बजारमा माग बढ्यो, आयात १० प्रतिशतले वृद्धि
बजारमा माग बढेपछि विदेशबाट हुने आयात १० प्रतिशतले बढेको छ। भन्सार विभागले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो सात महीना (माघसम्म)मा रु. नौ खर्ब ८८ अर्ब मूल्यका सामग्री नेपाल भित्रिएका छन्। गत वर्षको यही अवधिमा आयात रु. आठ खर्ब ९८ अर्बमा सीमित थियो।
व्यवसायीले बजारमा माग नबढ्दा आयात शिथिल हुँदै आएको बताउने गरेका थिए। आयात १० प्रतिशतले बढ्नुले बजारमा माग बढेको संकेत गर्छ।
यद्यपि आयात बढेसँगै निर्यात पनि उचालिएकाले आयात भएको सामान नेपालको बाटो हुँदै अन्य देश पुगेको अनुमान गर्न मिल्छ। चालू आवको पहिलो सात महीनामा नेपालले रु. एक खर्ब २७ अर्बको वस्तु निर्यात गरेको छ। गत वर्षको यही अवधिका तुलनामा यो ४६.५ प्रतिशत धेरै हो।
भन्सार विभागका अनुसार यस अवधिमा नेपालले रु. दुई खर्ब मूल्यका कृषि वस्तु आयात गरेको छ। रु. ३६ अर्ब ३५ करोडको खाद्यान्न, २५ अर्ब ८८ करोडको तरकारी, ६६ अर्ब २० करोडको तेल, १२ अर्ब ३२ करोडको फलफूल आयात गरेको देखिएको छ। आयात भएको तेल नेपालमा सामान्य प्रशोधनपछि विदेश निर्यात गरिने व्यवसायीले बताउने गरेका छन्।
यस वर्ष पनि बजारमा विद्युतीय सवारीसाधनको आयातमा उछाल आएको छ।माघसम्म ६ हजार २५६ थान विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। जबकि यस अवधिमा पेट्रोलियम पदार्थमा आधारित सवारीसाधनको संख्या दुई हजार ६६८ मात्र छ। सरकारले विद्युतीय सवारीको आयातमा करमा सहुलियत दिएसँगै बजारमा यसको माग बढ्दो छ।