‘सरकारी कामप्रति घृणा जागेपछि फोटोको पोस्टकार्ड बनाएर बेचें’
‘फोटोग्राफीमा लाग्दा एकातिर आफैं मालिक हुने भएँ, अर्कोतिर मैले जानेको कलाबाट संसारलाई आफ्नो देश चिनाउन सकिने भयो।’
चार दशकभन्दा लामो समयदेखि फोटोग्राफीमा सक्रिय नाम हो, मणि लामा। आफ्ना फोटो सिर्जनालाई उनले किताब आकारमा पनि प्रकाशन गर्दै आएका छन्। नेपाल : द हिमालयन किङ्डम (२०४८ साल) र बौद्ध : रिस्टोरिङ द ग्रेट स्तूप (२०७७) प्रकाशन गरेका उनको हालै तेस्रो फोटो किताब नेपाल इन् मोनोक्रोम सोसल साइन्स बहाः बाट प्रकाशनमा आएको छ।
किताबमा उनले हिमाल, पहाड र तराईको जनजीवन, प्राकृतिक सौन्दर्य, जातजाति झल्काउने फोटो समेटेका छन्। यही किताब र उनको फोटोग्राफी यात्राबारे हिमालखबरको स्तम्भ किताबका कुरामा लेखक लामासँग गोपाल दाहालले गरेको कुराकानीको सम्पादित अंशः
श्यामश्वेत फोटोको किताब प्रकाशन गर्नुभएछ। यसको योजना कसरी बन्यो? किताबबारे कस्ता प्रतिक्रिया पाइरहनुभएको छ?
धेरै वर्षअघिदेखि मेरा मित्र वसन्त थापाले मैले खिचेका फोटोको ‘ब्ल्याक एन्ड ह्वाइट’ किताब निकाल्ने बताइरहनुभएको थियो। तर ढिलाइ भएपछि ‘म मरिसकेपछि गर्ने?’ भनेर मैले जिस्काउन थालें। त्यसपछि उहाँ कस्सिनुभयो र यो किताब सोसल साइन्स बहाःबाट प्रकाशनमा आयो। किताब निस्किएकामा एकदमै खुशी छु।
किताब सार्वजनिक भएको दिनमै ६० वटा जति बिक्री भएछ। त्यसपछि पनि चिनेजानेका साथीभाइ र किताबबारे थाहा पाएकाहरूले किनिरहेका छन्। मुख्य चाहिं, फोटोबूक र त्यो पनि श्यामश्वेत भएकाले नेपालमा नयाँ कुरा भयो। हामीकहाँ श्यामश्वेत फोटो त पहिलादेखि नै खिचिन्थे, तर किताब नै निस्केको मलाई थाहा छैन।
किन श्यामश्वेत फोटोकै किताब निकाल्नुभयो?
मैले फोटोग्राफी श्यामश्वेतबाटै शुरू गरेको हुँ। सन् १९५० को दशकमै बुबाले मलाई क्यामेरा दिनुभएको थियो। ६० को दशकदेखि फोटो खिच्न थालें। त्यस वेला कलर फिल्म नै थिएन। काठमाडौं मखन टोलमा रहेको राज फोटो हाउसबाट एक रोल रील एक रुपैयाँमा किन्थें। फोटो खिचेर त्यहाँ डेभलप गर्न जाँदा पैसा लिंदैनथे, बरु फोटोग्राफीमा रुचि बढोस् भनेर एक रुपैयाँमा अर्को रील दिएर पठाउँथे।
मैले फोटोग्राफी श्यामश्वेतबाटै शुरू गरेकाले धेरै फोटो त्यस्तै थिए। वसन्तजीले पनि ‘ब्ल्याक एन्ड ह्वाइटमै गरौं, युनिक पनि हुन्छ’ भन्ने सल्लाह दिनुभयो। श्यामश्वेतमा पुरानो नेपाल झल्किन्छ। पुराना दिनको अनुभूति आउँछ।
मैले फोटो खिच्दाखिच्दै १९७० को दशकतिर कलर फिल्म आयो। कलर ल्याबहरू खुल्न थाले। त्यसपछि कलर, ब्ल्याक एन्ड ह्वाइट र स्लाइड खिच्न थालें। पोस्टकार्ड बनाउन थालें। त्यस वेला नेपाललाई चिनाउने माध्यम पोस्टकार्ड नै थियो।
यो फोटो किताबमा हिमालदेखि तराईसम्मका संस्कृति, प्रकृति र जीवनशैली समेटिएको देखिन्छ। यसभित्रका फोटो कति अवधिमा खिच्नुभएको हो?
