सालको पातले दिएको शक्ति
सालको पातका दुना, टपरी बनाउने उद्यमले धादिङको निगालपानीका बासिन्दालाई स्वरोजगार त बनाएको छ नै, संरक्षणमा पनि सघाउ पुर्याएको छ।
सडक दुर्घटनामा श्रीमान् बितेपछि धादिङको नीलकण्ठ नगरपालिका-९, निगालपानीकी राममाया थापा मगर सकसमा परिन्। तीन सन्तानकी आमा ४५ वर्षीया मगरलाई परिवार कसरी पाल्ने भन्ने पिरलो भयो।
खेती गरौं जमीन छैन, इलम गरौं सीप छैन। गाउँठाउँमा न काम पाइन्छ न कुनै अवसर छ। उनका अघिल्तिर जीवन एकाएक अक्करे भीर सरह भएर उभियो। “आफन्त र छरछिमेकको भरथेगमा दुई-चार दिन जेनतेन चल्यो,” उनी सुनाउँछिन्।
कसरी दैनिक व्यवहार चलाउने भन्ने टुंगो लगाउन नसकेको वेला मालती उद्यमशील महिला कृषक समूह सहारा बनेर उदायो। गाउँ नजीकैको पञ्चकन्या वनको सालको पातको टपरी गाँसेर बजारमा बेच्नेबारे समूहमा छलफल चल्यो। त्यसका लागि धनगढीबाट प्रशिक्षक झिकाएर १० दिने तालीम दिने चाँजोपाजो मिलाइयो।
मगरले तालीम लिने निधो गरिन्। उनीसँगै ४० महिला तालीममा सहभागी भए। गाउँघरमा पहिलादेखि गर्दै आएको पात टिप्ने, गाँस्ने काम अझ राम्रोसँग गर्ने तरीका सिकिन्। “टपरी बनाउने मशिन चलाउन पनि जानें,” उनी भन्छिन्।
तालीम सकिएसँगै समूहले वनबाट सालको पात ल्याएर दुना, टपरी बनाउने काम थालिहाल्यो। उनी टपरी बनाउने मशिन चलाउने भइन्। “महीनाको सात हजार रुपैयाँ कमाइ भयो,” उनी खुशी हुँदै सुनाउँछिन्।
यही आयस्ताले छोराछोरीलाई ढुक्कले स्कूल पठाउन सकेकी छन्। अबका दिनमा आयस्ता बढ्दै जाने उनले लख काटेकी छन्।
उनी सहित अन्य स्थानीय बासिन्दाले पनि घरआँगनमै पात बटुलेर, गाँसेर महीनाको चारदेखि सात हजार रुपैयाँ कमाइरहेका छन्। “बनिबुतोको आधार नभएको निगालपानीका दिदीबहिनीलाई टपरी गाँस्ने कामले ठूलो भरथेग गरेको छ,” समूहकी अध्यक्ष शिवकुमारी लम्साल भन्छिन्, “घरधन्दाको कामसँगै घरै बसीबसी टपरी बुनेर लाभ लिएका छन्।”
मालती उद्यमशील महिला बचत समूहले टपरी गाँस्ने उद्यम शुरू गरेको एक वर्ष मात्र भएको छ। समूहका २५ जनाले नियमित पात संकलन गरेर ल्याउँछन्। उनीहरूले बुझाएको पातका आधारमा चारदेखि ६ हजार रुपैयाँसम्म पाउँछन्। पात संकलन गर्नेहरूलाई समूहका सदस्यले प्रत्येक महीनाको ४ गतेसम्म घरघरै पैसा बुझाउने गरेको अध्यक्ष लम्साल बताउँछिन्।
समूहलाई टपरी गाँस्ने तालीम दिने र टपरी बनाउने मशिन उपलब्ध गराउन सालक संरक्षण र अनुसन्धानमा काम गर्दै आएकी तुलसीलक्ष्मी सुवालको योगदान छ। उनले संरक्षण सम्बन्धी बेलायती पुरस्कार ‘ह्वीट्ली फन्ड फर नेचर अवार्ड’ पाएपछि स्थानीय महिलाको जीविकोपार्जन सुधार्ने योजनाले मूर्त रूप लिएको हो।
जिल्ला सदरमुकाम धादिङबेसीबाट झन्डै १२ किलोमिटर उत्तरी भेगमा रहेको निगालपानीमा बुनिने टपरी, दुनाको माग गाउँमा मात्रै होइन, सदरमुकामसम्म पनि बढ्दो छ। फोन गरीगरी पिकनिक, विवाह, व्रतबन्ध वा सभासमारोहका लागि चाहिने दुना, टपरीको ‘अर्डर’ गर्न थालेका छन्। स्थानीय बजारका केही पसलमा बिक्रीका लागि पनि राखिएका छन्। एउटा टपरीको बिक्री मूल्य पाँच रुपैयाँ छ भने दुना दुई रुपैयाँमा बिक्री हुन्छ।
