इन्डिया बिमार छ, आफ्ना कलिला बच्चालाई पढ्न नपठाऔं
हामीले अति विद्रूप र साम्प्रदायीकरण हुँदै गएको अहिलेको इन्डियामा आफ्ना कलिला बच्चालाई पढ्न पठाउनुअघि सय चोटि सोच्ने वेला भएको छ।
जेबी पुन मगर
इन्डियन संस्थापनको नेपाललाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुरा तपाईं हामीले देख्दै-भोग्दै-पढ्दै आएको हुनाले त्यसको घनत्व हामीलाई थाहा नै छ, तर ओडिसा राज्य भुवनेश्वरस्थित कलिंग इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल (२०) मृत भेटिएपछि त्यहाँका पढेलेखेका विद्वद्वर्गले समेत नेपाली नागरिकमाथि कति हदसम्मको द्वेष राख्दा रहेछन् भन्ने तथ्य सर्वसाधारणसम्मले बुझ्नेगरी छताछुल्ल भएको छ। प्रकृतिसँगै पढ्ने अद्विक श्रीवास्तव (२१)ले लगातार मानसिक प्रताडना दिन थालेपछि मृतकले विश्वविद्यालय प्रशासनलाई दुई पृष्ठ लामो जाहेरी दिएकी थिइन्। तर विश्वविद्यालय प्रशासनले उनको गम्भीर ध्यानाकर्षणलाई उपेक्षा गरेपछि आजित प्रकृति मृत भेटिएकी हुन्।
आत्महत्यापछि पनि घटनाको छानबिन गर्नतर्फ नलागी विश्वविद्यालय प्रशासनले ‘ब्रेकअपबाट उत्पन्न घटना’ भन्दै सामसुम पार्न खोजेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले ‘न्यायिक छानबिन’ को माग राख्दै प्रदर्शन गरे। त्यसपछि उनीहरूमाथि बल प्रयोग मात्र गरिएन, होस्टलबाट उठाएर रेल्वे स्टेशनमा लगेर अलपत्र छाडियो। क्याम्पस प्रशासनसँग न्याय माग्न जाँदा ‘तिमीहरूलाई मासिक ४० हजार खर्च गरेर पालिएको छ। हाम्रो खर्च तिमीहरूको देशको वार्षिक बजेटभन्दा बढी छ’ भन्दै हुलहुज्जतमा उत्रने विश्वविद्यालय प्रशासनको आदेशमा नेपाली विद्यार्थीलाई लखेटी लखेटी कुटपिट गरियो। मोबाइलभित्र कैद गरिएका क्याम्पस परिसरभित्रका यी सबै कृत्य क्षणभरमै विश्वभर फैलियो। त्यसपछि के भयो? घटनाको पर्सिपल्ट दिल्लीबाट प्रकाशन हुने अंग्रेजी दैनिक पत्रिका टाइम्स अफ इन्डिया आफ्नो सम्पादकीयमा लेख्छ, ‘यो मुद्दा कूटनीतिक मुद्दामा परिणत भयो। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्परता देखाए, नेपालस्थित भारतीय दूतावासले आश्वस्त पार्यो र त्यसपछि ओडिसा सरकारको दबाबमा विश्वविद्यालयले माफी माग्यो। निष्कासन गरिएका विद्यार्थीलाई पढाइमा फर्कन आग्रह गर्यो र च्याँट्ठिएर बोल्ने दुई कर्मचारीलाई निष्कासन गर्यो।’
दबाब बढ्दै गएपछि पीडक अद्विकलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ। तर रातारात स्वदेश आइपुगेका विद्यार्थी अझै विश्वविद्यालय प्रशासनको ‘आतंक’ बाट मुक्त भइसकेका छैनन्। तिनीहरू बिहीबार (फागुन ९) काठमाडौंमा पत्रकार सम्मेलन गर्दा समेत डराइरहेका थिए। उनीहरूको भनाइमा त्यहाँ पढिरहेका करीब १४ सय नेपाली विद्यार्थीमध्ये ९० प्रतिशत नेपाल फर्किसकेका छन्।
