अग्नि मापदण्डको छैन पालना, बर्सेनि दुई हजारको ज्यान जाँदै
अग्नि प्रतिरोधी मापदण्ड पालना नहुँदा आगलागीका घटनामा क्षति बढ्दै गएको छ भने उपचारको अभावमा बर्सेनि दुई हजारभन्दा बढी नागरिकले ज्यान गुमाइरहेका छन्।
फागुन ४ मा खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७, महादेवस्थानका पदम राईको घरमा आगलागी भयो। खाना पकाउँदा भान्साकोठाको ग्यास लिक भएर सल्किएको आगोले घर नै खरानी भयो। तीन घर जलेर नष्ट भए भने सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
त्यसअघि माघ २४ मा काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्यास लिक हुँदा आगो सल्कियो। आगलागीमा परेर चार जनाको ज्यान गइसकेको छ भने सात जना घाइते छन्। घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
नेपाल प्रहरीका अनुसार माघ महीनामा मात्रै देशभर आगलागीमा परेर २२ जनाको ज्यान गएको छ भने ८७ जना घाइते भएका छन्। आगलागीका ४७८ घटनामा १८ करोड ४८ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
पछिल्ला केही वर्षमा आगलागीका घटनाबाट हुने क्षति बढ्दै गएको देखिन्छ। गृह मन्त्रालयको तथ्यांक अनुसार गत १३ वर्षमा आगलागीका घटनामा एक हजार ८७ जनाले ज्यान गुमाइसकेका छन्। सन् २०११ देखि २०२४ सम्म आगलागीका कारण ३८ हजार १२८ परिवारलाई प्रत्यक्ष प्रभावित भएका छन्।
आगलागीमा परेर १४ हजार ३३६ वस्तुभाउ मरेका छन्। यस अवधिमा २८ अर्ब ९१ करोड ६१ लाख ६३ हजार ९४२ रुपैयाँ बराबर क्षति भएको छ।
गृह मन्त्रालयका अनुसार सन् २०१२ मा आगलागीका एक हजार १२१ घटना भएका थिए भने सन् २०२४ मा चार हजार २२९ घटना भएका छन्। पछिल्ला १३ वर्षमा आगलागीका २८ हजार ६०२ घटना भएका छन्।
देशभर आगलागीका घटना र क्षति बढ्दै गए पनि यसबाट जोगिने उपाय भने अवलम्बन गरेको देखिंदैन। भवन र आवास संरचना आगोबाट जोगिने किसिमका छैनन्।
कसरी हुँदै छ आगलागी?
२०७९ फागुन ४ मा घरमा आगलागी हुँदा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भए। हरिकलाको उपचारका क्रममा ज्यान गयो।
चन्द्रको पनि नेपालमा उपचार हुन सकेन। त्यसपछि भारतको नयाँ दिल्ली लगियो। लामो समयको उपचारपछि निको भए। आगलागीबाट पीडित बनेका भण्डारीले यस विषयमा संसद्मा पनि आवाज उठाउँदै आएका छन्।
भान्साकोठाबाट ग्यास लिक हुँदा आगलागी भएको थियो। मान्छेको आनीबानीकै कारण आगलागी भइरहेको भण्डारी बताउँछन्। “कुन चिजबाट आगलागी हुन सक्छ? त्यो कहाँ छ? आगो लाग्ने सामग्री जथाभावी फाल्न नहुने कुरा हाम्रो व्यवहारसँग पनि जोडिन्छ,” भण्डारी भन्छन्।
आगो सल्काउन प्रयोग गर्ने सलाई बालेर छोडिदिंदा पनि आगलागी हुन्छ। “भान्सामा ग्यास खुला छोड्दा पनि आगलागी हुन सक्छ,” उनी भन्छन्, “यी र यस्तै खालका सामान्य कुराले ठूलो विपद् आइलाग्न सक्छ।”