यसमा शुरूआतदेखि अहिलेसम्मका फोटो समेटिएका छन्। फोटो मसँग टन्नै छन्। वसन्तजीले किताब बनाउने भनेपछि पुराना नेगेटिभ स्क्यान गरेर मिल्ने विषयवस्तु छान्यौं। पहिला त मैले विदेशका फोटो पनि राखेको थिएँ। वसन्तजीको सल्लाहमा नेपालको मात्र राखेर किताब निकालिएको हो।
पहिलेका दुई किताब र तेस्रोमा के-कस्ता कुरा फरक छन्?
पहिलो किताबमा स्लाइडबाट खिचेका कलर फोटोहरू राखेर पर्यटकलाई नेपाल दर्शाउने किसिमले तयार पारिएको थियो। जोसुकैले हेर्दा वाह भनेर उपहार लैजाऊन्, किनून् भनेर बनाइएको थियो। त्यसमा मैले घुमेका हिमालदेखि तराईसम्मका फोटो थिए।
दोस्रो किताब बौद्ध स्तूप सम्बन्धी हो। यो किताब कसरी तयार भयो भन्नेबारे रोचक रचनागर्भ छ। २०७२ सालमा भुइँचालो आउँदा म बौद्धमै थिएँ। एउटा कफी शपमा कफी पिउन लाग्दा भुइँचालो आयो। हामी भागेर अलि पर गयौं। एकछिनमा अलि थामिएपछि मलाई धेरैतिरबाट फोन आयो। साथीहरूले ‘नेपालमा त भयंकरको भुइँचालो आएको रहेछ, बौद्धको अवस्था के छ?’ भनेर सोध्न थाले। त्यसपछि मोबाइल बोकेर बौद्ध परिक्रमा गर्दै फोटो खिच्न थालें। त्यति वेलासम्म बौद्ध भत्किएको थिएन, ठाउँ ठाउँका भाग भने खस्न थालेका थिए।
लेखक मणि लामा। तस्वीरहरू: सुमन नेपाली/हिमालखबर
वेलावेला परकम्प आइरहेकाले के हुने हो थाहा थिएन। त्यसै क्रममा कग्युक्पा मोनास्ट्रीले बौद्ध पुनर्निर्माणका लागि कमिटी गठन गर्यो। भुइँचालो गएको दुई महीनापछि पुनर्निर्माणका काम धमाधम हुन थाल्यो। एकदिन बौद्धको गेटमा पुग्दा ट्रकमा सयौं बाँस ल्याइएको देखें। यो त मेरा लागि फोटो खिच्ने अवसर हो भन्ने सोच आयो। त्यसै वेलादेखि बौद्ध पुनर्निर्माणको फोटो दैनिक खिच्न थालें। म त बौद्धकै बासिन्दा र त्यसमाथि चिनियाँ लामाको सन्तान भएकाले सबैले चिन्छन्। म पनि मिलनसार नै छु। त्यसैले फोटो खिच्न कुनै असहजता र व्यवधान भएन। डेढ वर्षमा फोटो खिच्दाखिच्दै निर्माण सम्पन्न भयो।
बौद्ध स्तूपमा भूकम्पले क्षति पुर्याएको र निर्माण थालिएदेखि पूरा हुँदासम्मको सबै फोटो खिचेको थिएँ। साथीहरूले यी फोटोको किताब निकाल्नेबारे सोधे। मैले पैसा नभएको बताएपछि ‘गो फन्ड मी’ अभियानबाट पैसा जुटाउने कुरा भयो। ५/६ हजार डलर उठायौं। त्यसपछि वज्र पब्किलेशनमा गएर किताब प्रकाशनबारे प्रस्ताव राख्दा १५ लाख रुपैयाँ लाग्ने कुरा आयो। हामीले आफूसँग भएको पैसा दिएपछि प्रकाशकले थप पैसा आफैं हाल्छौं भने। किताब एकदम अन्तर्राष्ट्रिय स्तरको छापियो। हेर्नेहरूले मन पराए।
अमेरिकाका मिमी चर्च नामका प्रोफेसरले बौद्धकै इतिहासबारे अनुसन्धान गरेका रहेछन्। उनको अनुसन्धानको सारांश यो किताबमा समेटियो। अरू ६/७ जना साथीले अन्तर्वार्ता र विभिन्न सामग्री जुटाए। यो किताब राम्रो भएकाले निकै खुशी छु।
तपाईंले आफू चिनियाँ लामाको सन्तान भएको प्रसंग निकाल्नुभयो। तपाईंका जिजुबाजे चीनबाट नेपाल घुम्न आउनुभएको थियो। पछि उहाँलाई जंगबहादुर राणाले नेपालमा राखेको भनिन्छ। खास कुरा के हो?
