जब गुन्जियो ‘गोपाल धुन’
दर्शकदीर्घामा गोपाल योञ्जनलाई देखेपछि मञ्चबाट एउटा राष्ट्रिय गीत गाउन आग्रह भयो। एकैछिन भन्दै बाहिर निस्केका गोपाल आधा घण्टामा नयाँ गीत लेखेर आए र गाए, ‘धेरै छ गर्नु स्वदेशको सेवा, नेपाली बन्नलाई।’
हे विनायक, हे गणनायक!
गायिका बानिका प्रधानले गोपाल योञ्जनको यो भजन सुनाए लगत्तै सिर्जना सिंह योञ्जन मञ्चमा देखा परिन्। सिर्जना गोपालकी छोरी हुन्। गोपालको यो भजन हालसम्म रेकर्ड भएको छैन।
थोरै औपचारिक कार्यक्रम र सांगीतिक धुनसँगै सिर्जनाले उद्घोषणका लागि राजेश पाण्डेलाई मञ्चमा बोलाइन्। राजेशले बोलाए, रिन्छेन योञ्जनलाई। उनी गोपाल योञ्जनकी पत्नी हुन्। त्यसपछि शुरू भयो, गोपालबारे गफगाफ।
रिन्छेनले पाँच दशकअघिको संसारमा लगिन्। गोपालसँगका सम्झना सुनाउन शुरू गरिन्।
५७ वर्षअघि अर्थात् २०२४ सालको हिउँदमा रिन्छेन दार्जीलिङबाट काठमाडौं आइपुगिन्। दार्जीलिङमै पढ्दै गरेकी उनी स्कूल बिदामा घुम्नका लागि काठमाडौं पुगेकी थिइन्।
त्यति वेला राम्रोसँग अंग्रेजी लेख्न र बोल्न सक्ने मान्छेलाई काठमाडौंमा जागीर पाउन गाह्रो थिएन। रिन्छेनलाई सेन्ट जेभियर्स स्कूलमा बोलाइयो। भर्खर १८ वर्ष टेकेकी रिन्छेनले ‘जागीर गरौंला, नेपालमै बसौंला’ भन्ने सोचेकै थिइनन्। पढाएर ‘पकेट मनी’ कमाउने लोभ थियो, उनमा।
सेन्ट जेभियर्समा शिक्षकका रूपमा प्रवेश गरेको पहिलो दिन नै पुस्तकालय जाँदा एउटा अनौठो र मीठो धुन सुनिन्। कोही मग्न भएर गीत गाइरहेको देखिन्। उनी पनि मन्त्रमुग्ध भएर सुनिरहिन् र गीत सकिएपछि चूपचाप फर्किइन्। गीत गाउने मान्छेको अनुहार पनि हेरिनन्।
युवावस्थामा गोपाल योञ्जन।
गीत गाउने मान्छे गोपाल योञ्जन हुन् भन्ने उनलाई के थाहा? खासमा रिन्छेनले गोपाल योञ्जनको नाम सुनेकै सेन्ट जेभियर्समा जागीर पाएपछि थियो। साथी अनुराधा कोइरालाले एक दिन भनिन्, “तँ कति ‘लक्की’, गोपाल योञ्जनसँग काम गर्नेवाला रहेछस्।”
“किन लक्की?” रिन्छेनले अचम्म मानेर सोधिन्।
“त्यस्तो राम्रो गीत लेख्छ, गाउँछ,” अनुराधाले सुनाइन्।
बिटल्सका अंग्रेजी गीतकी ‘फ्यान’ रिन्छेनले त्यति वेलासम्म गोपाल योञ्जन त के, अरू नेपाली गीत पनि खासै सुनेकी थिइनन्।
रिन्छेनले सानै छँदा सुनेका नेपाली गीत जम्मा दुइटा थिए, ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो...’ र ‘हरियो डाँडामाथि, हलो जोत्ने साथी...।’
अनुराधाले कुरा गर्दा रिन्छेनलाई लागेको थियो, ‘गोपाल योञ्जन भनेको बूढो मान्छे होला, बिहे गरेको, चार-पाँच बच्चाको बाउ होला।’
