‘भिडिओ बनाउन छाडेर अस्पताल लगेको भए प्रकृतिलाई बचाउन सकिन्थ्यो’
भारतको केआईआईटी कलेजको लापरवाहीले प्रकृति लम्सालको ज्यान गएको प्रत्यक्षदर्शी विद्यार्थीले बताएका छन्।
उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत प्रकृतिले आत्महत्या गरेकी थिइन्। कलेज सञ्चालकको डर, त्रास र दबाबमा नेपाल फर्किएका विद्यार्थीले लम्साललाई तत्कालै अस्पताल लगेको भए बाँच्न सक्ने बताएका छन्।
प्रकृतिसँगै सप्तरीको राजविराजकी कञ्चन दास र मिताली यादव एउटै कोठामा बस्दै आएका थिए। फागुन ४ मा मिताली केही कामले छात्रावास बाहिर गएकी थिइन्। कञ्चन भने आफ्नै जिल्लाकी सहपाठी आरती रायको कोठामा थिइन्।
आरतीको कोठाबाट कञ्चन आफ्नो कोठा फर्किइन्। तर कोठा भित्रबाट बन्द गरिएको थियो। प्रकृति सुतिरहेकी होलिन् भन्ने ठानेर उनी आरतीकै कोठामा आइन्।
“अहिले प्रकृति सुतेकी छ, एकछिन यतै बस्छु,” कञ्चनको भनाइ उदृत गर्दै राजविराजमा भेटिएकी आरती भन्छिन्, “अपराह्न ४ः३० बजेतिर कञ्चन कोठामा हेर्न गएकी थिइन्।”
झन्डै आधा घण्टापछि कञ्चन पुनः कोठामा गइन्। त्यस वेलासम्म कोठा भित्रबाट बन्दै रहेको पाइएको आरती बताउँछिन्। “माथि सिसाको भेन्टिलेशनबाट पंखामा केही झुन्डिएको जस्तो देखियो,” उनी भन्छिन्, “यसपछि बार्डेन रश्मिता राउतलाई जानकारी गरायौं। उनी १५ मिनेटपछि मात्र आइपुगिन्।”
वार्डेन आएपछि भेन्टिलेशन तोडेरभित्र छिरी ढोका खोल्दा प्रकृति पंखामा झुन्डिएको अवस्थामा भेटिएको आरती बताउँछिन्। “प्रकृतिलाई झुन्डिएको देखे लगत्तै म डोरी खोल्न थालें,” उनी भन्छिन्, “तर वार्डेन बन्दिता म्यामले मलाई खोल्नै दिइनन्। पहिला भिडिओ बनाउन देऊ, अनि डोरी खोल्नू भनेर आदेश दिइन्।
प्रकृतिको सास चलिरहेको अनूभूति भएपछि तत्काल अस्पताल लग्न अनुरोध गरेको उनी सुनाउँछिन्। तर वार्डेनले भिडिओ बनाउन थालेको आरतीको भनाइ छ। भिडिओ बनाएर मात्र प्रकृतिलाई अस्पताल लगेपछि आफूहरूलाई भने बाहिर राखेको उनी बताउँछिन्।
प्रकृतिलाई कलेजकै अस्पतालमा लगिएको थियो। आकस्मिक कक्षमा नलगी जेनरल वार्डको बाहिर राखिएको विद्यार्थीको भनाइ छ। “केही मिनेटमा म गएर हेर्दा प्रकृतिलाई कुनै स्वास्थ्यकर्मीले चेक गरेका थिएनन्,” उनी भन्छिन्, “त्यति वेलासम्म प्रकृतिका दाजु पनि आइसकेका थिए, उनलाई पनि छिर्न दिइएन।”
वार्डेनले प्रकृतिको ज्यान गइसकेको जानकारी गराएको आरती बताउँछिन्। “शायद भिडिओ बनाउन १५ मिनेट ढिलो नगरी प्रकृतिलाई अस्पताल लगेको भए बचाउन सकिन्थ्यो कि,” आरती भन्छिन्।
घटनापछि आफूले नै प्रकृतिका बुबालाई फोन गरेर जानकारी गराएको आरती बताउँछिन्। “ज्यानै गइसकेको भनेर त भन्ने आँट भएन, समस्या छ भनें,” उनी भन्छिन्, “प्रकृतिका बुबा पनि भोलिपल्ट बिहानै निस्किने भन्नुभयो।”
आफूले प्रकृतिका अभिभावकलाई जानकारी गराउनुअघि कलेजले कुनै जानकारी नदिएको उनी सुनाउँछिन्। “अंकल हजुरलाई कलेजबाट कुनै फोन गएको छ त भनेर सोध्दा उहाँले कुनै फोन या जानकारी नआएको बताउनुभयो,” आरती भन्छिन्।
विद्यार्थीमाथि आक्रमण