मेरो बाजेको पनि बाजे पहिलो चिनियाँ लामा हुनुहुँदो रहेछ। त्यस वेला तिब्बत, चीन, बर्मा, लद्दाख, श्रीलंकाबाट आउने बौद्ध तीर्थयात्रीको मुख्य जङ्क्सन बौद्ध नै रहेछ। हिउँद याममा उनीहरू घुम्न आउँथे। बस्नका लागि कतिपय आफ्नै पाल लिएर आउँथे, कति चाहिं स्थानीयका घरमा बस्दा रहेछन्। बौद्धलाई मुख्य थलो बनाएर उनीहरू स्वयम्भू, नमोबुद्ध लगायत स्थानमा पनि जाँदा रहेछन्। काठमाडौं उपत्यकाबाट बाहिर गाडी नचल्ने भएकाले लुम्बिनी जान चाहिं निकै गाह्रो रहेछ, समय र पैसा धेरै लाग्ने भएकाले। जाडो महीना सकिएपछि सबै आफ्नो देशतिर फर्किंदा रहेछन्।
त्यसै क्रममा मेरो बाजेको बाजे पनि सिचुवानबाट तीर्थयात्रामा आउनुभएको रहेछ। अरू मान्छेहरू फर्किए, तर उहाँ चाहिं यतै पशुपतिको गुफामा योगीहरूसँगै तप गरेर बस्नुभएछ। त्यस वेला नेपाल र तिब्बतको लडाइँ चलिरहेको थियो। जंगबहादुरको दरबारमा खबर पुगेछ, ‘चिनियाँ लामा जस्तो मान्छे पशुपतिको गुफामा तप गरेर बसेको छ, जासूस पो हो कि!’ जंगबहादुरले उहाँलाई बोलाएर सोधखोज गरेछन्। उहाँले ‘म त सीआईडी होइन, बुद्धको देशमा धर्म सिक्न आएको’ भन्नुभएछ।
जंगबहादुरले ‘त्यसो भए नेपाल-तिब्बतको लडाइँ मिलाउन सहयोग गरेर देखाऊ’ भनेपछि दुई पटक नेपाली टोलीसँग तिब्बत जानुभएछ। लडाइँ साम्य भएछ। जंगबहादुर खुशी भएर ‘तिमी के चाहन्छौ?’ भनेर सोधेछन्। उहाँले ‘नेपालमा बस्न पाए हुन्थ्यो’ भन्नुभएछ।
जंगबहादुरले आफ्नी तामाङ्नी भित्रिनीतर्फकी छोरीसँग मेरा बाजेका बाजेको विवाह गराइदिएर बौद्ध, स्वयम्भू र लुम्बिनीमा पुस्तौंपुस्तासम्म पुजारी हुन पाउने गरी ताम्रपत्र बनाइदिएछन्। उहाँहरूबाट एउटा छोरा जन्मिएछ। त्यस वेला बौद्धमा चैतको पूर्णिमामा तामाङ जात्रा हुँदो रहेछ। जात्रामा मेरा बाजेको बुबाले पूर्व काभ्रेका तामाङ दिदीबहिनीसँग विवाह गर्नुभएछ। उनीहरूबाट सात छोरा र ६ छोरी सन्तान भएछन्। त्यसरी बौद्धमा चिनियाँ लामाको सन्तान फैलिएछन्।
ती सात भाइ छोरामध्ये तपाईंको बाजे चाहिं कतिऔं सन्तान?