“भोलिपल्ट म रानीपोखरीबाट बसमा चढें, गोपाल थापाथलीबाट। बसमा हाम्रो कुराकानी भयो,” रिन्छेनले रोमाञ्चित हुँदै पहिलो भेटको स्मरण गरिन्, “त्यस वेला मैले थाहा पाएँ, गोपाल योञ्जन इज योङ, गुड लुकिङ।”
गोपाल-रिञ्छेन योञ्जन। तस्वीर सौजन्य: रिञ्छेन योञ्जन
फागुन ३ को साँझपख राष्ट्रिय सभा गृहमा रिन्छेनले यति बोल्दा दर्शकदीर्घामा हाँसो छुट्यो। गोपाल योञ्जनको पुस्तक लोकार्पणका लागि आयोजित समारोहमा राजनीति, शिक्षा, कला, संगीत लगायत विविध क्षेत्रका विशिष्ट व्यक्ति दर्शकदीर्घामा खचाखच थिए। मञ्चमा रहेका रिन्छेन र राकेशले गोपालबारेका गफगाफलाई निरन्तरता दिए।
रिन्छेन र गोपालको भेट हुनुभन्दा अगाडिको कुरा हो। रिन्छेन रेडियो नेपालमा अंग्रेजी समाचार पढ्थिन्। भारतको मिरिकमा गोपालका मामा हरेक साँझ रेडियो नेपालको अंग्रेजी समाचार सुन्दा रहेछन्। “त्यति वेलासम्म हाम्रो परिवारको समेत चिनजान थिएन। मामाले चाहिं हरेक साँझ अंग्रेजी समाचार सुनेपछि हाम्रो गोपालका लागि यो केटी चाहिं ल्याउनुपर्छ भन्नुहुँदो रहेछ,” रिन्छेनले बिहेपछि थाहा भएको कुरा सुनाइन्।
‘होइन भने नेपाली नभन’
राष्ट्रिय सभागृहमा गोपाललाई सम्झिंदा रिन्छेन भावुक बनिन्। सभागृहकै एउटा घटना सुनाइन्। “एकदिन गोपाल र म यही सभागृहमा कार्यक्रम हेरिरहेका थियौं। गोपाललाई दर्शकदीर्घामा देखेपछि आयोजकले ‘गोपाल दाइ, तपाईं पनि यहाँ आउनुभएको रहेछ। एउटा राष्ट्रिय गीत गाइदिनुपर्यो’ भनेर अनुरोध गरे,” रिन्छेन सम्झिन्छिन्।
त्यसपछि गोपाल ‘एकछिन पर्ख’ भनेर हल बाहिर निस्किए। आधा घण्टामा नयाँ गीत लेखेर आए। आफ्नै संगीतमा कार्यक्रममा सुनाए।
धेरै छ गर्नु स्वदेशको सेवा, नेपाली बन्नलाई।
शिर ठाडो पारी नेपाली भन्ने, म नै हुँ भन्नलाई।।
होइन भने नेपाली नभन,
वीरको छोरा नातिमा नगन।
काठमाडौं आएपछि गोपाल २०२३ सालतिर त्रिभुवन विश्वविद्यालयमा नेपाली पढ्न जान्थे। रिन्छेनका अनुसार काठमाडौंमा बाहिरबाट आएका विद्यार्थीलाई हेर्ने दृष्टिकोण राम्रो थिएन। त्यही ‘आइडेन्टिटी क्राइसिस’ भोगेका गोपालको मन दुखेको थियो। “गोपाल दार्जीलिङबाट आएको, नेपाललाई अति नै माया गर्थ्यो, तर यहाँको माहोल अर्कै थियो,” रिन्छेन सुनाउँछिन्, “बाहिरका विद्यार्थी आक्रोश बोकेर आएका हुन्थे। उनीहरूमा ‘के काठमाडौं मात्र नेपाल हो त? हाम्रो नेपाल खोइ त?’ भन्ने हुन्थ्यो।”
गोपालले त्यसै भावनामा एउटा गीत लेखेः
भनिदेऊ नेपाली दाइ
मेरो देश कहाँ पर्यो?
