के यो ‘थारू पुरुष महोत्सव’ हो?
जिन्दगीभर सरकारसँग थारू समुदायको समावेशिताको माग गर्दै, लेख्दै आएका बौद्धिक व्यक्तिहरूले आयोजना गरेको थारू साहित्य राष्ट्रिय सम्मेलनमा महिला वक्ता नै भेटेनछन्।
पितृसत्तात्मक मानसिकता हेर्न धेरै टाढा जानै पर्दैन, आफ्नो घरआँगन र छेउछाउमा हेरे पुग्छ भन्थे, यसपालि त्यस्तै भयो। यही फागुन १६ गतेदेखि हुन लागेको नवौं थारू साहित्य राष्ट्रिय सम्मेलनमा वक्ताका रूपमा बहुसंख्यक पुरुष छन्। २९ वक्ताको भीडमा एक मात्र महिला छिन्। अर्की एक महिलालाई सहजकर्ताका रूपमा राखिएको छ।
बर्दियाको राजापुरमा हुन लागेको सम्मेलनका निम्ति तय गरिएका आठ वटा प्यानल छलफलमा २८ पुरुष वक्ताले ‘थारू मुक्ति र समावेशिता’ बारे प्रवचन दिनेछन्। हरेक वर्ष हुने सम्मेलनमा वक्ताका रूपमा छनोट हुने अधिकांश व्यक्ति यसपालि पनि दोहोरिएका छन्। दोहोरिएको मात्र होइन, अरू मान्छे नै नभए जसरी आयोजक संस्था थारू लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारी आफैं दुई वटा ‘सेसन’ (सत्र) मा छन्। त्यस्तै, गोपाल दहित र शेखर दहित पनि दुई वटा सत्रमा रहेको सम्मेलनको तालिकामा उल्लेख छ। यसरी हेर्दा यो सम्मेलन ‘थारूनके बगाल’ (पुरुषको समूह) हुन गएको छ।

यो दृष्टान्तले थारू समाजलाई अगाडि डोर्याउने भनिएको विद्वत् संस्था ‘थारू लेखक संघ’ थारू महिला बोल्न र लेख्न सक्ने हैसियतमा छैनन्, सामाजिक र सांस्कृतिक मुद्दामा सचेत छैनन् भन्ने मानसिकताबाट अझै मुक्त हुन नसकेको देखाउँछ। तर यथार्थ चाहिं, थारू समुदायले लड्दै आएका हरेक मोर्चामा थारू महिलाको सधैं महत्त्वपूर्ण भूमिका रहँदै आएको छ।
थारू समुदाय राज्यका अंगहरूमा समानुपातिक सहभागिताका निम्ति लड्न थालेको दशकौं भइसकेको छ। देशको चौथो ठूलो जनसंख्या ओगट्ने (१८ लाख सात हजार १२४) यो समुदायले संगठन नै बनाएर ‘थारू कल्याणकारी सभा’ मार्फत लड्न थालेकै ७६ वर्ष भइसकेको छ। थारू समुदायले लामो समयदेखि राष्ट्रिय स्तरमा पहिचान र अधिकारको माग गरिरहेको छ। यस समुदायका नेताहरू, सामाजिक संघसंस्था र साहित्यिक समूहहरूले राष्ट्रिय नीति निर्माणमा आफ्नो स्थान सुनिश्चित गर्न निरन्तर आवाज उठाउँदै आएका छन्। संघर्षको आधा शताब्दी बितिसक्दा पनि थारू समुदाय दशकौं पुरानो