‘हामीले धर्म विराेधी काम गरेका छैनौं’
कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरूले कुनै पनि धर्म विरोधी काम नगरेको बताएका छन्।
यूएसएआईडीको सहयोगमा हिन्दू धर्म विरुद्ध काम गरेको भनेर सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएपछि उनीहरूले बिहीबार आफ्नो भनाइ राखेका हुन्। दुवै जनाले भिडिओ मार्फत आफ्ना भनाइ राख्दै अधर्म नगरेको जनाएका छन्।
“संसारमा राम्रा कुरा पनि छन्, नराम्रा कुरा पनि छन्। हामीले राम्रा राम्रा कुरा मात्र छानेर काम गर्दै आइरहेका छौं। जस्तो- कुष्ठरोग, क्षयरोग सम्बन्धी कुराहरू, खोपका कुराहरू, यी कुनै अधर्म कुरा होइनन्,” श्रेष्ठले भनेका छन्, “हाम्रा सबै टेलिफिल्महरू यूट्यूबमा छन्, हेरेर जाँच्न भए हुन्छ। नचाहिने कुरा बोलेका छैनौं।”
त्यस्तै, आचार्यले कुनै पनि धर्म विरुद्ध नलागेको जनाएका छन्। “मदनबहादुर र हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रमबारे जानकारी दिने काम गरेका छौं। सबै यूट्यूबमा छन्। हेर्दा हुन्छ,” उनले भनेका छन्, “कतै पनि सनातन हिन्दू धर्म, बौद्ध धर्म र कुनै पनि धर्मको विरोध गरेका छैनौं र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं।”
२०५२ सालमा ‘पञ्चायत व्यवस्थाको श्राद्धे’ भन्ने कार्यक्रमको क्लिप राखेर भ्रम फैलाइएको उनले बताएका छन्। “२०५२ सालमा पञ्चायत व्यवस्थाको श्राद्धे भन्ने कार्यक्रम गरेका थियौं, त्यसमा एउटा पण्डित पात्रको प्रवृत्तिको व्यंग्य गरेका छौं,” आचार्यले भनेका छन्, “त्यसको टुक्रा राखेर सनातन हिन्दू धर्मको विरोध गर्यो भन्ने चाहिं कपोलकल्पित कुरा हो।”
दुवै जनाले सामाजिक सञ्जालमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन्। उनीहरूले भनेका छन्, “हामी हाम्रो काममा निरन्तर लागी नै रहन्छौं। सबै नेपाली जनतालाई यी सबै भ्रामक कुराको विश्वास नगरिदिन हुन हामी हार्दिक अनुरोध गर्दछौं।”
यूएसएआईडीबाट पैसा लिएर पुस्तक लेखेको भन्ने विषयमा लेखक तथा साहित्यकारले पनि प्रस्टीकरण दिएका छन्। उनीहरूले कुनै संस्थाबाट पैसा नलिएको जनाएका छन्।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखक तथा साहित्यकारको तस्वीर राखेर यूएसएआईडीबाट पैसा लिएर पुस्तक लेखेको भन्दै भ्रम फैलाएका थिए। त्यसमा लेखक तथा साहित्यकारले प्रस्टीकरण दिएका हुन्।
कतैबाट पैसा नलिएको बताउँदै पल्पसा क्याफेका लेखक नारायण वाग्लेले भनेका छन्, ‘पत्याउनेहरूले कति पाएको रहेछ भन्ने बुझेर ल्याइदिए आपसमा बाँड्नुहुन्थ्यो नि!’