त्यहाँको सरकारले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ला त? भाजपा संरक्षित गुन्डाराज मौलाएको इन्डियामा विश्वस्त हुने आधार चाहिं निकै कमजोर छ। के हो त्यो गुन्डागर्दीको स्रोत? त्यसबारे तल चर्चा गर्नेछु।
अत्यन्त असुरक्षित थलो
प्रकृतिले आफूमाथि भइरहेको प्रताडनाबारे लिखित गुनासो दिंदा पनि विश्वविद्यालय प्रशासन चूप बस्नुको पछाडि पीडक भनिएका विद्यार्थी अद्विक उत्तर प्रदेश लखनऊका भारतीय जनता पार्टी (भाजपा)का नेता मनोज श्रीवास्तवका ‘कुपुत्र’ (सञ्जालमा फैलिएको अद्विकले प्रकृतिलाई गाली गरेको अडियोमा प्रयोग भएका निकृष्ट शब्दहरूका आधारमा मैले उनलाई कुपुत्र उच्चारण गरेको हुँ।) भएका कारण हो भन्ने तथ्य छिपेको छैन। केन्द्रीय सरकार, उत्तर प्रदेश र ओडिसा समेत भाजपाशासित राज्य भएको हुनाले शुरूमा यो घटनालाई गुपचुप पार्न खोजिएको प्रस्ट देखिन्छ। तर स्थिति आफ्नो नियन्त्रण बाहिर जान थालेपछि ‘ड्यामेज कन्ट्रोल’ गर्न खोजिएको छ। नेपालस्थित भारतीय दूतावासको सान्त्वनायुक्त विज्ञप्ति र भाजपाको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एभीबीपी)ले घटनाको विरोधमा गरेको नाराबाजीको पछाडि त्यही अभीष्ट लुकेको देखिन्छ। सतहमा देखाइएका तिनका स्वाङ मात्र हुन्। भाजपाशासित समकालीन इन्डिया र एभीबीपी जस्ता संस्थाहरूको चारित्रिक विशेषता बुझ्नुभयो भने तिनको कथनी र करनी प्रस्ट छुट्टिन्छ। त्यसपछि मात्र प्रकृति आत्महत्याको गहिराइ बुझ्न सकिन्छ। कसरी? भन्नुहोला। म केही दृष्टान्त प्रस्तुत गर्न गइरहेको छु।
जय नारायण व्यास विश्वविद्यालय जोधपुर, राजस्थानका एभीबीपीका तीन विद्यार्थी नेताले आफ्नो केटासाथीको अगाडि १७ वर्षीया दलित युवतीलाई सामूहिक बलात्कार गरेको धेरै भएको छैन। १७ जुलाई २०२३ मा क्याम्पस परिसरमै नाबालिका बलात्कृत भइन्। दलित संगठनहरूको ठूलो विरोधपछि मात्र तीन बलात्कारी पक्राउ परे। ती तीन बलात्कारी आफ्ना विद्यार्थी नेता भएको भन्दै तिनलाई छुटाउन एभीबीपीका विद्यार्थीहरू प्रहरी स्टेशन नै घेराउ गर्न पुगेका थिए। त्यति वेला भाजपा र उसको विद्यार्थी संगठनले सत्ता र शक्तिको व्यापक दुरुपयोग गरेको थियो।
केही वर्षयता यो महामारी इन्डियाको कुनाकाप्चामा फैलिएको छ। सत्ताधारी दलका विद्यार्थी नेताहरूको ‘पुरुषत्व’ यतिमा मात्र सीमित थिएन। राजस्थान विश्वविद्यालय परिसरमा दलित छात्रा बलात्कृत भएको तीन महीनापछि (१ नोभेम्बर २०२३) उत्तर प्रदेशको इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (बीएचयु) वाराणसीमा एक विद्यार्थी सामूहिक बलात्कारको शिकार भइन्। बलात्कारको आरोपमा पक्राउ परेका तीन विद्यार्थी भाजपाको आईटीसेल अन्तर्गत एभीबीपीसँग आबद्ध थिए। खाना खाएर होस्टल परिसरमा डुलिरहेका दुई छात्रालाई मोटरसाइकलमा आएका