पर्यटकीय शहरलाई फोहोरको पिरलो
स्थानीय बासिन्दासँगको विवाद, दीर्घकालीन योजनाको अभाव र नयाँ ल्यान्डफिल साइटको टुंगो नहुँदा पोखरेलीले फाल्ने फोहोरले पर्यटकीय शहरलाई पिरोलिरहेको छ।
मन्दिरछेउको धर्मशालामा शंख, घण्ट र भजनको ध्वन सुनिनुपर्ने हो। तर पोखराको राधाकृष्ण मन्दिरस्थित धर्मशालामा शिक्षक-विद्यार्थीको आवाज सुनिन्छ। विद्यार्थीले पाठ कण्ठस्थ पारिरहेको आवाज टाढैसम्म गुन्जिन्छ।
पोखरा महानगरपालिका-३२, लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थी गत असारदेखि यही धर्मशालामै बसेर पढिरहेका छन्। लामेआहालस्थित चिटिक्क परेको पक्की विद्यालय भवनमा ताला लागेको छ। “विद्यार्थी असुरक्षित भएपछि विद्यालय छोडेर धर्मशालामा आएका हौं,” प्रधानाध्यापक प्रकाश रेग्मी भन्छन्।
ल्यान्डफिल साइटका कारण स्कूल छोडेर धर्मशालामा पढिरहेका विद्यार्थी। तस्वीरहरू : दुर्गा राना मगर/हिमालखबर
विद्यार्थीलाई असुरक्षित बनाउने कारक हो, ल्यान्डफिल साइट। पोखरा महानगरपालिकाले ६ महीनाका लागि भनेर दुई वर्षअघि लामेआहालमा फोहोर फाल्न थालेको थियो। त्यसले छेउमै रहेको विद्यालयको पठनपाठनमा समस्या आउन थाल्यो। दुर्गन्धले कक्षाकोठामा बस्नै गाह्रो हुने गरेको विद्यार्थी सुनाउँछन्।
गत असारदेखि भने अर्को समस्या पनि थपियो। पहिले अलि घुमाउरो बाटो भएर फोहोरका गाडी गुड्थे। असारयता भने विद्यार्थी आवतजावत गर्ने छोटो बाटो भएरै फोहोर बोक्ने गाडी गुड्न थालेको प्रधानाध्यापक रेग्मी बताउँछन्। “विद्यालयकै बाटो प्रयोग भयो। फोहोर बोक्ने गाडी द्रुत गतिमा चल्छन्। विद्यार्थी ल्याउन र लैजान समस्या भयो। विद्यार्थी असुरक्षित भए,” उनी भन्छन्।
विद्यार्थीको सुरक्षाका लागि विद्यालयले अर्को उपाय पनि निकालेको थियो, विद्यार्थी आउने र जाने समयमा गाडी रोक्नुपर्ने। “बिहान आधा घण्टा र बेलुकी आधा घण्टा गाडी नचलाइदिनुस् भनेका थियौं, तर सुनुवाइ भएन,” प्रधानाध्यापक रेग्मी भन्छन्, “विभिन्न जिल्लाबाट विद्यार्थी ल्याएका छौं। उनीहरूको सुरक्षाको जिम्मा त हाम्रो हो। एक त दुर्गन्धले पढाउनै मुश्किल थियो, झन् असुरक्षा बढेपछि धर्मशालामा आयौं।”
मालेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय।
लामेआहालमा पक्की विद्यालय भवन छ। चिटिक्क परेका कक्षाकोठा छन्। बेन्च-टेबल छन्। पठनपाठनका लागि सबै व्यवस्था छ। विद्यार्थीलाई खेल्ने फराकिलो मैदान छ। तर त्यो सबै छोडेर विद्यार्थी र शिक्षक गत असारदेखि धर्मशालामा आश्रय लिइरहेका छन्।
यो धर्मशाला भवन गुरुकुलको भने होइन। राधाकृष्ण मन्दिरको हो। धर्मशाला भवन पनि निर्माणाधीन छ। कोठाभित्र प्लास्टर गरिएको छैन। झ्यालढोका छैनन्। “चिसोमा पठनपाठन गर्न साह्रै गाह्रो भयो,” प्रधानाध्यापक रेग्मी भन्छन्।
