समाज बदलिंदै गयो। सबै जना आफ्नो दुःख बेच्न थाले। श्रीमान् बितेको एक घण्टा नबित्दै श्रीमती रोएको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखिरहेकी छिन्। बुबाको मृत्यु भएको छ, छोरा कोरा बसेरै टिकटक बनाइरहेका छन्।
राधिका अधिकारी
बिर्ख विश्वकर्मा लोकगायक हुन्। जुम्लाबाट काठमाडौं आएर संगीत कर्म गर्दै आएका उनलाई केही मान्छेले चिनेका थिए। केही सांगीतिक अवार्ड पनि जम्मा गरेकै थिए। सामाजिक सञ्जालमा एकदिन उनले आफूलाई क्यान्सर लागेको घोषणा गरे। मृत्युको मुखमा पुगेको बताउँदै बिलौना गरे, “उपचार गरेर जीवन बचाउन मसँग पैसा छैन।”
उनले रोएको, उपचार गराउन भन्दै जहाजमा चढेको फोटो, भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरे। त्यसपछि मनकारी नेपालीको मन पग्लिहाल्यो। देश तथा विदेशमा रहेका नेपालीले उनलाई आफ्नो गाँसै काटेर सहयोग गरे। सहयोगका लागि कलाकारहरूले अभियान नै चलाए। लाखौं रुपैयाँ सहयोगका नाममा आउन थालेपछि उनले ह्वीलचेयरमा बसेका तस्वीरहरू कहिले विमानस्थलबाट त कहिले अस्पतालको चौर र डेराबाट सार्वजनिक गरिरहे। तस्वीरहरूमा उनले आफ्नो भावना बेचे, त्यसैमा भावुक भएर सहयोगी हातहरूले मुठी खोले। तर कसैले बुझ्न खोजेनन्, उनलाई साँच्चै क्यान्सर भएको हो कि होइन?
सामाजिक सञ्जालमा ओइलाएको अनुहार, आँसु टिलपिलाएका आँखा लिएर उनले सहयोगको याचना गरिरहे। अस्पतालको बेडमा सुतेका फोटा, औषधिका बिल, चिकित्सकका रिपोर्ट- यी सबैसँग उनले जोडे, “यो संसारमा मेरो कोही पनि छैन।” उनले भनेका थिए, “तपाईंको सानो सहयोगले मेरो जीवन बच्न सक्छ।” मानिसहरू भावनात्मक रूपमा यसरी जोडिए कि उनको त्यो आँसु बनावटी हो भनेर बुझ्नै सकेनन्।
प्रशंसकहरूले प्रेम बाँडे। उनीसँगै आँसु खसाले। उनको उपचारका लागि मोडल सञ्चिता शाही भावनात्मक रूपमा जोडिइन्। बिर्खलाई आफूले भाइटीका लगाएको भन्दै भाइको उपचारका लागि खर्च जुटाउन उनले सञ्जालमा अपील गरी दाताहरू खोज्न थालिन्। बजारमा भावनाको आयतन थप बढेर गयो। सहयोग गर्नेहरूको मन चौडा हुँदै गयो। चन्दा अभियान चलाएर सहयोग जुटाउने क्रमले तीव्रता पायो। कसैले सय, कसैले हजार, कसैले लाखौं रकम दिए।
तर समयले सत्यको पटाक्षेप गरिदियो। बिर्खको आन्द्रामा घाउ भएको थियो, एक पटक उपचार पनि गराएका थिए। तर उनलाई क्यान्सर भएको थिएन। न औषधि चलेको थियो न उनले क्यान्सरको कुनै उपचार गराएका थिए। उनले क्यान्सर भएको झूटो दाबी गरेर भावनाको व्यापार गरेका रहेछन्।
मोडल सञ्चिता शाही ।
