टोनी हागनले सात दशकअघि खिचेका तस्वीरको जिरीमा प्रदर्शनी
सात दशकअघि स्वीस भूगर्भशास्त्री टोनी हागनले खिचेका नेपाल चिनाउने तस्वीरहरूको दोलखाको जिरीमा प्रदर्शनी शुरू भएको छ।
टोनी हागन फाउन्डेशन र जिरी नगरपालिकाको आयोजनामा प्रदर्शनी शुरू भएको हो। शनिबार एक समारोहबीच हागनकी छोरी डा. क्याट्रिन हागनले प्रदर्शनीको उद्घाटन गरेकी छन्।
प्रदर्शनीको उद्घाटन गर्दै क्याट्रिनले आफ्ना पिताले भ्रमण गरेको समय र अहिलेको जिरीमा धेरै परिवर्तन आएको बताइन्। “पहिले र अहिलेको जिरीमा धेरै परिवर्तन भएको छ, केही सकाकरात्मक र केही नकारात्मक,” उनले भनिन्।
विकास भए पनि कृषिमा सहभागिता घटेकोमा उनले चिन्ता जनाइन्। “कृषिमा मानिसको सहभागिता घटेको छ। भारत र चीनका कृषि उपजको उपभोग बढेको छ। यो त्यति राम्रो कुरा होइन,” उनले भनिन्।
जिरी नगरपालिकाका मेयर मित्र जिरेलले जिरीको विकासमा स्वीजरल्यान्डका जनता र सरकारको ठूलो सहयोग रहेको स्मरण गरे। जिरी माध्यमिक विद्यालयका पूर्व प्रधानअध्यापक टेक जिरेलले टोनी हागनले जिरीलाई विश्वसामू चिनाउन र जिरीको विकासमा स्वीस सहयोग ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। हागनका तस्वीरहरूको प्रदर्शनी फागुन १४ गतेसम्म चल्नेछ।
हाडजोर्नी विशेषज्ञ समेत रहेकी क्याट्रिन फागुन १३ र १४ गते जिरी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरमा सहभागी रहनेछिन्।