उहाँ साइँलो छोरा हुनुहुँदो रहेछ। उहाँलाई कलकत्तामा रवीन्द्रनाथ ट्यागोर कलेजमा पढ्न पठाइएछ। उहाँले त्यहाँ अंग्रेजी, हिन्दी जस्ता भाषाको ज्ञान लिनुभयो। फर्किएपछि चिनियाँ लामाको पद उहाँले नै पाउनुभयो। उहाँपछि मेरो बुबा चिनियाँ लामा बन्नुभयो। बुबापछि मेरो जेठो दाइ बन्नुभयो।
त्यसपछि माइला दाइले जेठा दाइलाई ‘तपाईं सोझो हुनुहुन्छ’ भनेर गुठी संस्थान र अदालतमा गई ताम्रपत्र देखाएपछि उहाँ लामा हुनुभयो। माइला दाइ बितेपछि उहाँको छोरा हुनुपर्नेमा मेरो काकाको छोरा चिनियाँ लामा छ।
अहिले चाहिं तपाईंहरू बौद्धको मात्र लामा हैन?
हो। मेरो बाजेको बुबाले लुम्बिनी जान टाढा भयो, स्वयम्भू पनि हिंडेर जान टाढै भयो भनेर ‘बौद्धको मात्र पुजारी हुन पाऊँ सरकार’ भनेर राणा प्रधानमन्त्रीलाई भन्नुभएछ। त्यसपछि स्वयम्भू र लुम्बिनी छाडेर उहाँहरू बौद्धको मात्र पुजारी हुनुभयो।
तपाईं एकातिर पुजारीको सन्तान, अमेरिकामा कृषि पढ्नुभयो। फोटोग्राफीमा कसरी लाग्नुभयो?
त्यसको अर्कै कथा छ। आफूले कलकत्तासम्म गएर अंग्रेजी पढेका मेरा बाजेले सन् १९५५ मा म र काकाको छोरालाई अंग्रेजी पढाउन जावलाखेलको सेन्ट जेभियर स्कूलमा भर्ना गरिदिनुभयो। कक्षा ४ पछि उक्त स्कूलको पढाइ गोदावरीमा हुन्थ्यो। मेरो दाइ (काकाको छोरा) खूब चकचक गर्थ्यो। गोदावरीमा रूख चढ्दा लडेर दाइलाई पटनामा लगी अप्रेशन गर्नुपर्यो।
त्यो घटनापछि बाजेले हामीलाई त्यो स्कूलबाटै निकालेर पद्मोदय स्कूलमा हालिदिनुभयो। त्यहाँ एक वर्ष पढेर म नन्दी रात्रि पाठशालामा भर्ना भएँ। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र म एसएलसीका एउटै ब्याची हौं।

महेन्द्र-रत्न क्याम्पसमा पढ्दा मेरो मिल्ने साथी हुनुहुन्थ्यो, नरेन्द्र प्रधान। उहाँकै संगतले फोटोग्राफीमा मेरो रुचि बढेको हो। फोटो खिच्नु नै उहाँको ध्याउन्न थियो। कलेज सकेर घुम्न जाँदा उहाँ र म क्यामेरा बोक्थ्यौं। त्यही शुरूआती रुचि पछि गएर मूल बाटो बन्यो। त्यहाँसम्म कसरी मोडिएँ भन्ने पृष्ठभूमि बताउँछु।
महेन्द्र-रत्नमै पढ्दै गर्दा मलाई अमेरिकी अनुसन्धाता डा. मिचेलले काम गर्न प्रस्ताव गरे। बाबाले अनुमति दिएपछि उनको सहायक भएर शुरूमा अनुवादको काम गरें। पछि उनले ‘फिल्डवर्क’ का सबै कुरा सिकाए। उनीहरूसँग कतै जाँदा १०/१५ दिनदेखि एक महीनासम्म बस्थ्यौं। विभिन्न ठाउँमा पासो थापेर मुसा, छुचुन्द्रा, लोखर्के समात्ने र तिनमा भएका किर्ना, उपियाँ, जुम्रा अल्कोहल भएको बोतलमा हालेर संकलन गरिएको ठाउँ र नम्बर लेख्ने हाम्रो काम थियो। तिनलाई काठमाडौं हुँदै अमेरिका पठाइन्थ्यो। त्यसबाट के के रोग फैलिएका छन् भनेर अध्ययन हुँदो रहेछ।
त्यस वेला कागबेनीभन्दा माथि विदेशीहरूलाई जाने अनुमति थिएन। त्यही भएर होला, मेरा बोस डा. मिचेलले मलाई सबै कुरा सिकाए। तालीम लिएर म चार-पाँच वटा खच्चडमा आवश्यक सामग्री र खानेकुरा बोकाएर त्यता लागें। मैले उपल्लो मुस्ताङको चराङमा संकलन गरेको किर्ना दुर्लभ खालको रहेछ। पाँच वटा किर्ना अमेरिका पठाएको थिएँ।
