लप्सीफेदी सबस्टेशन निर्माण पुसभित्र सक्ने लक्ष्य
स्थानीयको अवरोध हटेपछि काठमाडौंको पूर्वी भेगस्थित लप्सीफेदीमा विद्युत् सबस्टेशन निर्माणले गति लिएको छ।
बस्तीमा सबस्टेशन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले लामो समयदेखि विरोध गर्दै आएका थिए। सबस्टेशन निर्माणको विवादले झडप समेत निम्त्याएको थियो। सबस्टेशन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीले राजीखुशीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको तथा स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गरिएपछि शंखरापुर-३, बोझिनीमा ४०० केभी सबस्टेशनको काम अघि बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
तामाकोशी तथा सुनकोशी नदी र सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेशन (जीआईएस)’ प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेशन निर्माणाधीन छ। सबस्टेशन निर्माण २०८२ पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ। करीब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेशन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो।
खिम्ती-बाह्रबिसे-लप्सीफेदी सबस्टेशन आयोजना अन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेशनको नियन्त्रण कक्ष, जीआईएसका उपकरण रहने भवन लगायत सिभिल संरचनाको निर्माण करीब ४० प्रतिशत सकिएको छ। सबस्टेशनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस, कन्ट्रोल प्यानल लगायत सम्पूर्ण उपकरणको आपूर्ति करीब ८० प्रतिशत भइसकेको छ। आयोजना अन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेशन पनि निर्माणाधीन छन्।
तामाकोशी-काठमाडौं प्रसारण लाइन आयोजना अन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेशनका सिभिल संरचनाको निर्माण ५० प्रतिशत सकिएको छ। उपकरणको आपूर्ति ९८ प्रतिशत भइसकेको छ। सिभिल संरचनाको निर्माण सम्पन्नपछि सबस्टेशनमा उपकरण जडान शुरू हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए। स्थानीय समस्याका कारण सबस्टेशन निर्माणमा केही ढिला भए पनि हालसम्मको प्रगति सन्तोषजनक नै देखिएको घिसिङले बताए।
स्थानीय बासिन्दाले उठाएका सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेलमैदान, गुम्बा निर्माण, रोजगारी लगायत जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सम्बोधन गरिएको बताए।
तामाकोशी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेशनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेशनमा जोडिनेछ। प्रसारण लाइन आयोजना अन्तर्गत खिम्ती-बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरू खडा गरिएका छन्। करीब तीन किलोमिटर मात्र तार तान्न बाँकी छ।
त्यस्तै, बाह्रबिसे-लप्सीफेदी खण्डमा पर्ने १२२ टावरमध्ये दुई वटाको मात्र निर्माण बाँकी छ। करीब ४२ किलोमिटर तार तानिएको छ। तामाकोशी-काठमाडौं प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख नीतीश पौडेलले बताए। आयोजना अन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन बनेपछि विद्युत्लाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकास्थित नयाँ बुटवल सबस्टेशनतर्फ प्रवाह गराउन सकिनेछ। एमसीसी तत्कालका लागि स्थगन भएको छ। अमेरिकाले यस परियोजनामा अनुदान दिएन भने यसलाई अघि बढाउन नेपाल सरकारले नै स्रोत जुटाउनुपर्ने बाध्यता छ।
नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एशियाली विकास ब्यांकको ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत प्रवाह भएको सहुलियतपूर्ण ऋणमा सबस्टेशन तथा प्रसारण लाइन निर्माण भइरहेको छ।
लप्सीफेदी-चाँगुनारायण निर्माणमा अझै अवरोध
लप्सीफेदी सबस्टेशनबाट काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि निर्माण अगाडि बढाइको लप्सीफेदी-चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भने अझै अवरोध छ। प्रसारण लाइनको मार्गाधिकारका जग्गाधनीले अवरोध गर्दा करीब सात वर्षदेखि निर्माण प्रभावित हुँदै आएको छ। यसका कारण प्रसारण लाइन निर्माण शुरू हुन सकेको छैन।
आयोजना अन्तर्गतको चाँगुनारायण १३२ केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ। तर विद्युत् आपूर्तिका लागि स्रोत नभएकाले चाँगुनारायण सबस्टेशन सञ्चालनमा आउन सकिरहेको छैन।
सबस्टेशनबाट विद्युत् आपूर्ति दिन थालिएपछि मुख्य रूपमा काठमाडौंको पूर्वी भेगको आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ। हाल उक्त क्षेत्रमा चाबहिल सबस्टेशनबाट विद्युत् आपूर्ति हुँदै आएको छ।