बिर्खले गरेको भावनाको व्यापारबाट सयौं नेपाली ठगिए। मन फुकाएर सहयोग गरेकाहरू, सँगै आँसु बगाएकाहरू ठगिएको बताइरहेका छन्। उनीहरू आक्रोशित छन्। ठगीमा जोडिएको आरोप लाग्न थालेपछि बिर्खकी धर्मदिदी भन्दै उनीसँगै भिडिओमा, अस्पतालमा देखिएकी मोडल सञ्चिताले पनि एक भिडिओ मार्फत आफूलाई बिर्खले झूट कुरा गरेर झुक्याएको भन्दै चन्दादातासँग माफी मागेकी छिन्। बिर्खले ब्लड क्यान्सर लागेको, उपचार खर्चको अभाव भएको र परिवारमा कोही पनि नभएको भन्दै सहयोगको याचना गरेपछि आफू भावनामा बहकिएर उपचार खर्च जुटाउने अभियानमा जोडिएको उनले बताएकी छिन्। तर सञ्चिताको कुरामा पनि विश्वास गर्ने आधार भेटिंदैन। बिर्खसँगै धेरै ठाउँमा देखिएकी उनले यति लामो समयसम्म केही थाहा पाइनँ भन्दा अचम्म मात्र होइन, हास्यास्पद समेत लाग्छ।
बिर्खसँग वास्तविकता बुझ्न खोज्दा कुनै प्रतिक्रिया नदिएको अमेरिकामा बस्दै आएका लोकगायक विमल डाँगीले बताएका छन्। उनले अमेरिकामा बस्दै आएका नेपालीहरूसँग सहयोग मागेर एक लाख रुपैयाँभन्दा बढी रकम सहयोग गरेको पनि जानकारी दिएका छन्। बिर्खले आफू बिरामी भएको, अस्पतालमा रहेको, नाकबाट रगत बगेर गाह्रो भएको लगायत ‘इमोस्नल ब्ल्याकमेल’ गरेर पैसा मागेको देखिन्छ। डाँगीले बिर्खले भनेका यी सबै कुराको स्क्रीनशट राखेर भिडिओ बनाएका छन्।
उसो त उनले सहयोग माग्न थालेपछि दिक्क भएर धेरैले उनलाई सामाजिक सञ्जालमा ब्लक गरेका थिए। उनले ३००/४०० मात्रै भए पनि सहयोग गर्न भन्ने गरेका थिए। तारन्तारको मेसेजले हैरान भएका कतिले उनलाई ब्लक गरे। ब्लक गर्नेहरूको स्क्रीनशट बिर्ख आफैंले सामाजिक सञ्जालमा राख्ने गरेका थिए।
बिर्खलाई सहयोग गर्ने अभियानमा जोडिएकाहरूको हिसाब छ, उनका लागि एक करोड रुपैयाँभन्दा धेरै दिइसकेका छन्। उनी भने चूप बसेका छन्। अभियान चलाएकाहरूले पैसाको हिसाबकिताब खोज्दा फोन काट्छन्। उनले भनेका छन्, “अस्पतालको मेरो सबै रिपोर्ट हरायो।” सहयोग अभियानमा जोडिएकाहरूले प्रहरीमा जाने बताइरहेका छन्।
बिर्ख विश्वकर्मा अहिले चर्चामा आएका एक पात्र मात्रै हुन्। यहाँ यसैगरी भावना बिक्रीमा राख्नेको ठूलो जमात सिर्जना भइसक्यो। विक्रेता मात्र होइन, क्रेताको पनि ठूलो संख्या छ। यो बजारमा भावनाको ठूलो मोलमोलाइ हुन्छ। विक्रेताहरू फाइदामा छन्। बिर्खहरूको पसल मौलाएकै छ।
आजको डिजिटल युगमा हाम्रो जीवन मात्र होइन, हाम्रो भावना पनि सामाजिक सञ्जाल मार्फत सार्वजनिक भइरहेका छन्। खासगरी वेदना, आँसु र संवेदनालाई कतिपयले अरूको सहानुभूति बटुल्ने साधन बनाइरहेका छन्।