किर्नामा ५० वर्ष अनुसन्धान गरिसकेका हाम्रो टीमको प्रमुख डा. हुक्स्टलले त्यत्रो अवधिमा पनि मैले फेला पारेको जस्तो ‘न्यू जिनियस’ किर्ना भेट्नुभएको रहेनछ। उहाँ काठमाडौं आउनुभयो र गजब काम गरेको भनेर खुशी हुँदै संकलित किर्ना अनुसन्धानका क्रममा नाश हुने भन्दै फेरि मुस्ताङ जान आग्रह गर्नुभयो। मैले फेरि मुस्ताङबाट अरू पाँच वटा त्यस्तै किर्ना भेटेर ल्याइदिएँ। उहाँ एकदमै खुशी भएर हिमालय क्षेत्रमा भेटिएको उक्त नयाँ किर्नाको वैज्ञानिक नाम मेरो नाम जोडेर ‘अनुमलोहिमालय लामा’ राखिदिनुभयो।
त्यो परियोजना सन् १९६९ को अन्तिममा सकिएपछि डा. मिचेलले मेरो अबको योजनाबारे सोध्दा अमेरिका गएर पढ्ने इच्छा रहेको र त्यसका लागि छात्रवृत्ति पाए राम्रो हुन्थ्यो भनें। उनले पढ्न चाहेको कुरा सहित अमेरिकाको कलेजमा चिठी लेख्न भने। कृषिप्रधान देश भएकाले कृषि पढेर केही गर्न पाए हुन्थ्यो भन्ने सोचेर त्यही अनुसार चिठी लेखें। छात्रवृत्ति पाएर अमेरिकामा कृषि पढ्न शुरू गरें। फोटोग्राफी पनि दुई सेमेस्टर पढें। कवितादेखि योगसम्म सिक्न पाएँ। त्यहाँ ग्राजुएशन भएपछि अझै अगाडि पढ्न अर्को कलेजमा गएँ। त्यहाँ छात्रवृत्ति नपाएपछि खर्चको जोहो गर्नुपर्यो।
मैले अमेरिका जाँदा काठमाडौंको मन्दिर र हिमालको फोटो खिचेर सय वटा स्लाइड पनि लगेको थिएँ। त्यहाँको लायन्स क्लबमा ती स्लाइड देखाउने क्रममा चिनजान भएका ब्यांकका मेनेजर एक सहृदयी अमेरिकीबाट १५ सय डलर ऋण पाएँ र विश्वविद्यालयमा भर्ना भएँ।
पाँच वर्ष अमेरिका बसेर बीएसए एग्रिकल्चर पढेर फर्किएँ। केही समय कृषि सम्बन्धी संस्थामा काम गर्ने र छात्रवृत्ति पाइयो भने एमएस्सी, पीएचडीका लागि विदेश गएर पढ्ने अनि आएर देशको कृषि क्षेत्रमा केही नयाँ काम गर्ने सोच थियो। जागीर पाइन्छ कि भनेर कृषि मन्त्रालय पुगें। तर त्यहाँका मान्छे त ‘लामा, अमेरिकाबाट?’ भनेर हाँसे। मलाई एकदमै नराम्रो लाग्यो।
सन् १९७७ मा धनकुटा पाख्रिबासको कृषि केन्द्रले मेरै डिग्रीवाला दुई कर्मचारी खोजेको रहेछ। मैले निवेदन दिएँ। यहाँका हाकिमले अन्तर्वार्तापछि छानेर मलाई पठाए। बल्लतल्ल जागीर पाएको खुशीमा गएँ। काठमाडौंदेखि धरानसम्म बसमा र त्यहाँबाट हिंडेर पाख्रिबास। त्यहाँ पुगेपछि त हाकिमले ‘लामाजी, यहाँ लाहुरेको भाइ पनि छ, फेरि इन्टरभ्यू गर्नुपर्छ’ भने। मैले काठमाडौंबाटै अन्तर्वार्ता पास गरेर आएको बताए पनि फेरि अन्तर्वार्ता लिए र लाहुरेको भाइ छनोट भएको बताए। म भीरबाट खसे जस्तो भएँ। लाज पनि लाग्यो। कृषि क्षेत्र मेरा लागि होइन रहेछ भनेर फर्किएँ। त्यसपछि फोटोग्राफर साथीहरूसँग फोटो खिच्दै हिंड्न थालें।
विदेशमा पढेर आएपछि नेपालको कृषि क्षेत्रमा के गर्न चाहनुहुन्थ्यो?