मुद्दामा अझै आन्दोलन गरिरहनुपर्ने अवस्थामा छ। उनीहरू कहिले मुक्त कमलरीको पुन:स्थापनाका लागि आन्दोलन गरिरहेका छन्, कहिले भूमि अधिकार माग्दै काठमाडौं धाएर धर्ना कसिरहेका छन्। थारू साहित्य राष्ट्रिय सम्मेलनलाई पनि आन्दोलनकै एउटा महत्त्वपूर्ण पहलका रूपमा लिइन्छ। तर सम्मेलनका प्यानल छलफलमा थारूका महत्त्वपूर्ण मुद्दा र त्यससँग जोडिएका व्यक्तिहरूलाई ठाउँ दिइएकै छैन।
थारू पहिचान स्थापित गर्न छातीमा गोली थाप्न समेत पछाडि नहट्ने थारू आन्दोलनकारीहरू हरदम संघर्षमा देखिन्छन्, भेटिन्छन्। माओवादीको दशक लामो सशस्त्र संघर्षमा ‘थारुवान मुक्ति मोर्चा’ को झन्डामुनि लामबद्ध भई ज्यानको बाजी लगाएकाहरूको लामो सूची छ। द्वन्द्वकालमा बर्दियामा बेपत्ता पारिएका थारू परिवारहरूको अझैसम्म बेहाल छ। तैपनि थारू लड्न छाडेका छैनन्। थारू स्वायत्त प्रदेशको माग राख्दा २०७२ सालमा टीकापुर घटना भयो, जसले राष्ट्रिय राजनीतिको जग नै हल्लाइदिएको थियो। यी सबै संघर्षमा थारू पुरुषहरू सरह मैदानमा खट्ने सयौं महिला थिए। के ती यस्ता सम्मेलनका वक्ता हुन लायक थिएनन्? के समावेशिता राज्यमा मात्र खोजिएको हो, समुदायभित्र र घरभित्र होइन? कि सत्तासम्म पुग्न र आफ्नो नामका लागि मात्र समावेशिताको मुद्दा उठाइएको थियो?
थारू साहित्य राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य थारू साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्नु हो। यो सम्मेलन थारू समुदायले सिर्जना गरेका कथा, कविता, नाटक र गीतसंगीतलाई उजागर गर्ने र समुदायको परम्परागत आख्यान र अन्य सिर्जनालाई नयाँ पुस्तासम्म पुर्याउने भनी आयोजना गरिएको हो। लिखितभन्दा पनि मौखिक संस्कृति भएको समुदाय हो, थारू। बर्किमार (पौराणिक गीत), गुर्बाबक जर्मौटी (सृष्टि गीत) जस्ता पुराना सिर्जना पुस्तौंपुस्तादेखि कण्ठस्थ पारेर गाउँदै बचाउँदै आइएको छ। सम्मेलनमा बर्किमार सम्बन्धी पनि एउटा सत्र राखिएको छ, तर त्यसमा पौराणिक गीतहरू मुखाग्र पारेकी गायिका सोमती थारूलाई समेटिएन। उनले गाउँदै आएको गीतलाई अक्षरमा ढालेका पुरुष लेखकहरूलाई विज्ञका रूपमा सत्रमा विराजमान गराइएको छ। के थारू बौद्धिकहरूले सोमती जस्ता थारू परम्परा धान्दै आएका कलाकारका कुरा सुन्नु पर्दैन?