रिन्छेनले गोपालसँगको भेट, प्रेम प्रसंगदेखि गीतका कथा सुनाउँदा दर्शक एकहोरिएका देखिन्थे। बीच-बीचमा नयाँ पुस्ताका गायक-गायिकाबाट गोपालका पुराना गीत गुन्जिंदा ताली बजाएर साथ दिन्थे। यहीबीच रिन्छेनले आफूलाई मन नपरेको गोपालको गीतको प्रसंग झिकिन्।
बाँचिदिन्छु तिम्रै निम्ति,
मरिदिन सक्दिनँ।
गोपालको यो गीत दार्जीलिङतिर युवा पुस्ताले खुब मन पराउँथ्यो। रिन्छेनलाई भने यो गीत मनै पर्दैनथ्यो। “मेरा लागि माया-प्रेम भनेको त कसैले रातो गुलाब लिएर आउने, चक्लेट लिएर आउने। मेरा लागि ‘मरिदिन सक्छु’ भन्ने हुनुपर्छ जस्तो लाग्थ्यो। रोमियो जुलियट जस्तो,” उनी ती शब्द बल्ल महसूस गर्न थालेको सुनाउँछिन्, “अहिले बुझ्दा ‘मरिदिन सक्दिनँ’ भन्नुको मतलब ‘तिम्रा लागि अझ धेरै गर्नु छ’ भनेको रहेछ।”
अहिले भने उनलाई यो गीत खूब मन पर्छ।
यस्तै, गोपालले आफ्ना लागि गाएको ‘यति चोखो, यति मीठो’ गीत अहिले जताततै सबैले प्रेमी-प्रेमिकालाई समर्पण गरेको देख्दा पनि रिन्छेनलाई कहिलेकाहीं दिक्क लाग्छ। फेरि मनमनै सोच्छिन्, ‘गोपालले कस्तो गीत बनाएछ, हरेक प्रेमीले महसूस गर्न सक्ने।’
रिन्छेनले गोपालको बाँसुरी बजाउने कलाको पनि प्रशंसा गरिन्। “बाँसुरीबाटै आफ्नो सांगीतिक करिअर शुरू गरेकाले उसको संगीतमा बाँसुरीले एकदमै ठूलो भूमिका खेलेको छ,” उनी भन्छिन्।
त्यही वेला बाँसुरीवादक रत्न विकले बाँसुरीको धुनमा गीतको लय टिपे, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा।’
‘जल्नेहरू जलेर खरानी भएछन्’
आजभन्दा ५९ वर्षअघि गोपालले डायरीमा केही शब्द लेखेका रहेछन्। जसमा नारायण गोपालसँग भेट भएको र मीत लगाएको प्रसंग छ। कार्यक्रम उद्घोषकले डायरीका तिनै पाना पढेर सुनाए।
२०२२ वैशाख ९ गते
आज नेपालका सुप्रसिद्ध गायक श्री नारायण गोपालसँग भेट भयो। उहाँ मेरो घरमा आउनुभएछ, म थिइनँ। साह्रै दुःख लाग्यो।
पछि हतार हतार गएर भेटें। उहाँको गायनले मलाई आकर्षित पार्यो।
दोस्रो दिन
उहाँलाई लिएर म अनि बल्लभ दाइ (ईश्वर बल्लभ) दिनभरि घुम्यौं। मेरो भ्वाइलिन एक्जाम थियो, त्यो पनि भुसुक्कै बिगारें। हिजो पटक्कै पढिएको थिएन।
हामी घुमघाममा थियौं। उहाँले मीत लगाउने प्रस्ताव राख्नुभयो। मलाई योभन्दा खुशीको कुरा के हुन सक्छ?