पीएचडी गरेर कृषिमा नयाँ काम गर्न चाहन्थें। अहिले नेपालमा अर्गानिक खेतीको लहर छ। हामीले पढ्दै गरेको वेला नै कतिले रासायनिक मल हालेर र कतिले अर्गानिक खेती गरिरहेका छन् भन्ने थाहा हुन्थ्यो। अनुदानका नाममा विभिन्न देशले रासायनिक मल दिए, पछि त्यसैमा भर पर्न थालियो। त्यसबाट बच्न विस्तृत अध्ययन गर्न पाए देशका लागि राम्रो हुन्थ्यो भन्ने लागेको थियो। तर देशका लागि गर्नेलाई यहाँ प्रोत्साहन र साथ छैन। जस्तै, महावीर पुनले अहिलेसम्म आफूले जानेका कुरा प्रयोग गर्न नपाएर लडिरहनुपरेको छ। सरकारले सहयोग गरेको छैन।
तपाईंले सरकारबाट त सहयोग पाउनुभएन, तर पढेको ज्ञानलाई आफ्नै तहबाट प्रयोग गरूँ, फार्म खोलूँ जस्तो लागेन?
मैले आफ्नै फार्म गरेको भए स्याउको फार्म मात्र हुन्थ्यो। म अझै पढ्न चाहन्थें, तर त्यसका लागि खर्च गर्ने क्षमता थिएन। सरकारले जागीर वा कुनै छात्रवृत्ति दिएर पठाए हुन्थ्यो भन्ने सोचेको थिएँ। तर निराश भएँ।
तपाईं पहिले पोस्टकार्ड, पोस्टर बनाएर विदेशी पर्यटकलाई बिक्री गर्नुहुन्थ्यो रे। त्यसको अनुभव सुनाउनुस् न।
हाम्रो कर्मचारितन्त्रको ताल र जातीय भेदभाव देखेपछि सरकारी कामप्रति घृणा जाग्यो र आफूले खिचेका फोटोको पोस्टकार्ड बनाएर बेच्न थालें। फोटोग्राफीमा लाग्दा एकातिर आफैं मालिक हुने भएँ, अर्कातिर मैले जानेको कलाबाट संसारलाई आफ्नो देश चिनाउन सकिने भयो। यस क्षेत्रमा अहिलेसम्म खुशी छु।
त्यस वेला घरेलु विभागबाट पोस्टकार्ड छापिन्थ्यो। फोटोग्राफर श्रीधर मानन्धरले १५/२० प्रकारका पोस्टकार्ड बनाउनुहुन्थ्यो। जापान सरकारले हजारौं प्रति छापेर पठाउने तिनै पोस्टकार्ड वर्षौंसम्म बजारमा हुन्थ्यो। मैले नरेन्द्रजीसँग सल्लाह गरें। उहाँले श्यामश्वेत पोस्टकार्ड बनाई हेरौं भनेर छाप्नुभयो। त्यो पनि चल्दो रहेछ, तर स्तरीय भएन।
मैले साथीहरूबाट थाइल्यान्ड, सिंगापुर, हङकङ, जापानका पोस्टकार्ड मगाएर हेरें, तिनको गुणस्तर धेरै राम्रो थियो। मैले खिचेका फोटोबाट १८ वटा छानेर सिंगापुरमा छापेर ल्याएँ। ती पोस्टकार्ड त्यस वेला बजारमा ‘हटकेक’ नै भए। त्यसपछि फोटोको विविधता थप्दै गएँ।
तर सन् १९८९ मा नेपाल-भारतको सम्बन्ध बिग्रिएकाले सीमामा नाकाबन्दी भयो। त्यसपछि जनआन्दोलन भयो। पर्यटक नआएपछि पोस्टकार्ड थन्किए, वर्षामा भिजेर नष्ट भए। सन् १९९१ मा सबैभन्दा चलेका पोस्टकार्ड छानेर सिंगापुरबाट ३६ प्रकारका छापेर ल्याएँ। त्यसबाट पहिले भएको नोक्सान पूर्ति भयो। त्यसपछि बजारमा पोस्टकार्ड कम्पनीहरू निस्किए। उनीहरूसँग रोयल्टी लिएर फोटो छाप्न दिएँ।

ती पोस्टकार्ड कहाँ बिक्री हुन्थे?
