महाकविको ‘मुनामदन’ पोखरामा नयाँ अवतारमा
महाकवि लक्ष्मीप्रसाद देवकोटाले नौ दशकअघि लेखेको मुनामदनलाई पोखरेली कलाकारले फरक शैली र नयाँ अवतारमा रंगमञ्चमा उतारेका छन्।
हातका मैला सुनका थैला, के गर्नु धनले।
साग र सिस्नु खाएको बेस, आनन्दी मनले।।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य मुनामदनका यी पंक्ति नौ दशकदेखि नेपाली जनजीवनसँग जोडिंदै आएका छन्। विसं १९८२ चैतमा ब्रह्मशमशेर राणाले प्रकाशन गरेको मुनामदनको वियोगान्त प्रेमकथाको सारांश पनि यही हो।
धन कमाउन ल्हासा पुगेको मदन फर्किएर आउँदा आफ्नो सबथोक गुमाइसकेका हुन्छन्। नौ दशकअघि र अहिलेको नेपाली जनजीवनमा धन कमाउन विदेशिने बाध्यता उस्तै छ। उहिले मदनहरू ल्हासा जान्थे भने अहिले ‘मुनामदन’ हरू नै परदेश गइरहेका छन्।
नेपाली समाजलाई पिरोल्दै आएको यही व्यथा बोकेको महाकवि देवकोटाको खण्डकाव्य मुनामदन ९० वर्षपछि फरक अवतारमा आएको छ, पोखरेली रंगमञ्चमा। पोखरेली कलाकारले महाकविको मुनामदनलाई फरक स्वाद र नयाँ अवतारमा पोखरा थिएटरमा पुनर्जीवन दिएका छन्।
.jpg)
सारंगी रेट्दै एक युवक मञ्चमा झुल्किन्छन्। विरही भाकामा मुनामदनको कथा सुनाउन थाल्छन्। उनैको सारंगीको धुनमा कथा अघि बढ्छ।
मुना, मदन, मदनकी आमा, नैनी दिदी, भोटे लगायत महाकविका पात्रहरू बिस्तारै मञ्चमा आआफ्नो कथा लिएर आइपुग्छन्। त्यसपछि उनीहरूले दर्शकलाई नौ दशकअघिको समाजमा लैजान्छन्। उनीहरूको यात्रासँगै कतै आँसु झर्छ, कतै हाँसो छुट्छ, कतै गम्भीर बनाउँछ त कतै झस्काउँछ।
मुनामदनको कथालाई पोखरेली मञ्चमा पोखरा थिएटरले पस्किएको हो। यो वियोगान्त कथा जीवन्त बनेको छ। पोखरा थिएटरका संस्थापक परिवर्तनको परिकल्पना तथा निर्देशनमा मुनामदनले नयाँ अवतार पाएको छ।
.jpg)
नेपालदेखि ल्हासासम्म मदन र उनका साथीहरूले गरेका कठिन यात्रालाई ध्वनि, प्रकाश र ‘प्रप्स’ को माध्यमबाट यथार्थपरक बनाउने उत्कृष्ट प्रयास गरिएको छ। नाटकमा प्रयोग गरिएको गीति लयले दर्शकलाई बाँधिराख्छ।
कलाकारहरूको बेजोड अभिनयले मुनामदनको सारलाई न्याय दिएको छ। मुख्य पात्र मदनको भूमिकामा परिवर्तन छन् भने मुनाको भूमिकालाई कृष्टि गुरुङले जीवन्त बनाएकी छन्। त्यस्तै, प्रमिला तुलाचन, रमेश तिमिल्सना, रञ्जु दाहाल, धनकाजी श्रेष्ठ, प्रकाश रेग्मी, दिलबहादुर थापा, उत्सर्ग सुवेदी, विकास फगामी मगर, विष्णु कार्की, विदिशा न्यौपाने, अर्जुन शर्मा, विनिता बयलकोटी, राहुल श्रेष्ठ, प्रतीक घिमिरे, अभिषेक भुषाल, श्रीकृष्ण भण्डारी र आविरा अधिकारीको अभिनय पनि प्रशंसनीय छ।
मिलन गिरीको ध्वनि, शब्द संयोजन तथा लय संकलनले मुनामदनको यात्रालाई जीवन्त बनाउन सघाएको छ। किशोर सुवेदीको गायनमा रहेको मुनामदनको गीतमा देवेन्द्र ढकालले संगीत भरेका छन् भने आर्जव पौडेलले बाँसुरी र टुङ्नाको मिठास थपेका छन्।
पृष्ठभूमिमा गीतको धुनमा बज्ने महाकवि देवकोटाका काव्यका हरफले दर्शकको मन छुन्छन्। यस पटक मुनामदन नयाँ शैलीमा प्रस्तुत गर्न खोजिएको निर्देशक परिवर्तन सुनाउँछन्। झ्याउरे संगीतको लयमा रहेको मुनामदनलाई पोखरेली रंगमञ्चमा शास्त्रीय संगीतको धुनमा महसूस गर्न सकिन्छ।
.jpg)
पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा फागुन ९ गतेदेखि शुरू भएको नाटक फागुन २४ सम्म हेर्न सकिनेछ। बुधबार बाहेक हरेक दिन बेलुका ५ बजे मञ्चन भइरहेको नाटक शनिबार भने दिउँसो १ बजे पनि हेर्न सकिन्छ।
सारंगी रेट्दै मञ्चमा उभिने युवकले मुनामदनको कथा भन्दै जाँदा एक घण्टा ४५ मिनेट बितेको पत्तै हुँदैन। मुनामदनसँगै यात्रा गर्दा दर्शक मात्र होइन, कथा कहने युवक पनि सारंगीको धुनसँगै सोचमग्न हुन्छन्।
सोच्दासोच्दै बरालिने, दोमन पो भए।
साथीसँगी दाजुभाइ, सबै ल्हासा गए।।
माया हो कि, हो ठूलो धन।
त्यही कुराले, बनायो दोमन।।