राधाकृष्ण विद्यालयमा कक्षा ६ देखि १० सम्म पढाइ हुन्छ। देशका विभिन्न जिल्लाबाट आएका ३० विद्यार्थी यहाँ अध्ययनरत छन्। ल्यान्डफिल साइट व्यवस्थित नहुँदासम्म पठनपाठनका लागि यस भवनलाई प्रयोग गर्न सक्ने बनाउन महानगरलाई अनुरोध गरे पनि सुनुवाइ नभएको उनी बताउँछन्। “भवन अधुरै छ। निर्माण सम्पन्न गरिदिनुहोस्, झ्यालढोका बनाइदिनुहोस् भनेर पोहोर निवेदन दिएका थियौं, अहिले पनि निवेदन दियौं, तर वास्ता गरेनन्,” उनी दुखेसो गर्छन्।

नसुल्झेको समस्या
पोखरा महानगरले विद्यालयको मात्रै होइन, फोहोर व्यवस्थापनमा पनि चासो देखाएको छैन। पोखराको फोहोरमैलाको स्थायी व्यवस्थापनको टुंगो नलागेको दुई वर्ष नाघेको छ। फोहोरका कारण लामेआहाल क्षेत्रका बासिन्दा सास्ती खेपिरहेका छन्। वेलावेला उनीहरू विरोधमा उत्रिंदा पूरै पोखरामा फोहोर थुप्रिने गरेको छ।
यसअघि २०७९ मंसीरसम्म सेती नदीको किनार पोखरा-१४, बाच्छेबुडुवामा फोहोर फ्याँकिंदै आएको थियो। त्यो ठाउँमा फोहोर फाल्न २०६१ सालमा १५ वर्षका लागि महानगर र स्थानीय बासिन्दाबीच सम्झौता भएको थियो। सम्झौता सकिएसँगै स्थानीय बासिन्दा विरोधमा उत्रिए। सम्झौता अनुसार पोखरा महानगरले काम नगरिदिएको भन्दै उनीहरूले पटक पटक अवरोध गर्दै आएका थिए। तैपनि पोखरा महानगरले फोहोर फाल्न छाडेको थिएन।
फोहोर पुर्दा बनेको थुम्को।
जब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भयो, त्यसपछि भने बाच्छेबुडुवाको ल्यान्डफिल साइट हटाउनै पर्ने भयो। त्यसको विकल्पका रूपमा पोखराका विभिन्न ठाउँ हेरिएका थिए। तर जहाँ पनि स्थानीय बासिन्दाले विरोध जनाए। त्यसपछि अस्थायी विकल्पका रूपमा हाल फोहोर फालिंदै आएको पोखरा-३२ स्थित लामेआहाल रोजिएको थियो।
विमानस्थल सञ्चालन गर्नुपर्ने भएकाले ६ महीनाका लागि भनेर २०७९ मंसीरबाट लामेआहालमा पोखराको फोहोर व्यवस्थापन गर्न थालियो। तर सम्झौता अनुसार काम नभएपछि पुनः विवाद बल्झियो। २०८० साउन २४ मा स्थानीय बासिन्दा र महानगरबीच १४ बुँदे सम्झौता भई अस्थायी रूपमा पोखराको फोहोर विसर्जन गर्ने सहमति जुट्यो।
सम्झौतामा विसर्जनस्थलमा फोहोर ल्याइएपछि तत्कालै माटाले पुर्ने, फोहोरको अनुपातमा दैनिक माटोको व्यवस्थापन हुनुपर्ने, कवाडीजन्य सामग्री संकलनमा निषेध गरिनुपर्ने, पूर्वाधार निर्माण गरिनुपर्ने लगायत बुँदा थिए। तर त्यस अनुसार काम नभएको स्थानीय बासिन्दा बताउँछन्।
अस्थायी रूपमा भनिएको फोहोर व्यवस्थापन प्रक्रियामा पनि लापरवाही हुँदै आएको छ। सेती किनार नै छुनेगरी फोहोर फालिएको छ। त्यसमाथि फोहोर विसर्जनस्थल लामेआहाल बस्ती नजीकै छ।
.jpg)
फोहोर फाल्दै आएको ठाउँ बाढीले भासिएको थियो। त्यसको व्यवस्थापन पनि हुने सोचले फोहोर विसर्जन गरिएको हो। तर व्यवस्थापनमा ध्यान नदिंदा दुर्गन्धले टिकिनसक्नु हुने गरेको स्थानीय बासिन्दा बताउँछन्। यस बस्तीमा ३५० परिवार बस्दै आएका छन्। महानगरलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
स्थानीयको ‘अल्टिमेटम’