विदेशी पर्यटक आउने काठमाडौं, पोखरा लगायत ठाउँमा बिक्री हुन्थे। विदेशीहरू आफू घुमेका ठाउँको चिनोका रूपमा पोस्टकार्ड लिएर जान्थे। त्यस वेलासम्म मोबाइल फोन नभित्रिएकाले पोस्टकार्डको निकै महत्त्व थियो।
विदेशी एजेन्सी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि पनि धेरै फोटो खिच्नुभयो है?
डिजिटल क्यामेरा र मोबाइल फोन निस्किएपछि पोस्टकार्ड बनाउन छाडेर फोटो सम्बन्धी प्रोजेक्ट दिन आईएनजीओलाई आग्रह गरें। त्यति वेलासम्म मेरो फोटोग्राफीबारे धेरै विदेशीलाई थाहा भइसकेको थियो। सन् १९९० मा युनिसेफकी प्रमुख रिना गिलले ‘गर्ल चाइल्ड’ प्रोजेक्ट दिनुभयो। त्यसमा मैले आफैं नेपालका नौ जिल्ला छानेर फरक फरक जातीय समुदायका बालिकाको फोटो खिच्नुपर्ने थियो। सोलुखुम्बु, भक्तपुर, काठमाडौं, डोल्पा, धनगढी, कास्की लगायत ठाउँमा विभिन्न जातिका बच्चा भेटेर उनीहरूका अभिभावकसँग अनुमति लिएर फोटो खिचें। त्यस वेला धेरै ठाउँमा घुम्न पाएँ। त्यसबाट फोटोग्राफीमा रुचि झनै बढ्यो।
फोटो खिच्न देशका प्रायः सबै जिल्लादेखि विदेशसम्म पुग्नुभयो। कुनै अविस्मरणीय क्षण छन् कि?
फोटो खिच्न जाँदा भरिया लिएर जान्थें। गाउँलेले छोटो बाटो देखाउँथे, त्यस्तो बाटो हिंड्दा हिउँमा चार-पाँच घन्टा फस्नुपरेको छ। तर त्यहाँबाट निस्किएर जब गन्तव्यमा पुगिन्थ्यो, ज्यान बच्यो भनेर धेरै खुशी भइन्थ्यो। त्यस्ता घटना धेरै छन्।
मलाई नेपालका विभिन्न समुदाय र उनीहरूका संस्कृतिबारे फोटो खिच्न मन लाग्छ। चार-पाँच वटा भाषा जानेको छु। विभिन्न समुदायको बस्तीमा पुग्दा उनीहरूका भाषा बोलेर फोटो खिच्न मनाउँथें। उनीहरूसँग रमाइलो कुरा गर्दै फोटो खिचिन्थ्यो। विभिन्न जातजातिका मानिसले गरेका काम र उनीहरूका मुहार क्यामेरामा कैद गर्न मैले देशका ७४ जिल्ला घुम्न पाएँ। मुगु चाहिं जान पाएको छैन।
नेपालमा फोटो प्रदर्शनी गर्ने चलन तपाईंहरूले नै शुरू गरेको भनिन्छ। यसबारे बताइदिनुस् न।
सन् १९८० को दशकमा नेपालको फोटोग्राफी सोसाइटी थियो, ‘ग्याप’ भन्ने। त्यसमा वसन्त थापा, हरिवंश किरात लगायत हुनुहुन्थ्यो। त्यसपछि उहाँहरू मिलेर एनपीएस भन्ने समूह बनाउनुभएको रहेछ। फ्रान्सेली सांस्कृतिक केन्द्रमा उहाँहरूको प्रदर्शनी हुँदा मलाई पनि बोलाउनुभयो। मेरो पहिलो फोटो प्रदर्शनी त्यहीं भएको हो। त्यस वेलादेखि म पनि एनपीएसको सदस्य बनें। मलाई लाग्छ, त्यसभन्दा अघि ग्यापको एउटा फोटो प्रदर्शनी भएको थियो।
पहिले एनालग क्यामेराले फोटो खिच्नु र अहिले डिजिटल क्यामेराले फोटो खिच्नुमा के फरक छ?
