भारत र चीनका पर्यटक आकर्षित गर्न पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
पर्यटकीय शहर पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस-२०२५ सोमबारदेखि शुरू भएको छ।
नेपाल, भारत र चीनको सहभागितामा प्रदर्शनी शुरू भएको हो। भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जनाइएको छ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० क्रेता, ७० विक्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधि सहित ६०० भन्दा बढी सहभागी छन्। प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो।
प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन सम्बद्ध संस्था र सरोकारवालालाई एकै थलोमा ल्याएर उनीहरूबीच व्यावसायिक अनुभवका साथै सञ्जाल विस्तार र व्यापार अवसर सिर्जना गराउने पाटाले जनाएको छ।
प्रदर्शनीले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रका रूपमा मात्र नभई बैठक, सभा-सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले बताए।