परिवर्तनको सँघारमा जर्मनी
संसदीय चुनावमा अति दक्षिणपन्थी र ‘नेटिभिस्ट’ राजनीतिक दल एएफडी बलियो भएर आएसँगै अहिलेसम्म जर्मनीले हिंडेको बाटो छोड्ने सम्भावना बढेर गएको छ।
बासु श्रेष्ठ
म एएफडीको समर्थक हुँ, खुलेर बोल्न पो मिलेन। जर्मनीका नेताहरू बोल्छन् एउटा, गर्छन् अर्को, वाक्कै भइयो।
मेरो कानैनिर मुख ल्याएर एक जर्मन सैनिकले बोलेको वाक्य हो, यो। जर्मनीबाट टर्कीको हवाई यात्रामा भेटिएका उनी जर्मन सेनाको ठूलै पदमा रहेछन्। दुई साताका लागि जोहान्सबर्ग जाँदै थिए, स्टुटगार्टबाट इस्तानबुलसम्म मेरा सहयात्री भए।
झन्डै आधा हवाई यात्रा सकिंदासम्म बोलचाल नभएका उनीसँग बोल्ने बाटो मैले नै खोलेको थिएँ। अग्ला, डम्म परेको जिउ र हातभर ट्याटु। शान्त मिजासको देखिएकाले बोल्न हच्किइरहेको थिएँ। हवाई भोजनका क्रममा आफैंले मौनता भङ्ग गरें।
बियर गिलासमा खन्याउन लाग्दा त्यसो नगर्न सल्लाह दिएँ। त्यसअघि मैले गिलासमा खन्याउँदा फिंज धेरै आएकाले क्यानले नै घुट्याएको थिएँ।
मेरो सल्लाह स्विकार्दै उनले पनि क्यानबाट बियर घुट्क्याए। “दिस इज गुड सजेशन, थ्यांक यू,” उनले भने।
संवादको बाटो खुल्यो। उनको यात्रा र थातथलोबारे सोधें। म जर्मनीको जुन शहरमा बसेको थिएँ, त्यही स्टुटगार्टका रहेछन्। अलिकति आत्मीयताको कारण बनिहाल्यो।
मानवीय स्वभाव पनि गजबकै हुन्छ, आफूसँग सम्बद्ध कुनै सानो, मसिनो कुरा अपरिचितसँग पनि सम्बद्ध रहेको भेटिंदा स्वतः नजीकको अनुभूति हुँदो रहेछ। त्यसपछि मैले थुप्रै प्रश्न तेर्स्याएँ। यसै मौकामा आफ्नोबारे पनि भन्दै र उनका पनि थप प्रश्नका जवाफ दिंदै वार्ता जारी रह्यो।
यसै क्रममा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबारे मेरो धारणा सोधे। “ट्रम्पले जे गरिरहेका छन्, आफ्नो राष्ट्रका लागि गर्दै छन्, मात्र उनको गर्ने तरीका अलि ठीक नभएको हो,” मैले भनें। यसमा सहमति जनाउँदै उनले आफ्नो देशको राजनीतिबारे आफ्नो धारणा व्यक्त गरेका हुन्, “म एएफडीको समर्थक हुँ, खुलेर बोल्न पो मिलेन। जर्मनीका नेताहरू बोल्छन् एउटा, गर्छन् अर्को, वाक्कै भइयो।’
एएफडी अर्थात् ‘अल्टरनेटिभ फर डोइचल्यान्ड’ पार्टी अहिले जर्मनीमा नयाँ शक्तिका रूपमा उदाएको छ। स्थापनाको १२ वर्ष मात्र भए पनि फरकधार र सोच भएकाले बहुधा युवा र मेरा सहयात्री जस्तालाई आकर्षित गरेको छ।
सन् २०१३ मा भएको जर्मनीको आमनिर्वाचनमा पाँच प्रतिशत ‘थ्रेसहोल्ड’ पुर्याउन सकेको थिएन। यस पटक भएको चुनावमा सबैलाई चकित तुल्याउँदै २०.८ प्रतिशत मत प्राप्त गर्दै दोस्रो ठूलो दल बनेको छ।
जर्मनीको कन्जर्भेटिभ सीडीयू-सीएसयूले चुनाव जितेको छ। सीडीयू-सीएसयूले २८.६ प्रतिशत मत पाएको छ। त्यस्तै, गत चुनावमा सबैभन्दा ठूलो पार्टी रहेको सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) अहिले १६.३ प्रतिशत मत पाएर तेस्रो नम्बरमा झरेको छ।
एएफडी कसरी उदायो?