ल्यान्डफिल साइटका लागि पोखरा महानगर र लामेआहालका बासिन्दाबीच भएको सम्झौताको म्याद गत माघ २५ मा सकिएको छ। म्याद सकिएसँगै स्थानीय बासिन्दाले फोहोर विसर्जन गर्न पुगेका गाडीलाई फोहोर फाल्न अवरोध पुर्याएका थिए। त्यसपछि पाँच दिनसम्म पोखराका सडकमा फोहोर थुप्रियो।
त्यति वेला पोखरा महानगर भने ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणाको तयारीमा जुटेको थियो। भ्रमण वर्ष घोषणाकै लागि भनेर स्थानीय बासिन्दासँग १५ दिनको समय मागिएको थियो। उनीहरूले फागुन १५ सम्म मात्र फोहोर फाल्न दिने बताएका छन्।
भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किंदा जलनले घाइते भएका पोखरामा मेयर धनराज आचार्य फागुन ९ मा अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। अहिले उनी घरमै आराम गरिरहेका छन्।
.jpg)
मेयरमा निर्वाचित भए लगत्तै पुरानो ल्यान्डफिल साइटको समयावधि सकिएपछि आचार्यका लागि फोहोरको स्थायी व्यवस्थापन टाउको दुखाइ बन्दै आएको छ। पटक पटक फोहोर विसर्जनमा अवरोध हुँदा पर्यटकीय शहर पोखरा दुर्गन्धित बन्दै आएको छ।
मेयर आचार्यले अहिले अस्थायी व्यवस्थापन रहेकाले छिटै यसको दीर्घकालीन समाधान खोज्ने बताउँदै आएका छन्। पोखरेलीले विसर्जन गर्ने फोहोरलाई व्यवस्थापन गर्न पोखरा-३३ मा प्रशोधन केन्द्र निर्माण गर्ने योजना बुनेको वर्षौं भइसक्यो, तर उपलब्धि शून्य छ।
यही समस्याबीच लामेआहालका बासिन्दाले फागुन १५ देखि फोहोर फाल्न नदिने बताएका छन्। लामेआहाल रहेको पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की स्थानीय बासिन्दाका माग पूरा गर्ने हो भने समस्या समाधान हुने बताउँछन्। “गर्मीमा अलि समस्या हुन्छ, दुर्गन्ध आउँछ,” वडाध्यक्ष कार्की भन्छन्, “बीचमा सम्झौता अनुसार फोहोरलाई माटाले नपुर्दा दुर्गन्धले बस्नै नसक्ने अवस्था आएको थियो। सम्झौता अनुसार काम भए समस्या नआउला।”
पोखरा महागनरकी उपमेयर मञ्जुदेवी गुरुङ सबै पक्षसँग छलफल गरेर समस्या सुल्झाउने बताउँछिन्। “सबैसँग छलफल गर्छौं, बैठक बसेर निर्क्योलमा पुग्छौं,” गुरुङ भन्छिन्।
सेती नदीछेउमै रहेको ल्यान्डफिल साइट।
पोखरा महानगरबाट दैनिक सय टनभन्दा बढी फोहोर निस्किन्छ। त्यसलाई दैनिक ३० गाडीले लामेआहाले पुर्याउँछन्। तर उचित व्यवस्थापन हुन नसक्दा लामेआहाल क्षेत्रका बासिन्दा सास्ती खेपिरहेका छन्। उनीहरूसँग राधाकृष्ण विद्यालयको जस्तो विकल्प पनि छैन।
उसो त विद्यालयलाई पनि धर्मशालामा पठनपाठन गर्न सजिलो छैन। विद्यालय फर्किन सक्ने अवस्था नभएकाले दुखजिलो गरेर पढाइलाई निरन्तरता दिइरहेको प्रधानाध्यापक रेग्मी बताउँछन्।
पोखरेलीको फोहोरले लामेआहालका बासिन्दा, राधाकृष्ण विद्यालयका शिक्षक-विद्यार्थीलाई मात्रै होइन, जनप्रतिनिधिलाई पनि पिरोलिरहेको छ। स्थानीय बासिन्दासँगको विवाद, दीर्घकालीन योजनाको अभाव र नयाँ ल्यान्डफिल साइटको टुंगो नहुँदा फोहोरको समस्याले पर्यटकीय शहर पोखरालाई नै पिरोल्ने देखिन्छ।