आगलागी हुन सक्ने सामग्री भान्सामै हुन्छन्। पेट्रोल, मट्टीतेल, डिजेल र ग्यास सिलिन्डरमा आगो लाग्दा, बिजुली शर्ट हुँदा, चट्याङका कारण आगलागी हुने गरेका छन्। त्यस्तै, खर, भुसमा आगो सल्केर वा जंगलमा डढेलो लागेर विपद् निम्तिने गरेको छ। घरभित्र र बाहिर दुवै ठाउँमा आगलागी हुने जोखिम उत्तिकै देखिन्छ।
धेरैजसो भान्साकोठाबाटै आगलागीका घटना हुने गरेको देखिएको इन्जिनीयर नगेन्द्र सिटौला बताउँछन्। “उपभोक्तामा पर्याप्त ज्ञान नहुँदा भान्साकोठामा के राख्ने/नराख्ने थाहा छैन। प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग छ। जसबाट आगो चाँडो सल्किन्छ,” सिटौला भन्छन्।
कीर्तिपुर अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मी पनि अधिकांश आगलागीका घटना भान्साकोठाबाटै शुरू हुने बताउँछन्। डा. नकर्मीका अनुसार उपचारका लागि अस्पताल पुग्नेमध्ये ६० प्रतिशत आगो, २० प्रतिशतले तातो पानी र २० प्रतिशत तातो तेलले पोलेका हुने गरेका छन्। “अस्पताल पुग्नेमध्ये ७० प्रतिशत भान्साकोठाभित्रै पोलिएर आएका हुन्छन्,” उनी भन्छन्।
शहरबजारमा ग्यास र विद्युतीय सामग्री आगलागीका प्रमुख कारण देखिएका छन्। त्यस्तै, ग्रामीण भेगमा खुला आगो र डढेलो प्रमुख कारण हुन्। विशेषगरी विद्युत्को पहुँच बढेसँगै विद्युतीय सामग्रीको उपभोग बढ्दो छ। विद्युतीय सामग्रीहरू हिटर, विद्युतीय जग, विद्युतीय चुलो, वाशिङ मशिन, फ्रिज, मिक्सचर लगायत सामग्रीको प्रयोग बढेसँगै विद्युत् शर्ट भएर आगलागीका घटना बढेको देखिएको छ।
भौतिक संरचना निर्माणमै चुक
नेपाल सरकारले भवन निर्माण संहिता बनाएको छ। जसमा कुनै पनि भवन निर्माण गर्नुपूर्व भविष्यमा हुन सक्ने विपद्लाई ध्यानमा राखेर विभिन्न मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ। आगलागीका घटनालाई ध्यानमा राखेर ‘फायर सेफ्टी’ को मापदण्ड पनि राखिएको छ।
मापदण्डमा कम्तीमा एक तलामा एउटा आगो नियन्त्रक राख्नुपर्ने व्यवस्था छ। भूमिगत तलामा एकभन्दा धेरै भर्याङ भएको भवनमा भर्याङले नै भूमिगत तला र माथिल्लो तलाबीच ‘फायर सेपरेशन’ को काम गर्ने गरी राखिनुपर्ने उल्लेख छ। फायर फाइटिङ सिस्टम, फायर अलर्टको व्यवस्था हुनुपर्ने पनि मापदण्डमा छ।
कार्यालय, स्कूल, मल र ठूला रेस्टुरेन्ट बाहेकका भवनमा विरलै देखिन्छन्, अग्नि नियन्त्रण सामग्री। मापदण्ड पूरा नगरी भवन र आवास निर्माण भइरहेका छन्। घरभित्र लाग्ने आगलागीको प्रमुख कारण घरको बनोट पनि भएको फायर सेफ्टी नेपालका सञ्चालक नवीन घिमिरे बताउँछन्।
आगोको जोखिमबारे मल, होटल, रेस्टुरेन्ट र स्कूल संवेदनशील नपाइएको घिमिरेको भनाइ छ। “पछिल्लो समय विद्युतीय सामग्रीको प्रयोग बढेकाले पनि आगलागी बढेको छ,” उनी भन्छन्, “आगो बाजा बजाएर लाग्ने होइन। घर बनाउनु पहिले नै यदि पछि आगो लाग्यो भने के गर्ने भन्ने सोचिनुपर्छ।”
जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरका सूचना अधिकारी हिमाल घर्ती मगर भवन निर्माणसँगै सडक संरचनामा समस्या भएको बताउँछिन्। “कुचुक्क परेका गल्लीमा आगलागी भइहाले पनि दमकल जाने सडक हुनुपर्छ भन्ने मापदण्ड छ, तर पालना छैन,” मगर भन्छन्, “संवेदनशील विषयमा पनि संरचना निर्माणका क्रममा लापरवाही भइरहेको छ।”
भवनभित्र हुने आगलागी त्यसको संरचनामा पनि भर पर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वन डढेलो, आगलागी तथा वातावरण शाखाका प्रमुख सुदीप छत्कुली बताउँछन्। “भवन निर्माणको डिजाइनका क्रममा नै अग्नि नियन्त्रण मापदण्ड राखिएको हुनुपर्छ,” छत्कुली भन्छन्, “यदि मापदण्ड पूरा गरेको छैन भने त्यस्ता भवन सरकारले पास गर्नु हुँदैन।”
‘फायर सेफ्टी’ का लागि न्याशनल बिल्डिङ कोड २०६ र आर्किटेक्ट डिजाइनको न्याशनल बिल्डिङ कोड २०७ मा मापदण्ड निर्धारण गरिएको छ। अग्नि नियन्त्रक ‘फायर स्टिंगर’ प्रायः भवन अथवा आवासमा राखिनुपर्ने व्यवस्था छ। यो कोड ठूला उद्योग, मल, ठूला होटल र सरकारी भवनमा मात्रै लागू भइरहेको भवन विभागका सिनियर इन्जिनीयर राजु न्यौपाने बताउँछन्। “मापदण्ड पूरा गरिएको छ कि छैन भनेर स्थानीय सरकारले हेनुपर्छ, तर आममान्छेको घरको विषयमा मापदण्ड अनिवार्य गरिएको छैन,” न्यौपाने भन्छन्।
सिनियर इन्जिनीयर न्यौपानेका अनुसार भवनलाई चार प्रकारमा विभाजन गरेर ‘फायर सेफ्टी’ को व्यवस्था गर्नुपर्ने मापदण्ड तयार गरिएको छ। पहिलो, एकदेखि पाँच तलाको भवन। जहाँ अग्नि प्रतिरोधी संरचना बनाइएको हुँदैन। अग्नि नियन्त्रकले बाहिरबाट आएर आगो नियन्त्रण गर्न सक्छन्।
दोस्रो, ६ देखि आठ तलाको भवनमा बाहिर फलामको भर्याङ अनिवार्य हुनुपर्छ। जसको उद्देश्य आगलागी हुँदा बाहिरको भर्याङबाट निस्कन सकियोस् भन्ने हो। तेस्रो, आठदेखि ४० तलाको भवन, जहाँ आपत्कालीन ढोका र भर्याङ जस्ता मापदण्ड बनाइएको हुन्छ। चौथो, ४० तलाभन्दा माथिका भवन, जुन नेपालमा विरलै निर्माण हुने गरेका छन्।
‘फायर सेफ्टी’ को मापदण्डलाई भवनको डिजाइनकै क्रममा ध्यान दिनुपर्ने भए पनि पालना नभएको पुल्चोक क्याम्पसमा अध्यापन गराइरहेका इन्जिनीयर नगेन्द्र सिटौला बताउँछन्। यसमा सबै पक्षबाट लापरवाही भइरहेको सिटौलाको भनाइ छ। “नेपाल सरकारले नियम बनाएको छ। स्थानीय सरकारले यस्ता खालका मापदण्ड विना भवन निर्माण स्वीकृति नदिनुपर्ने हो, तर नागरिक तहदेखि सरकारसम्म कसैको ध्यान गएको देखिंदैन,” उनी भन्छन्।
एउटै अस्पतालको भर
आगलागीका घटना बढ्दै गए पनि घाइतेको उपचारका लागि सहज व्यवस्था भने छैन। जलन उपचारका लागि एउटा मात्र अस्पताल छ, कीर्तिपुर अस्पताल। कीर्तिपुर अस्पतालमा वर्षमा ७०० भन्दा बढी जलनका बिरामी आउने गरेको तथ्यांक छ।