सन् २०१७ बाट राष्ट्रिय राजनीतिमा थपिएको एएफडीको मूल मुद्दा जर्मनीमा आएका आप्रवासी हटाउने छ। विशेषतः जर्मनीमा बहुसंख्यक आप्रवासी मुसलमान छन्। आप्रवासीका विचारलाई लिएर जर्मन नागरिक आजित पनि हुँदै आएका छन्। त्यसैले एएफडीले आप्रवासी विरुद्ध ‘रिमाइग्रेशन’ शब्द प्रयोग गरेको छ।
अर्थात् आप्रवासी जहाँबाट आएका हुन्, उतै पठाउने यस दलको नारा र मुद्दा छ। हेक्का राख्नुपर्ने के पनि छ भने, जर्मनी यूरोपको एक मात्र यस्तो मुलुक हो जसले सबैभन्दा बढी शरणार्थी आप्रवासीलाई भित्र्याएको छ। अझै शरणार्थीका लागि आवेदन दिनेको संख्या पनि ठूलै छ।
जर्मनीमा धेरैजसो आप्रवासी मुस्लिम समुदायका छन्। ती पनि अफगानिस्तान, इराक, युक्रेन, सिरिया तथा पश्चिमी अरब मुलुक जस्ता द्वन्द्वग्रस्त स्थानबाट आएका छन्। जर्मन सरकारले उनीहरूलाई गाँस र बसोबासको व्यवस्था उपलब्ध गराउँछ।
आप्रवासीका लागि शरणार्थी शिविर बनाइएका छन्। जर्मनीमा स्कूल, कलेज सबै निःशुल्क छ। उनीहरूका लागि जर्मन भाषाको निःशुल्क कक्षाको व्यवस्था पनि गरिएको छ। उनीहरूलाई जीविकोपार्जनका लागि बाटो खोल्ने प्रयास गरिंदै आएको छ।
सरकारले सहयोग गरे पनि स्थानीय स्तरमा भने द्वन्द्व निम्तिने गरेको छ। कतिपय ठाउँमा जर्मन नागरिक र आप्रवासीबीच हिंसात्मक घटना पनि भएका छन्।
यस्तो अवस्थामा एएफडीले आप्रवासीलाई आफ्नै देश फर्काउने नारा दिएको हो। यस नाराले धेरै जर्मन मतदातालाई आकर्षित गर्यो। त्यसको असर यस पटकको चुनावमा पनि देखिएको छ।
त्यस्तै, यस दलको आकर्षण विज्ञ पनि हुन्। प्राज्ञिक व्यक्तिहरू, ठूला दलबाट आएका नेताहरू यसमा छन्। त्यसैले एएफडीलाई ‘प्रोफेसर पार्टी’ पनि भन्ने गरिएको छ।
तथापि, केही यथास्थितिवादी र प्रजातन्त्रवादीले यस दललाई नाजीवाद अगाल्ने पार्टीसँग तुलना गर्ने गरेको पाइन्छ। यसलाई अतिवादीको आरोप पनि लगाएको पाइन्छ।
जे होस्, जर्मनीको संसदीय निर्वाचनले एएफडीलाई दोस्रो ठूलो दलका रूपमा उभ्याएर मेरा हवाई यात्राका सहकर्मीको भनाइलाई पुष्टि गरेको छ। ती सहयात्रीले जर्मन सेनाको प्रतिनिधित्व गरेको मैले आकलन गरे।
अर्को संयोग जुन सुखद त होइन, तर समय मिल्न आएको छ। अमेरिकाले थालेको ‘मास डिपोर्टेशन’ मा एएफडीको पनि मौन समर्थन हुन सक्छ। अमेरिकी राष्ट्रपति ट्रम्पका सल्लाहकार अर्बपति एलन मस्कले एएफडीलाई समर्थन गरेका थिए। मस्क खुलेरै यस दलको पक्षमा बोलिरहेका छन्।
यो चुनावले अब जर्मनीले अहिलेसम्म लिएको बाटो छोड्ने निश्चित छ। यसका प्रभाव र बाछिटा समयक्रमले संसारभर नै पुग्नेछन्।