दुना, टपरीको काम शुरू गर्दा केही थिएन। चौरमा त्रिपाल ओच्छ्याएर काम थालिएको थियो। “काम गर्ने आँट मात्र थियो, अरू केही थिएन,” अध्यक्ष लम्साल भन्छिन्। क्रमशः टपरी बनाउने मशिन आयो, सामुदायिक भवनले ठाउँ दियो। बिजुली जोडियो। अहिले उत्पादनको चक्र विस्तारै घुम्दै छ।
स्वरोजगारसँगै संरक्षण
सालका पातबाट दुना, टपरी बनाउने उद्यमले स्थानीय महिलालाई स्वरोजगार बनाएको छ भने संरक्षणमा पनि टेवा पुगेको छ। यसबाट वन र वन्यजन्तु संरक्षणमा सहयोग पुगेको संरक्षणकर्मी तुलसीलक्ष्मी सुवाल बताउँछिन्। “देख्दा पात गाँस्ने काम मात्र भए पनि यसले समुदायमा आम्दानी भित्र्याउने र प्राणी तथा प्रकृति संरक्षणलाई पनि प्रभावकारी बनाएको छ,” साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनमा आबद्ध संरक्षणकर्मी सुवाल भन्छिन्।
यही फाउन्डेशनले समूहलाई पात गाँस्ने मशिन उपलब्ध गराएको थियो। यो क्षेत्र सालकको वासस्थानमा रूपमा परिचित छ। सालकको वासस्थान रहेको निगालपानीको वन क्षेत्रलाई डढेलोबाट जोगाउन सालको पातको व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो। “टपरी उद्यमबाट सालको पात व्यवस्थापनको काम आयमूलक उद्यममा रूपान्तरित भएको छ,” सुवाल भन्छिन्।
सात वर्षअघि गरिएको सर्वेक्षणमा सालकको वासस्थान मासिनुमा डढेलो मुख्य कारण रहेको पाइएको थियो। नेपालमा हुने डढेलोको ९० प्रतिशत कारक मानवीय क्रियाकलाप वा हेलचेक्र्याइँ देखिएको हुँदा पनि डढेलो लाग्न नदिन झरेका पातको व्यवस्थापन गर्नुपर्ने उनी बताउँछिन्। “सालको पातलाई वनमा जम्मा हुन नदिन आयमूलक क्रियाकलापसँग जोड्न सकिंदा संरक्षण दिगो हुन्छ,” उनी भन्छिन्।
दिगो बनाउन नीतिगत भरथेग
स्थानीय स्तरमा रोजगार सिर्जना गरिरहेको र संरक्षणमा पनि सहयोग पुगिरहेको दुना, टपरी उद्यमलाई दिगो बनाउन नीतिगत रूपमा भरथेग चाहिएको उनीहरू बताउँछन्। बजार प्रवर्द्धनका लागि स्थानीय सरकार, संघसंस्था र व्यवसायीले पनि सघाउनुपर्ने अध्यक्ष लम्सालको भनाइ छ।
.jpg)
उनीहरूको कामलाई प्रोत्साहन गर्न उत्पादन किनिदिने मात्रै होइन, प्रवर्द्धन र अभिमुखीकरणको अवसर पनि दिनुपर्ने डिभिजन वन कार्यालय, धादिङका प्रमुख विष्णुप्रसाद आचार्य बताउँछन्। वन जोगिनु भनेको एक प्राणी प्रजाति मात्र जोगिने नभई जैविक विविधता र पर्यावरण नै जोगिने भएकाले पनि यस्ता खालका संरक्षणका उपायलाई बढावा दिनुपर्ने आचार्यको भनाइ छ।
मालती महिला समूह जस्ता स्थानीय घरेलु उद्यमशीलता दिगो बनाउन नीतिगत सहयोग चाहिने उनी बताउँछन्। स्थानीय काठको खपत बढाउन र आल्मुनियम लगायत आयातीत काठ विस्थापित गर्न बागमती सरकारले राजपत्रमै सरकारी निर्माण कार्यमा स्थानीय काठ उपयोग गर्नुपर्ने कार्यविधि बनाएको छ।
यसमा पनि स्थानीय र प्रदेश सरकारले त्यस्तै निर्णय गर्न सक्ने उनी सुनाउँछन्। “पालिका, प्रदेश र सरकारी स्तरमा हुने औपचारिक कार्यक्रममा प्लास्टिकको ठाउँमा दुना, टपरीलाई अनिवार्य गरिदिने हो भने यस्ता सयौं घरेलु उद्यम देशभर चल्छन्,” आचार्य भन्छन्, “यो त सानो झिल्को हो। यसलाई फैलाउन नीतिगत हस्तक्षेप चाहिन्छ।”
समूहकी अध्यक्ष लम्साल पनि अहिले सहयोग चाहिएको बताउँछिन्। उनका अनुसार आर्थिक अभाव छ, दिगो पूर्वाधार केही छैन। उनी भन्छिन्, “सरकारी कार्यालयमा दुना, टपरी प्रयोगमा प्रश्रय दिने, क्याटरिङमा पनि यसको प्रयोगमा जोड दिने हो भने सजिलो हुन्छ।”