कुम्भबाट फर्किंदै गरेका चार नेपालीको दुर्घटनामा मृत्यु
भारतको प्रयागराजमा लागेको महाकुम्भ स्नान गरी फर्किंदै गरेका चार नेपालीको दुर्घटनामा मृत्यु भएको छ।
भारतको उत्तर प्रदेश राज्य अन्तर्गत गोरखपुरमा सप्तरीका श्रद्धालु सवार स्कार्पियो गए राति ट्र्याक्टरसँग ठोक्किएको सप्तरीको कञ्चनरुप-७ का वडाध्यक्ष श्यामानन्द चौधरीले बताए। त्यही स्कार्पियोमा सवार स्थानीय बासिन्दाले खबर गरेको वडाध्यक्ष चौधरीले जानकारी दिए।
दुर्घटनामा सप्तरीका तीन र सुनसरीका एक जनाको मृत्यु भएको हो। वडाध्यक्ष चौधरीका अनुसार सप्तरीको कञ्चनरुप नगरपालिका-७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलावतीदेवी चौधरी र कञ्चनरुप-५ की ५५ वर्षीया हरिहरदेवी यादवको मृत्यु भएको छ।
त्यस्तै, दुर्घटनामा सुनसरीको कुशहा गाउँपालिका-१ की समतोलियादेवी यादवको मृत्यु भएको उनले जानकारी दिए। समतोलिया पनि सप्तरीका नातेदारहरूसँगै महाकुम्भ स्नान गर्न गएकी थिइन्।
चारै जनाको घटनास्थलमा मृत्यु भएको जनाइएको छ। चारै जनाको शव ल्याउन दुई वटा एम्बुलेन्स शनिबार बिहान दुर्घटनास्थलतर्फ गइसकेको वडाध्यक्ष चौधरीले बताए।
दुर्घटनामा उपेन्द्रनारायण चौधरी गम्भीर घाइते छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले घटनाबारे सुने पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए। यसबारे बुझ्ने काम भइरहेको डीएसपी नेपालको भनाइ छ।