प्रकृतिको ज्यान गएको दिन कलेजमा तीनदिवसीय किट फेस्टको अन्तिम दिन थियो। धेरै विद्यार्थी कार्यक्रमतिरै थिए। प्रकृतिबारे सूचना बाहिरिए लगत्तै नेपाली विद्यार्थी अस्पतालतर्फ लागे। केही भारतीय विद्यार्थी पनि नेपालीको साथमा आए। तर उनीहरूलाई टाढै रोकियो।
“हामीले प्रकृतिबारे जानकारी माग्यौं, तर कलेज प्रशासन केही भन्न तयार भएन,” फर्केर आएका सिभिल इन्जिनीयरिङका विद्यार्थी ऋषभ सिंह भन्छन्, “उल्टै धम्की दिन थालियो।”
प्रकृतिलाई न्यायको माग गर्दै काठमाडौंमा भएको प्रदर्शन।
उनी राति ११ बजेतिर प्रकृतिको मृत्युको जानकारी पाएको बताउँछन्। यसपछि आईआरओ निर्देशक, डिन सबैलाई फोन गर्दा समेत कसैले नउठाइदिएको उनको भनाइ छ। “राति १ बजेतिर उपकुलपति आउनुभयो र उहाँले न्याय मिल्ने आश्वासन दिनुभयो,” उनी भन्छन्।
ऋषभका अनुसार त्यतिन्जेल दोषी आफ्नो कोठामै थिए। उनलाई नियन्त्रणमा लिन भन्दा कलेजका प्राध्यापकहरू आक्रोशित हुँदै तथानाम भन्न थालेको उनी सुनाउँछन्।
प्रकृतिलाई फोनमा गालीगलौज गर्ने दोषीलाई पक्राउ नगरेको, उनको मोबाइल-ल्यापटप नियन्त्रणमा लिन नमान्दा फागुन ५ गते बिहान ४ बजे नेपाली विद्यार्थीले सडक जाम गरेका थिए। यसमा भारतीय विद्यार्थीले पनि साथ दिएका थिए।
त्यसपछि कलेजका प्राध्यापकहरू आएर जथाभावी आन्दोलन गरे नराम्रो हुने चेतावनी दिएको उनी बताउँछन्। “कलेजका प्राध्यापकहरूले धम्की दिइरहँदा विद्यार्थीहरू सडकमै सुते,” उनी भन्छन्, “यसपछि चार-पाँच ट्रकमा आएका प्रहरीले सडक खाली गराए। खाली गराए लगत्तै कलेजका सुरक्षागार्ड, प्राध्यापक, कर्मचारी समेतले कुट्दै बलजफ्ती बसमा बसाएर रेल्वे स्टेशन पुर्याए।”
केहीलाई भुवनेश्वर र केहीलाई कटक रेल्वे स्टेशनमा छाडिएको ऋषभ बताउँछन्। सडक जाम गर्ने मात्र होइन, प्रकृतिको घटनाबारे केही जानकारी नपाई कोठामा सुतिरहेका नेपाली विद्यार्थीलाई समेत बलजफ्ती बसमा बसाएर रेल्वे स्टेशन छाडिएको उनी सुनाउँछन्। “कतिपयसँग रकम थिएन, कतिपयको एटीएम नै कोठामा छुटेको थियो,” उनी भन्छन्, “एकअर्कालाई सहयोग गर्दै जसोतसो नेपाल आइपुग्यौं।”
अरू वेला २४ घण्टाको यात्रामा पुगिने नेपाल आइपुग्न ६० घण्टा लागेको भुवनेश्वरबाट आएका विद्यार्थीले बताएका छन्। भुवनेश्वरबाट कलकता, सिलिगुडी, कतिपय जोगबनी त कतिपय पटना हुँदै नेपाल फर्केका छन्।
कलेजका प्राध्यापक र कर्मचारी गालीगलौजका साथै एक्कासि कुटपिटमा उत्रिंदा आफूहरू चकित परेको अर्का विद्यार्थी नवीनकुमार मण्डल बताउँछन्। “के न्याय माग्दा यस्तै भोग्नुपर्छ?” उनी भन्छन्, “हामीलाई हेप्न खोजेको देखियो।”
उडिसाबाट फर्केर स्वदेश आएका विद्यार्थी अहिले पनि त्रसित छन्। कलेजले विद्यार्थीको भविष्यसँग खेलबाड गरेको उनीहरूको आरोप छ। “हरेक नेपाली विद्यार्थीको सुरक्षाको जिम्मा लिनुपर्छ,” सिभिल इन्जिनीयरिङको अन्तिम सेमेस्टरमा अध्ययनरत ऋषभ भन्छन्, “यसपछि प्रकृतिलाई न्याय दिनुपर्छ।”
आफूहरूमाथि हात उठाउने प्राध्यापकलाई कलेजबाट निकाल्नुपर्ने र नेपालीलाई छुट्टै भवनमा राख्नुपर्ने विद्यार्थीको माग छ। फर्केर आउने झन्डै ६०० विद्यार्थी छन्। केही भारतमै आफन्तकहाँ बसेका छन् भने केही आउन लागेको जानकारी आफूले पाएको अर्का विद्यार्थी प्रजितकुमार यादव बताउँछन्।