केही समय अघि फर्कौं, गुल्मीका विनोद खड्काले रोगले थलिएकी श्रीमती अनिता जीसीका अनेक भिडिओ बनाए। विनोदको साथमा उनका परिवार नै देखिए। उनी श्रीमतीलाई खाना खुवाएको, सिंगान पुछिदिएको, लड्न खोज्दा भर दिएको, सुताएको, उठाएको सबै भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्थे। दुःखबिमार पर्दा आफ्नो परिवारका सदस्यको रेखदेख र स्याहार गर्नु जोकसैको दायित्व हो भन्ने कुरा हामीले बिर्सिदियौं र विनोदलाई देवत्वकरण गर्यौं। उनीमाथि पनि थुप्रैले पैसाको खोलो बगाए। उनले करोडौं रकम कमाए, घर बनाए अनि रोगी श्रीमतीलाई ओछ्यानमा छाडेर दोस्रो विवाह गरे। यसपछि पनि उनले भावनात्मक व्यापार गर्न छोडेनन्। कान्छी श्रीमतीलाई अनेक गर्न लगाएर भिडिओ पोस्ट गरे।
विनोद र अनिताबीच २०७२ सालमा विवाह भएको थियो। यसको दुई वर्षपछि उनीहरूबाट छोरीको जन्म भयो। २०७७ जेठमा अनिता गम्भीर बिरामी परिन्। अचानक चर्को टाउको दुखाइबाट शुरू भएको अनिताको पीडादायी यात्रा कैयौं समय अस्पताल बसाइपछि घरको कोठामा सीमित भयो। चिकित्सकहरूले ‘ब्रेन ह्यामरेज’ पुष्टि गरे। अनिताको टाउकाको शल्यक्रिया भयो।
झन्डै ६ महीना अस्पताल राख्दा पनि सुधार नदेखिएपछि वैतरिणी समेत गरियो। विनोद अनिताको सेवामा रातदिन खटिए। तर उनले कहिल्यै छुटाएनन्, श्रीमतीको सेवा गरेको भिडिओ बनाउन। ती भिडिओले धेरैको मन खिचे। विनोदले ‘मायालु श्रीमान्’ का रूपमा प्रशंसासँगै ठूलो आर्थिक सहयोग पाए। श्रीमतीप्रति अगाध सेवाभाव देखाएर भावनात्मक व्यापार गरेका विनोदले अनितालाई स्याहार्न मुश्किल परेको भन्दै केही समयअघि अर्को विवाह गरे। अशक्त श्रीमतीको स्वीकृति भन्दै गैरकानूनी विवाह गरेका उनलाई बधाई र शुभकामनाको ओइरो लाग्यो। देशका ‘फेमिनिस्ट’ देखि सामाजिक अभियन्तासम्मले ठीकै गरेको तर्क गरे। यसबाट थाहा हुन्छ, हामी भावनात्मक रूपमा कति बहकिन्छौं र ठगिन्छौं भन्ने।
विनोदले जस्तै अशक्त आफन्तलाई प्रयोग गरेर भावनात्मक व्यापार गर्ने अरू थुप्रै छन्। जसलाई हामी सहयोग गरिरहेकै छौं। देवत्वकरण गरिरहेकै छौं। समस्यामा परेकालाई सहयोग गर्नु मानवता हो। तर जसरी हामी सहयोग लिइरहेका छौं, के त्यो ठीक छ त?
कुनै वेला समाजमा दुःख व्यक्तिगत विषय मानिन्थ्यो। आफ्नो दुःख सीमित व्यक्ति र साथीसँगीसँग मात्र बाँडिन्थ्यो। तर अहिले फेसबूक, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा दुःखलाई ‘कन्टेन्ट’ बनाउने प्रवृत्ति मौलाइरहेको छ। कसैले माया गुमाउँदा, कसैले अभिभावक गुमाउँदा, कसैले जीवनको कुनै अति पीडादायी घडीमा पनि मोबाइलको क्यामेरा अन गरेर पोस्ट गर्नुलाई सामान्य रूपमा हेर्न थालिएको छ। सामाजिक सञ्जाल आफ्ना भावना अभिव्यक्त गर्ने माध्यम हो, वा सहानुभूति बटुल्ने र आर्थिक उपार्जन गर्ने औजार?