तीन युवकले अपहरण गरी लगे। एक जना भागेर बचिन् भने पीडित छात्रा चाहिं उनीहरूको आतंकबाट बच्न सकिनन्। पीडितलाई पेस्तोलको आडमा नांगो बनाई फोटो र भिडिओ खिचीवरी बलात्कार गरियो। सीसीटीभी फुटेज भए पनि आरोपीहरूलाई तीन महीनापछि मात्र गिरफ्तार गरियो। भाजपाका प्रभावशाली नेता योगी आदित्यनाथशासित उत्तर प्रदेशमा कानूनीराज कति गएगुज्रेको छ भने पीडितको मुद्दा स्थानीय अदालतमा दर्ता गर्न समेत मानिएन। उच्च अदालत इलाहाबादमा मुद्दा दर्ता भए पनि सत्ता र शक्तिको आडमा ती बलात्कारीलाई जमानतमा रिहा गरियो। न्यायिक माग गर्ने विद्यार्थीको आन्दोलनलाई प्रहरी प्रशासन लगाएर दमन गरियो। पीडितलाई शहर छाड्न बाध्य पारियो।
यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन्। इन्डियामा हिन्दूत्वको नारा लगाउने पुरुषलाई मुस्लिम, दलित, आदिवासी, इसाई र महिलाहरूलाई भोग्य वस्तुका रूपमा उपभोग गर्ने नांगो छूट छ। न तिनलाई न्यायालयको संहिता लाग्छ न तिनलाई सामाजिक दण्ड संहिताले छुन्छ। बस्, तिनले जयश्रीरामको नारा लगाए पुग्छ, जति नै ठूलो फौजदारी अपराध भए पनि उन्मुक्ति दिइन्छ। थमसन रोयटर्स फाउन्डेशनले गरेको सर्वेक्षणमा इन्डियालाई अफगानिस्तान, सिरिया र साउदी अरबपछिको ‘अत्यन्त खतरनाक देश’ का रूपमा सूचीकृत गरिएको छ। त्यसलाई पुष्टि गर्ने तथ्यपूर्ण आधारहरू प्रशस्त छन्। महिलाहरूका निम्ति किन इन्डिया बस्नयोग्य छैन भन्ने दृष्टान्त दिंदै गीता पाण्डेले सरकारको तथ्यांक (सन् २०१६) केलाउँदै महिला हिंसाको चित्रण यसरी गरेकी छन्- ‘इन्डियामा प्रत्येक ३० मिनेटमा एक महिला बलात्कृत हुन्छिन्। हरेक दिन ६ जना महिला सामूहिक बलात्कारको शिकार हुन्छन्। प्रत्येक ६९ मिनेटमा एक विवाहित महिला मारिन्छिन्। हरेक महीना १९ जना महिला एसिड आक्रमणमा पर्छन्।’
१८ फेब्रुअरीको टाइम्स अफ इन्डियाको सम्पादकीयमा सरकारलाई सचेत गराइएको एउटा महत्त्वपूर्ण सूचकांक छ, जसमा भनिएको छ- ‘सन् २०१३ को सर्वेक्षणमा इन्डियालाई संसारकै सबैभन्दा बढी जातीय भेदभाव हुने देशको रूपमा औंल्याउँदा धेरैले अस्वीकार गरेका थिए। तर अफ्रिकी विद्यार्थीहरूमाथि हुने दुर्व्यवहारले त्यस्ता आरोपलाई झूटो प्रमाणित गर्न सकेनन्। सन् २०१४ मा दिल्लीका एक मन्त्रीले नाइजेरियन नागरिकका डेरामा छापा मार्न चलाएको अभियान धब्बाका रूपमा अझै मेटिएको छैन। महामारीका वेला ‘नर्थ–इस्ट’ का नागरिकमाथि ‘चिनियाँ’ भन्दै गरिएको भेदभावले थप समस्या देखाइदियो।’
त्यसैले प्रथमतः अहिलेको इन्डिया हामीले आदर्श मान्ने उहिलेको लोकतान्त्रिक इन्डिया होइन भनेर बुझ्न जरूरी छ।
बिजोगमा शैैक्षणिक संस्था