त्यस्तै, साहित्यकार कृष्ण धराबासी, सीमा आभास, आहुति, युग पाठक, खगेन्द्र संग्रौला लगायतले सामाजिक सञ्जाल मार्फत पुस्तक लेख्न पैसा नलिएको बताएका छन्। यूएसएआईडीबाट पैसा लिएको भन्ने खबर गलत भएको उनीहरूले जनाएका छन्।
त्यस्तै, साहित्यकार सीमा आभासले गलत कुरा नलेखेको जनाएकी छन्। उनले भनेकी छन्, ‘स्वत्वका लागि लडाइँ गर्नेछ मेरो कलमले। समाजका कुरीति, अपराध, अन्धविश्वास, अराजकता, विभेद, अन्यायको विरुद्ध कलम चलाउन डराउनेछैन। स्वतन्त्रता, समानता, समता, समुन्नति, सद्भाव जस्ता विषयको पक्षमा सचेत भएर उभिने नै छु।’
यसैगरी, लेखक आहुतिले सामाजिक सञ्जाल मार्फत आफ्नो भनाइ राख्दै पैसा लिएर लेख्यो भन्ने कुरा गलत भएको बताएका छन्। उनले भनेका छन्, ‘मद्वारा लेखिएका कुनै पनि पुस्तक कसैको प्रायोजनमा लेखिएका होइनन् भन्ने कुरा प्रष्ट पार्न चाहन्छु। यस्ता हावादारी प्रहारबाट हल्लिने गरी हाम्रो जग हामीले बनाएका छैनौं, यत्ति चाहिं बुझे हुन्छ।’
लेखक युग पाठकले फेक आईडी मार्फत भ्रम फैलाउन खोजेको जनाएका छन्। उनले भनेका छन्, ‘मेरो हातमा आजसम्म एक पैसो परेको छैन र मलाई यो कुरोको कुनै जानकारीसम्म छैन।’
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले सहयोग लिएको भए पनि गलत नभएको जिकिर गरेका छन्। विकसित देशहरूमा लेखक तथा साहित्यकारलाई सरकारले नै लेख्न सहयोग गर्ने गरेको तर नेपालमा त्यस्तो परिपाटी नभएकाले विदेशी सहयोग पाउँदा अप्ठ्यारो मान्न नहुने बताएका छन्।
जसरी विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ, त्यसैगरी लेखक, साहित्यकार, कलाकार, संगीतकार, वैज्ञानिकले अध्ययन, अनुसन्धान र सिर्जनाका लागि सहयोग लिनुलाई स्वाभाविक मान्नुपर्ने उनीहरूको भनाइ छ। ‘उनीहरूले सिर्जना गर्ने कला सार्वजनिक महत्त्वका हुने भएकाले सरकारले नै उनीहरूलाई करबाट उठाएको पैसाबाट मिलाएर, कम्पिटिसन गराएर अनुदान दिन्छ। नेपालमा यसो गर्ने चलन पटक्कै छैन,’ विश्लेषक आशुतोष तिवारीले लेखेका छन्, ‘यस्तो कुरा नबुझ्दा नेपाली लेखकहरूले विदेशी अनुदान लिए भनेर गिल्ला मात्र गर्ने काम यहाँ हुन्छ।’
‘नोबेल पुरस्कार प्राप्त लेखकले समेत लिन्छ अनुदान’
त्यस्तै, लेखक एवं एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले अनुदान लियो भनेर नेपाली लेखक विरुद्ध घृणा फैलाउनु दुःखद भएको बताएका छन्। नोबेल पुरस्कार प्राप्त लेखकले समेत अनुदान लिएर लेख्ने गरेको उल्लेख गरेका छन्।
‘अन्तर्राष्ट्रिय स्तरमा नोबेल पुरस्कार, पुलित्जर पुरस्कार विजेता लेखकहरूले पनि अनुदान पाएर महत्त्वपूर्ण कृतिहरू लेखेका छन्। टोनी मोरिसन, एडवार्ड जोन्स, कोल्सन ह्वाइटहेड, भियेत थान गुयेन जस्ता चर्चित लेखकहरूले अनुदानबाट लाभ उठाउँदै उत्कृष्ट साहित्य सिर्जना गरेका छन्,’ लामिछानेले भनेका छन्, ‘अनुदानले सिर्जनशीलता, अनुसन्धान र बौद्धिक उन्नतिमा टेवा पुर्याउने भएकाले यसलाई नकारात्मक रूपमा हेर्नु गलत हो।’
अमेरिकामा बस्दै आएका पत्रकार तथा लेखक प्रदीप परियार थापाले सामाजिक सञ्जालमा आलोचनाको पात्र बनाइएका लेखकहरू सबैलाई आफूले नचिनेको तर विदेशी प्रकाशनले प्रकाशन गर्नु आलोचना हाेइन, गर्वको कुरा भएको बताएका छन्।
‘विदेशी प्रकाशनले प्रकाशन गर्नु त झनै गर्वको कुरा हुनुपर्ने हो नेपाली लेखक र पाठकहरूको निम्ति। पेन्गुईन होस् या म्याक्ग्रो हिल जसले छापे पनि नेपालीको किताब विदेशी प्रकाशनले छाप्नु गर्वानूभूतिको कुरा हैन र!’ थापाले भनेका छन्, ‘म चैं न्यू योर्कको प्रकाशन संस्थाहरूले छाप्यो भने खुशी नै हुनेछु।’