तेस्रो दिन
बिहानै बल्लभ दाइकहाँ गएँ। हामीले मीत लायौं। बल्लभ दाइले बाहुन पढे। मज्जा आयो।
चौथो दिन
आज साहित्य परिषद्द्वारा उहाँसित भेटघाटको आयोजना गरिएको थियो। जल्नेहरू जलेर खरानी भएछन्। धूवाँले केही धमिलो बनायो भेटघाट, तर हामीलाई पोलेन।
यति वेला रिन्छेन भने मञ्चमा मुसुमुसु हाँसिरहेकी थिइन्। उनलाई गोपालका लतपतिएका अक्षर देखेर हाँसो उठेको रहेछ। “म त उसले लेखेको ‘लभ लेटर’ पनि नपढ्ने, किनभने उसले यस्तै (नचिनिने) ‘राइटिङ’ मा लेख्थ्यो,” उनी सम्झिन्छिन्।
कुनै वेला गोपालसँगै काम गरेका मिथिला शर्मा, सुक्मित गुरुङ, इन्दिरा मास्के, विमला राई लगायत कलाकर्मी दर्शकदीर्घामा बसेर रिन्छेनको कुरामा सहमति जनाइरहेका थिए। नयाँ पुस्ताका गायक-गायिका गीत सुनाइरहेका थिए। “अहिलेसम्म गोपालका कृति हामी परिवारले संरक्षण गर्यौं,” रिन्छेनको प्रस्ताव आयो, “अब गोपालका गीत, संगीत र सिर्जनाको संरक्षण र सुरक्षाका लागि नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छु। कोही हुनुहुन्छ तयार?”
हल सुनसान भयो। रिन्छेन अलि निराश देखिइन्। “तपाईंहरूमध्ये कोही चार जना भए पनि हामी तयार छौं, खुला हृदयले स्वागत गर्छौं,” उनको आग्रह थियो, “अहिले नै भन्न अप्ठ्यारो भए बाहिर भेटेर वा कुनै वेला खबर गर्न सक्नुहुन्छ।”
रिन्छेनले गोपालका गीत-संगीतका दस्तावेज तयार पारेकी छन्। अब छोराछोरी, नातिनातिनीलाई हस्तान्तरण गर्ने उनको इच्छा छ।
गोपाल योञ्जनबारे बोल्दै छोरी सिर्जना सिंह योञ्जन।
किताब लोकार्पणका लागि फेरि मञ्चमा उक्लिएकी गोपाल-रिन्छेनकी छोरी सिर्जनाले केही गुनासो पनि पोखिन्। “बुबाका पुराना सहकर्मीसँग किताबका लागि कुरा गर्दा कतिले खुला दिलले डायरीको पानै दिनुभयो, ममीसँग विवाह हुनुभन्दा अगाडिका उहाँका कतिपय साथीले कुरा सुनाउन पनि कन्जुस्याइँ गर्नुभयो,” उनी किताब निकाल्नुको उद्देश्य सुनाउँछिन्, “कतिपय पुस्तक निस्किएका पनि छन्, तर कतै कपोलकल्पित कथा छन्, कतै उचालिएका भरमा लेखिएका पनि छन्। त्यसैले उहाँको वास्तविक कुरा आओस् भनेर यो किताब निकालेका हौं।”
गोपाल योञ्जन जस्ता कलाकारका कृति राज्य वा अरू सरोकारवाला निकायले संरक्षण गरिदिएको भए आफूहरू अगाडि आउन आवश्यक नभएको उनको भनाइ थियो। सर्जकहरूलाई वर्षमा एकदिन सम्झिएर मात्र नपुग्ने बरु उनीहरूका कला, संगीतको संरक्षण गर्नुपर्ने सिर्जनाको मत थियो।
गोपाल योञ्जनकै गीत र धुन गुन्जिएको हलमा पुस्तक लोकार्पणपछि गायक कर्मा ग्याल्जेनले भजनशैलीको गीत गाए।
मलाई राम धुन लाग्यो, गोपाल धुन लाग्यो...।
यो पनि पढ्नुहोस् :