कल्पना गर्नाेस्, जहाँका विश्वविद्यालयमा आफ्ना सहकर्मीको आत्महत्याको निष्पक्ष छानबिनको माग गर्दा प्रहरी प्रशासन लगाएर विदेशी विद्यार्थीलाई रातारात रेल्वे स्टेशनमा लगेर छाडिन्छ भने त्यो देशमा गएर तपाईंका बच्चाले के शिक्षा आर्जन गर्लान्? ती त्यहाँ कति सुरक्षित होलान्? विद्यार्थीको गम्भीर गुनासो नसुनी आत्महत्याको स्तरसम्म पुर्याउने विश्वविद्यालय प्रशासनको जिम्मामा पठाइएको हाम्रा १७ वर्षे कलिला नानीहरूको तिनले कसरी गर्लान् सुरक्षाको ग्यारेन्टी? तर अहिलेको इन्डियाको विद्रूप स्वरूप नै यही हो। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश इन्डियामा यो ‘हरिबिजोग’ रातारात भएको होइन। यसको ऐतिहासिक पृष्ठभूमि छ।
समाज कति सुरक्षित छ भन्ने जाँच्न पहिला त्यो देशको सञ्चार क्षेत्र कति स्वतन्त्र छ भनी हेर्ने गरिन्छ। यो जाँच्ने संस्था ‘रिपोर्टर्स विदआउट बोडर्स’ को रिपोर्ट अनुसार इन्डिया प्रेस फ्रीडम इन्डेक्समा १८० देशमध्ये १५९औं नम्बरमा पर्छ।
जाति र धर्मलाई राजनीतिक अस्त्र बनाई सन २०१४ मा शासनसत्तामा आएको भाजपाले नागरिकका अधिकार संकुचन गर्दै लग्यो। मानव अधिकार हनन हुँदै गयो। नर्थ-इस्टमा मैतेई र कुकीबीच भएको जातीय द्वन्द्वमा (३ मे–१५ नोभेम्बर २०२३) १७५ जना मान्छे मारिए भने ६० हजार बेघरबार भए। तैपनि सरकारले त्यो जातीय हिंसालाई ‘देख्या नदेख्या’ गर्यो।
भाजपाले जाति र धर्मको विषाक्त राजनीतिक आधारमा समाजलाई बाँड्दै लग्यो। त्यसले समाज तहसनहस बनायो। विश्वविद्यालय परिसरमा निष्पक्ष छानबिनको माग राख्दा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीको आवाज बन्द गर्न बलप्रयोग गर्नु यही राजनीतिको पछिल्लो अभ्यास थियो। अहिलेको इन्डियन राजकाज यसरी नै चलिरहेको छ। यस्तो वातावरणमा नेपाली विद्यार्थी मात्र होइन, इन्डियन विद्यार्थी नै सुरक्षित छैनन्।
२०७३ सालमा इन्डियामा स्वतन्त्रताको प्रतीक मानिएको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु)मा मुथुकृष्णन जीवानन्थमले प्रकृतिले झैं पंखामा झुन्डिएर आत्महत्या गरे। तर उनको आक्रोश अति तानाशाहीकरण र साम्प्रदायीकरण भएको इन्डियन सत्ताप्रति थियो। उनले झुन्डिनुअघि फेसबूकमा लेखे– ‘जहाँ समानता स्विकारिंदैन, त्यहाँ केही पनि स्वीकार्य हुँदैन। ...प्रशासन भवनमा हुँदै आएको विद्यार्थीको विरोध कार्यक्रममा बन्देज लगाइयो। सीमान्तीकृतका लागि शिक्षा स्वीकार्य मानिएन।’ त्यसअघि हैदराबाद विश्वविद्यालयका दलित विद्यार्थी रोहित भेमुलाले जातीय विभेद सहन नसकी आत्महत्या गरेका थिए। यो सबै प्रकरणका पछाडि भाजपाको विद्यार्थी संगठनको हात थियो।
