशक लामिछानेले जेजसरी गर्न लगाए, हूबहू गरिदिए। यसबाट लामिछाने साह्रै प्रभावित भए। त्यसपछि फिल्म पानीफोटोमा पनि प्रतीकलाई अभिनय गराए।
शुरूआतमा क्यामेरा अघि आउँदा कुनै पनि कलाकारलाई सकस हुन्छ। यताउता हेर्ने गर्छन्। प्रतीकले भने क्यामेरा अघि आउँदा पनि आफूलाई दिइएको भूमिकामा राम्रो अभिनय गरेर प्रशंसा बटुलेको प्रकाश सम्झिन्छन्।
त्यसयता प्रतीक अभिनयमा रमाइरहेका छन्। विभिन्न पात्रको भूमिकामा प्रतीकले अभिनय गरिसकेका छन्। रंगमञ्चमा अटलबहादुरको आंतकबाट शुरू भएको उनको यात्रा एक चिहान, बाकस, निरमाया हुँदै अहिले मुनामदनसम्म पुगेको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनमा आधारित नाटक पोखरा थिएटरमा मञ्चन भइरहेको छ।
नाटक एक चिहानमा प्रतीक घिमिरे।
पोखरा थिएटरका अध्यक्ष तथा मुनामदन नाटकका निर्देशक परिवर्तन कलाकार प्रतीक अनुशासित र क्षमतावान् रहेको बताउँछन्। पहिलेभन्दा अहिले प्रतीकको अभिनयमा क्रमिक सुधार आइरहेको उनी बताउँछन्। “सिकाएको विषयलाई ध्यानपूर्वक सुनेर अभिनयमा उतार्ने गरेका छन्,” निर्देशक परिवर्तन भन्छन्, “बौद्धिक अपांगता भएका बालबालिकालाई नाटक, रंगमञ्च ‘आर्ट थेरापी’ हुने गरेको छ।”
कलाकार प्रमिला तुलाचन पनि प्रतीक अभिनयको मामिलामा निकै अनुशासित रहेको सुनाउँछिन्। “डाउन सिन्ड्रोमको अवस्थाका बावजूद प्रतीकले सिकाएका कुरालाई राम्रोसँग टिप्ने गरेको छ,” तुलाचन भन्छिन्।
नाटक मुनामदनमा गाउँले तथा लामा पात्रको भूमिकामा छन्, प्रतीक। पहिलो नाटक अटलबहादुरको आंतकमा प्रहरीको भूमिकामा थिए। त्यसमा प्रकाशको पनि अभिनय थियो। नाटकमा प्रतीकले प्रकाशलाई पक्राउ गर्नुपर्ने दृश्य थियो।
त्यसलाई समेत प्रतीकले राम्रोसँग पूरा गरेको बुबा प्रकाश सम्झिन्छन्। “प्रतीकको अभिनय अझै राम्रो हुन सक्थ्यो। बीचमा म पनि फिल्मको कामले व्यस्त भएँ,” प्रतीकको बलियो पक्ष सुनाउँदै बुबा प्रकाश भन्छन्, “सिकाएको कुरा छिटो टिप्छ।”
जरूरी परिवारको साथ
एक अवस्था हो, डाउन सिन्ड्रोम। अझै डाउन सिन्ड्रोमलाई रोगका रूपमा लिएर ओखती खोज्दै हिंड्ने गरेको पाइन्छ। चिकित्सकहरूका अनुसार यो अवस्था सधैं यस्तै रहन्छ। बरु डाउन सिन्ड्रोम भएका व्यक्तिको जीवनयापनलाई सहज र सामान्य बनाउन सहयोग भने गर्न सकिन्छ।
अभिभावकको साथ, सहयोग, विश्वास र ढृढताले नै प्रतीकको अवस्थामा सुधार आएको हो। जसले गर्दा उनी रंगकर्ममा आबद्ध भए। अहिले कसैमाथि निर्भर नभई दैनिक काम आफैं गर्छन्।
नाटक मुनामदनको टोलीसँगै प्रतीक घिमिरे।
डाउन सिन्ड्रोम भएका बालबालिकालाई लुकाएर हिंड्ने, थुनेर राख्ने गर्दा अवस्था झन् गम्भीर हुने बुबा प्रकाश सुनाउँछन्। “छोराको अवस्थाबारे कहिल्यै लुकाइनँ, खुलाएरै हिंडें,” प्रकाश खुशी हुँदै भन्छन्।
प्रतीक बुबासँगै रंगकर्ममा रमाइरहेका छन्। “प्रतीक त सधैं मेरो साथैमा हुनेछ,” प्रकाश गम्भीर हुँदै भन्छन्, “चिन्ता चाहिं एउटै कुराको हो, हामी नहुँदा के होला भन्ने छ।”
पोखरा थिएटरमा कलाकार प्रकाशसँग कुराकानी गरिरहँदा प्रतीक भने ध्यानपूर्वक सुनिरहेका थिए। बुबाले छोराको भविष्यबारे चिन्ता जनाउँदा प्रतीक भने जुरुक्क उठे, मुसुक्क मुस्कुराउँदै नाटकघरतर्फ लागे।