एनालग प्रविधिमा खिच्दा रील चाहिने भएकाले महँगो पर्थ्यो। कुनै प्रोजेक्टमा जानुपर्दा १०/१२ वटा रील बोकेर गइन्थ्यो। एउटा सब्जेक्टलाई तीन चोटि खिचेर एउटा गजब निकाल्नुपर्थ्यो। त्यसमा कतिपय प्रयास खेर जान्थ्यो।
अहिले डिजिटल क्यामेराबाट जति खिचे पनि भयो। एउटा फोटो चाहिएको छ भने ४० वटा खिच्दा पनि हुन्छ। धेरै शट खिचेर राम्रो छान्न पाइने भयो। एनालग क्यामेराको जमानामा विदेशतिर जाँदा रील सुरक्षित राख्न शीशाको ब्याग बोक्नुपर्थ्यो। कहिलेकाहीं ब्याग यताउता गरेर बिगारिदिन्थे। अहिले त्यस्तो समस्या छैन।
अहिले त स्मार्टफोनले घडी, रेडियो, क्यामेरा सबैलाई खाइदियो भनिन्छ। प्रविधिको यो विकासबारे के भन्नुहुन्छ?
अहिले म एनालग क्यामेराले खिच्दै खिच्दिनँ। मैले पहिले चलाएका ठूला-साना क्यामेरा म्यूजियम बक्समा राखेको छु। पछि छोरीहरूले कुनै आर्काइभलाई दिन्छन् कि के गर्छन्, थाहा छैन। अहिले डिजिटलले मलाई सजिलो बनाएको छ। अहिले केही नजान्नेले पनि यूट्यूबमा हेरेर फोटोग्राफी सिक्न सक्छन्।
प्रविधिको विकासले सजिलो बनाएको छ। तर यस्तो विकाससँगै मान्छेलाई समस्या पनि उत्तिकै छ। मान्छेहरू सडक र चोकको बीचमा नाचेर बसेका देखिन्छन्। बौद्धमा धर्म गर्न आउनेहरूलाई व्यवधान हुनेगरी नाच्नेहरू छन्। मोबाइल फोनको सदुपयोगसँगै दुरुपयोग पनि उत्तिकै छ।
फोटोग्राफी क्षेत्रमा अब के के गर्ने योजना छ?
मसँग त अझै ३०/४० हजार स्लाइड छन्। ती स्क्यान गरेपछि फेरि अर्को किताब बन्ला।
चार दशकभन्दा लामो समय फोटोग्राफी गरेपछि फोटोग्राफी भन्नु चाहिं के रहेछ जस्तो लाग्छ?
लेखकका लागि कागज र कलम दिए जस्तै हो, मेरा लागि क्यामेरा। लाइट र सब्जेक्ट पाउने बित्तिकै मिलाएर पेश गर्न पाएदेखि धेरै खुशी लाग्छ।
अन्तिममा, फोटोग्राफीमा लाग्न चाहने नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ?
अस्ति मैले किताब सार्वजनिकीकरणको वेला पनि फोटो प्रदर्शनी गरेको थिएँ। त्यहाँ काठमाडौं विश्वविद्यालयका केही विद्यार्थी पनि आएका थिए। उनीहरूलाई के सुझाव दिएँ भने, फोटोग्राफीमा हिंडेपछि कहिलेकाहीं आफूले खोजेका सब्जेक्ट भेटिंदा पछि आएर खिच्छु भन्न हुँदैन, तत्क्षण खिचिहाल्नुपर्छ। त्यहाँबाट टाढा पुगिएको छ भने पनि फर्केर खिच्नुपर्छ। किनभने, त्यो समय फर्केर आउँदैन।
किताबका कुराका थप सामग्री
- ‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
- ‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
- भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
- ‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
- ‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
- ‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
- ‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
- ‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
- ‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
- ‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’