भाजपाका विद्यार्थी संगठन एभीबीपीले सत्ता र शक्तिको आडमा देशभरका शैक्षणिक संस्थानलाई ‘भगवाकरण’ (साम्प्रदायीकरण) गरेपछि रोहित र मुथुकृष्णनहरूलाई आत्महत्याको बाटो रोज्न बाध्य पारियो। आत्महत्या नगर्ने स्वतन्त्र चिन्तकहरूलाई जेलमा थुनियो या त तिनको हत्या गरियो। भगवाकरण हुँदै गएको सत्तासँग प्रश्न गर्ने महाराष्ट्रका ८२ वर्षीय लेखक गोविन्द पन्सारेलाई गोली हानी हत्या गरियो। लगत्तै कन्नड लेखक तथा तर्कशास्त्री एमएम कल्बुर्गीको हत्या गरियो। उनले तथ्यका आधारमा लिंगायतवादलाई स्वतन्त्र र तार्किक धर्मका रूपमा गरेको व्याख्या कट्टर हिन्दूत्ववादी राजनीति गर्ने भाजपालाई मन परेन, उनी भाजपा समर्थकद्वारा मारिए।
त्यसैले त्यहाँका नागरिक मातृभूमि छाडेर सुरक्षित थलो खोज्दै विदेश उडिरहेका छन्। यसरी स्थायी रूपमा थातथलो छाड्नेको संख्या बढ्दै गएको छ। हरेक वर्ष एक लाख इन्डियन नागरिकले नागरिकता त्यागेर विदेशी नागरिकता लिएको तथ्यांक छ।
एकातर्फ प्रधानमन्त्री नरेन्द्र मोदी इन्डियालाई ‘विश्वगुरु’ (शैक्षिक हब) बनाउने घोषणा गर्दै हिंडेका छन् भने अर्कातर्फ हरेक वर्ष बाहिर पढ्न जाने इन्डियन विद्यार्थीकै संख्या अचाक्ली बढ्दो छ। मोदी सरकारले सन् २०४७ सम्म पाँच लाख विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य राखे पनि ‘अत्यन्त खतरनाक’ हुँदै गएको इन्डियामा अहिलेसम्म जम्मा करीब ५० हजार विदेशी विद्यार्थी मात्र भर्ना भएका छन्। बरु त्यसको तुलनामा इन्डियाबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या चाहिं बढिरहेको देखिन्छ।
यो साल मात्र बाहिर पढ्न जाने इन्डियन विद्यार्थीको संख्या १३ लाख थियो। आप्रवासनमा इन्डिया शीर्ष स्थानमा छ। वार्षिक २५ लाख इन्डियन नागरिक विश्वका कुनाकाप्चा पुगिरहेका छन्।
यसलाई सुरक्षासँग जोडेर हेर्नेहरू पनि छन्। केहीले इन्डियाको पढाइ राम्रो भनेर गुणगान गाए पनि अध्ययन रिपोर्टले त्यस्तो देखाउँदैन। त्यहाँ शिक्षाले राम्रो परिणाम दिनुपर्नेमा बालश्रम, शोषण, भेदभाव र हिंसाको शिकार भइरहेको अध्ययनले देखाउँदछ।
त्यहाँको शैक्षिक धरातल नै कमजोर रहेकामा थप साम्प्रदायिक राजनीतिको विषले शैक्षिक वातावरण झन् दूषित हुन गएको छ। हामीले अहिलेको विद्रूप इन्डियाको वास्तविकता नबुझेर पुरानै इन्डिया सम्झेर आफ्ना बच्चा पढाइरहेका छौं। टाइम्स अफ इन्डियाका अनुसार इन्डियामा अध्ययन गर्न आउने विदेशी विद्यार्थीमा नेपाली विद्यार्थीको संख्या शीर्षमा पर्छ। शैक्षिक सत्र २०२१/२२ मा कुल ४६ हजार ८७८ विदेशी विद्यार्थीमध्ये १३ हजार १२६ जना नेपाली थिए।
यी विद्यार्थीले प्रकृति जस्तो आत्महत्या गर्नुपर्ने अवस्था त नआउला, तर विषाक्त समाज र बोल्न नपाइने शैक्षणिक वातावरणमा तपाईं हाम्रा बच्चाले के सिकेर फर्केलान्? ती ज्ञानवान् भएर फर्केलान् कि बलात्कारी भई फिर्लान्? गम्भीर मन्थन गर्न जरूरी भइसक्यो। त्यसैले इन्डियन नागरिक नै डराएर देशबाट भागिरहेको त्यहाँको भयावह वातावरणमा हामीले प्लस टू गरेका १६-१७ वर्षका बच्चालाई पढ्न पठाउनुअघि सय चोटि सोच्नुपर्ने वेला भएको छ।