१०० शय्याको कीर्तिपुर अस्पतालमा देशैभरका जलनका बिरामी आउँछन्। तर पर्याप्त साधनस्रोत छैन। अस्पताल पुगेका सबैको उपचार सम्भव हुने गरेको छैन। अस्पतालका निर्देशक डा. नकर्मी ६० प्रतिशत जलेको छ भने १५ प्रतिशतलाई मात्रै जोगाउन सकिने बताउँछन्। “४० प्रतिशत जलेर आएका २० प्रतिशत बिरामीलाई जोगाउन सकिएको छ,” नकर्मी भन्छन्, “६० प्रतिशतभन्दा बढी जलेका बिरामीलाई जोगाउन मुश्किल हुन्छ। त्यस्तो वेला रिफर गर्ने अर्को ठाउँ पनि छैन।”
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वार्षिक ४० हजारभन्दा बढी मान्छे जलनबाट प्रभावित हुन्छन्। वार्षिक एक हजार ५०० देखि दुई हजार जनाले ज्यान गुमाउँछन्।
त्यस्तै, सञ्जीव त्रिपाठी र सुरेन्द्रजंग बस्नेतको बर्नस् एन्ड ट्रमा जर्नलमा प्रकाशित अध्ययन अनुसार नेपालमा वार्षिक ५५ हजार व्यक्ति जलनबाट प्रभावित हुने गरेका छन्। जलनबाट दुई हजार १०० जनाको मृत्यु हुने गरेको उल्लेख छ।
पछिल्लो समय आगलागी र त्यसबाट पीडित हुनेको संख्या बढ्दै गए पनि उपचारबारे भने सोचिएको पाइँदैन। “कीर्तिपुर बाहेक जलनको उपचार हुने त्रिवि शिक्षण अस्पताल, सुष्मा कोइराला मेमोरियल अस्पताल, पाटन अस्पताल र वीर अस्पताल राजधानी केन्द्रित मात्र छन्। “जलनका बिरामीको संख्या हेर्दा प्रदेश अनुसार अस्पताल बनाउनुपर्ने देखिन्छ,” डा. नकर्मी भन्छन्।
अर्कातिर, जलनको उपचार महँगो पनि छ। घरगाउँकै स्वास्थ्य संस्थामा उपचार सम्भव नहुने भएकाले काठमाडौं ल्याउनुपर्छ। यसले गर्दा उपचार महँगो हुने भएकाले सरकारी स्तरकै अस्पताल आवश्यक रहेको सांसद भण्डारी बताउँछन्। “जलनका कारण यतिका मान्छे मरिरहेका छन्। अहिलेसम्म एक मात्र अस्पताल छ, त्यो पनि महँगो छ,” भण्डारी भन्छन्, “नागरिकको उपचारका लागि राज्यबाटै उपचार कोष बनाउनुपर्छ। सहज उपचारको व्यवस्था गर्नुपर्छ।”
सावधानीमा जोड
विज्ञ तथा सरोकारवाला आगलागीका घटना हुन नदिन पूर्व सावधानी अपनाउनुपर्नेमा जोड दिन्छन्। आगलागीको मुख्य कारण खुला आगो र विद्युतीय सामग्रीको प्रयोग भएकाले सतर्कता अपाउनुपर्ने सांसद भण्डारीको भनाइ छ। “आगलागीबारे विद्यालय शिक्षामै जोड दिनुपर्छ,” उनी भन्छन्, “घटना भएपछि मात्रै छलफल गर्ने होइन, विद्यालय तहमै यसबाट कसरी जोगिने भनेर ज्ञान दिनुपर्छ।”
वन डढेलो, आगलागी नियन्त्रण तथा वातावरण विभागका प्रमुख छत्कुली घरभित्र हुने आगलागी सामान्य कुरामा ध्यान दिंदा कम गर्न सकिने बताउँछन्। तर सामान्य ख्याल पनि नगर्दा जोखिम हुने गरेको पाइएको उनको भनाइ छ। “अग्नि नियन्त्रणका सामग्री राखिएको हुन्छ। कतिलाई प्रयोग गर्न आउँदैन। आगलागी भइहाले पनि के गर्ने भनेर सचेतनाको पनि कमी छ,” उनी भन्छन्, “आगो नियन्त्रण गर्न र आगलागी भइहालेमा के गर्ने भन्ने विषयमा सचेतना बढाउनु जरूरी छ।”
त्यस्तै, कीर्तिपुर अस्पतालका निर्देशक डा. नकर्मी जलन भइहाले के गर्ने भन्ने विषयमा सचेतना फैलाउन पनि आवश्यक रहेको बताउँछन्। “सामान्य जानकारी नहुँदा पनि आगोले पोलेको हुन्छ। प्राथमिक उपचार भनेको चिसो पानी नै हो,” उनी भन्छन्।