वडा कार्यालय भवनमै चल्यो महानगरको डोजर (तस्वीरहरू)
ललितपुर महानगरपालिकाले आफ्नै वडा कार्यालय भवनमा डोजर चलाएको छ।
सरकारी जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने क्रममा सोमबार ललितपुर-५ को वडा कार्यालयमा डोजर चलेको हो। न्हुँ पोखरी संरक्षणका लागि वडा कार्यालय पनि भत्काउनुपरेको महानगरका प्रवक्ता राजु महर्जनले बताए।
ऐतिहासिक न्हुँ पोखरी संरक्षणका लागि अतिक्रमण गरेर बनाइएका भवन भत्काउन थालिएको हो। न्हुँ पोखरीको क्षेत्र अतिक्रमण गरेर बनाइएका अन्य संरचना पनि भत्काइने महर्जनले जानकारी दिए। “न्हुँ पोखरी वरपर सार्वजनिक जग्गामा रहेका घर-टहरा भत्काउनुका साथै अन्य सार्वजनिक ठाउँहरू पहिचान गरी संरक्षण गर्ने निर्णय गरेका छौं,” उनले भने।
सबै वडा कार्यालयसँग समन्वय गरेर सार्वजनिक जग्गाको अतिक्रमण हटाइने उनले बताए। यसको शुरूआत महानगरले आफ्नै वडा कार्यालय भत्काएर गरेको हो। लगनखेलमा रहेको भवन भत्काएपछि वडा कार्यालयलाई महालक्ष्मी मन्दिर नजीक सारिएको छ।





