पोखराका मेयर धनराज आचार्य ‘डिस्चार्ज’
पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन पड्किंदा जलेर घाइते भएका मेयर धनराज आचार्य बिहीबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
मेयर आचार्यलाई बिहीबार ‘डिस्चार्ज’ गरिएको कीर्तिपुर अस्पतालले जनाएको छ। उनी ६ दिनपछि अस्पतालबाट घर फर्किएका हुन्।
उनीसँगै जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल फागुन ६ गते ‘डिस्चार्ज’ भएका थिए। पौडेलको हात र आचार्यको अनुहारमा जलन भएको थियो।
पोखराको प्रदर्शनी केन्द्रमा फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष, २०२५’ उद्घाटन क्रममा पानसमा बालिएको डिजिटल दियोबाट निस्केका झिल्काले भेट्टाउँदा हाइड्रोजन ग्यास भरिएका बेलुन पड्किएका थिए। दुई मुठा बेलुन हातमै पड्किएपछि निस्केको ज्वालाले जलन भएर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।
पोखरामा उपचार हुन नसकेपछि दुवै जनालाई काठमाडौं ल्याइएको थियो। कीर्तिपुर अस्पतालमा उपचारपछि दुवै जना घर फर्किएका हुन्।
यस घटनामा प्रहरीले बेलुनमा ग्यास भर्ने कमलेश कुमारलाई पक्राउ गरेको छ। उनी विरुद्ध अभद्र व्यवहारको कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। आयोजकको लापरवाहीले यस्तो घटना भएको भन्दै आलोचना हुँदै आएको छ।
यो पनि पढ्नुहोस् :