रिंकु मृत्यु प्रकरणमा आठ जना पक्राउ
सिरहाको नवराजपुर गाउँपालिका-१, भगवानपुरकी रिंकु सदाको मृत्यु प्रकरणमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
बलात्कारको घटना मिलाउनमा संलग्न रहेको आठ जनालाई पक्राउ गरिएको अनुसन्धानको नेतृत्व गरिरहेका मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले बताए। “आठ जनालाई नियन्त्रणमा लिएका छौं, उनीहरूसँग सोधपुछ भइरहेको छ,” कोइरालाले भने।
स्थानीय तीन युवकले गत माघ २७ गते बलात्कार गरेको रिंकुले बताएकी थिइन्। त्यसपछि पञ्चायत बसेर बलात्कारको घटनामा मिलापत्र गरिएको थियो।
पञ्चायत बसेर बलात्कारको आरोप लागेका रूपेश मण्डलबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना भराउने निर्णय गरेको थियो। त्यसको तीन दिनपछि माघ ३० गते रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन्। उनको हत्या गरिएको परिवारजनको दाबी छ।
यसमा रिंकुकी आमा सीतादेवीले फागुन ८ मा आठ जना विरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा पूरक जाहेरी दिएकी थिइन्। त्यसमा रूपेश मण्डलसँगै चन्दन साह, रामविनय मण्डल, नठुनी साह, रामपुकार मण्डल, रामकृपाल मण्डल, रामप्रीत साह र विन्देश्वर साहलाई विपक्षी बनाइएको थियो।
अहिले प्रहरीले बलात्कारको घटना मिलाउनमा संलग्न आठ जनालाई पक्राउ गरेको हो। बलात्कारको आरोप लागेका रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डल भने फरार छन्।
पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र जबर्जस्ती करणीका आरोपित तीनै जना फरार रहेकाले थप निर्णयमा पुग्न नसकिएको एसएसपी कोइरालाको भनाइ छ। “पोस्टमार्टमको रिपोर्ट र भेजाइनस स्वाब परीक्षणको रिपोर्ट आएपछि घटनाबारे थप स्पष्ट हुनेछ,” उनले भने।
यो पनि पढ्नुहोस् : घरमा सुत्नै सकेको छैन पीडित परिवार