भावना देखाउनु गलत होइन। तर संवेदनशील क्षणमा सामाजिक सञ्जालकै शरण लिनुपर्ने बाध्यता किन महसूस भइरहेको छ? आफ्ना नजीकका मान्छेसँग दुःख बाँड्नुभन्दा हजारौं अपरिचित मानिससँग आँसु बगाउनु के साँच्चै आवश्यक छ? समाजमा अहिले ‘दुःखको व्यापार’ बढिरहेको छ। सामाजिक सञ्जालले हामीलाई हरेक पल ‘डकुमेन्ट’ गर्न सिकाएको छ, जसले गर्दा हामी ‘अनुभूति’ भन्दा ‘प्रस्तुति’ मा बढी ध्यान दिन थालेका छौं। समय यस्तो आइसक्यो, हृदयविदारक घटनालाई समेत ‘भाइरल कन्टेन्ट’ बनाउने प्रतिस्पर्धा हुन थालिसक्यो।
एकाथरी आफ्नो संवेदना आफैं बेचिरहेका छौं, अर्काथरीका संवेदना बेच्ने दोकान प्रशस्तै छन्। पैसाका लागि मात्रै होइन, ‘अटेन्शन’ का लागि पनि मानिस अरूको संवेदना बेचिरहेका छन्। भर्खरैको कुरा हो, फागुन ९ गते अभिनेता दिलीप रायमाझीका बुबाको निधन भयो। सहानुभूति दिन पुगेका पुष्कर लामाले रायमाझीले बुबाको शव बोकेर हिंडेको फोटो र भिडिओ बनाए। फेसबूकमा हाले। बुबाको चिता अगाडि नै दिलीपलाई ताने, अंकमाल गरेर फोटो खिचे। त्यो पनि फेसबूकमा हाले। हिजोआज आफन्तको शोकमा सान्त्वना दिन पुगेकाहरू यसैगरी फोटो, भिडिओ बनाउँछन् र फेसबूकमा हाल्छन्।
हिजोआज किरियापुत्रीलाई सान्त्वना दिन जानेहरू मृतकको फोटो राखेको ठूलो फ्रेम बोकेर पुग्छन् र किरियापुत्रीलाई लाइन लगाएर फोटो खिच्छन्, भिडिओ बनाउँछन् अनि सामाजिक सञ्जालमा हाल्छन्। यसरी पीडामा सहानुभूति दिएको पनि प्रचार गर्नुपर्ने अवस्थामा हामी कसरी पुग्यौं? अझ कतिले त आफन्त गुमाएको चोटमा रहेकाहरूलाई माइक तेर्स्याएर उहाँ कस्तो हुनुहुन्थ्यो, के भएर यस्तो भयो, तपाईंलाई अहिले कस्तो लागिरहेको छ भनेर सोध्ने गर्छन्।
ओशो तपोवनमा सन्न्यास लिने क्रममा अभिनेत्री शिल्पा पोखरेलको फोटो र भिडिओ सामाजिक सञ्जालमा निकै छायो।
ध्यान र योगका नाममा पनि हिजोआज अरूको भावनाको व्यापार गर्ने प्रचलन मौलाएको छ। केही दिनअघि अभिनेत्री शिल्पा पोखरेलको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। उनी मनको शान्ति खोज्दै ओशो तपोवन पुगेकी थिइन्। त्यहाँ उनी रोइन्, हाँसिन्, बेहोश भइन्। उनका यी सबै संवेगलाई बडो मिहिनेतका साथ खिचेर सामाजिक सञ्जालमा पोस्ट गरियो। यो भिडिओ उनी आफैंले पोस्ट गरेकी थिइनन्। तर भिडिओ पोस्टमा आएका प्रतिक्रिया उनलाई मानसिक तनाव दिने खालका छन्। यसअघि एलिना चौहान, बेनिशा पौडेल, नम्रता सापकोटा लगायत यसैगरी ओशोको शरणमा पुगेका थिए। उनीहरूका पनि यसैगरी भिडिओ सार्वजनिक भएका थिए। ती भिडिओका कारण उनीहरूले भोग्नुपरेका सबै अवस्थाका बारेमा हामी जानकार छौं। ओशो तपोवन मात्र होइन, अरू ध्यान केन्द्र, धार्मिक अनुष्ठानको पनि अवस्था उस्तै छ।
समाज बदलिंदै गयो। सबै जना आफ्नै दुःख बेच्न थाले। श्रीमान् बितेको एक घण्टा नबित्दै श्रीमती रोएको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखिरहेकी छिन्। बुबाको मृत्यु भएको छ, छोरा कोरा बसेरै टिकटक बनाइरहेका छन्। सेलिब्रेटीहरू आफ्नै आँसु बेच्न थालेका छन्। अब पीडा पनि व्यापार बनेको छ। हामी हरेक भावनालाई ‘कन्टेन्ट’ बनाउन उद्यत छौं। हामीले यही प्रवृत्तिलाई संस्कृति बनाउँदै लगे भोलिको पुस्ताले भावनालाई वास्तविक रूपमा अनुभव गर्ने अवसर नै गुमाउनेछ।