पुरुष निर्णय हावी
थारू समुदायको सामाजिक र सांस्कृतिक संरचनामा पुरुषलाई प्रमुख स्थान दिइन्छ। इतिहास र परम्परामा आधारित पुरुषसत्ताको अभ्यासले महिलालाई सीमित भूमिका दिएको छ। परम्परागत मूल्य र व्यवहारले गर्दा अधिकांश महिलालाई घरपरिवार र दैनिक कामकाजमै सीमित राखिन्छ। यसका कारण उनीहरूले सार्वजनिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन पाएका छैनन्। थारू समाजका विभिन्न तह, पारिवारिक संरचना र नेतृत्वका पदमा पुरुषप्रधानता देखिन्छ। यस्तो पितृसत्तात्मक मान्यताले महिला प्रतिभा, सिर्जनात्मकता र नेतृत्व विकासमा अवरोध गरेका छन्। साहित्य सम्मेलनमा पनि त्यही मानसिकता देखिन पुग्यो। महिला अस्तित्वलाई उपेक्षा गर्ने वा उनीहरूको विचारलाई तल्लो दर्जामा राख्ने प्रवृत्ति अपनाइयो।
सम्मेलन आयोजनामा प्रायः परम्परागत नेतृत्व संरचना र पारिवारिक सम्बन्धहरूको प्रभाव देखिन्छ। वक्ताहरूको चयनमा पनि पारम्परिक र रूढिवादी सोच हावी देखिन्छ। त्यसैले महिला र युवा प्रतिभाको आवाजलाई बेवास्ता गरिएको छ। थारूभाषी साहित्यमा हुर्किरहेको नयाँ विचारलाई लगभग खारेज नै गर्न खोजिएको देखिन्छ।
यसअघिका सम्मेलन पनि थारू पुरुषकै भेला जस्तो थियो। थारू महिलालाई सहजकर्ताभन्दा बढी भूमिका दिइँदैनथ्यो, दिइए पनि आफ्ना निकट र निश्चित समूहकालाई दिइन्थ्यो। थारू महिलाहरूले विज्ञ हुने हैसियत बनाउन नसकेकै हुन् त? घोत्लिएर हेर्दा त्यस्तो देखिंदैन। राजनीति, साहित्य, कला, संगीत, पत्रकारिता जस्ता क्षेत्रमा थारू महिलाहरूको उपस्थिति छ। थोरै छन्, तर जति छन् ती सबै योग्य र क्षमतावान् छन्। के तिनलाई संलग्न गराउन सकिंदैनथ्यो? समुदायभित्रकै साहित्यिक कार्यक्रमहरूमा महिला, युवा र अन्य सांस्कृतिक समूहलाई नसमेटिएपछि थारूले कुन नैतिकताको आधारमा सरकारसँग समावेशी प्रतिनिधित्वको माग राख्ने?
जबसम्म थारूभित्रका विविध आवाजलाई समान महत्त्व दिइँदैन, तबसम्म थारू साहित्य सम्मेलनले आन्तरिक समावेशीकरणको लक्ष्य हासिल गर्न सक्दैन। थारू समुदायका बौद्धिक मानिने पुरुषहरूले समावेशिता सहितका मुद्दामाथि चर्का कुरा गर्ने तर समान अवसर नदिने विरोधाभासी व्यवहार देखाउँदा तिनले उठाएका मुद्दालाई पनि प्रश्नको घेरामा पार्छ। त्यसले आन्दोलन कमजोर बनाउँछ। बौद्धिक व्यक्तिहरूको शिक्षाको स्तर जति माथि पुगे पनि तिनमा के परिवर्तन आयो, समाज र समुदायलाई तिनले कसरी बुझिरहेका छन् भन्ने कुराले ठूलो अर्थ राख्छ। साहित्य सम्मेलनको असमावेशी तस्वीरले सावित गर्यो- थारू पुरुष बौद्धिकमा अझै पनि संकुचित सोच नै रहेछ।
शिक्षा र सामाजिक चेतनाको कमीले पितृसत्तात्मक सोचलाई बलियो बनाउने तर्क गरिन्छ। तर आयोजक संस्थाका अध्यक्ष सर्वहारी स्वयं लामो समय समानताको विषयमा लेख्दै आएका र विद्यावारिधि गरेका व्यक्ति हुन्। गोपाल दहित पनि त्यही श्रेणीका हुन्। यी बौद्धिक व्यक्तिलाई महिला र युवा सहभागिताको हेक्का नभएको हो कि जानीबुझी नै सहभागी नगराइएको हो? अहिले आफ्नो क्षेत्रमा नाम कमाएका विभिन्न थारू महिला छन्। तर यी बौद्धिक जनले ती महिलालाई कसरी देखेनन्? आशा छ, यस्तो प्रश्न घरीघरी गर्न नपरोस्।
यो पनि पढ्नुहोस्- छोरीले सुन्नै हुँदैन भन्ने बर्किमार गाउँछिन् सोमती