ट्रम्पले बनाउन खोजेको विश्व व्यवस्थाको नेपाल प्रभाव (भिडिओ)
दोस्रो पटक निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका निर्णयले नेपालमा पर्ने प्रत्यक्ष-अप्रत्यक्ष प्रभावबारे निर्धक्क धारणा राख्नुपर्ने विज्ञहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रका जानकार लेखनाथ पौडेलले ट्रम्पका निर्णयलाई तर्कहीन भन्न नमिल्ने बताए। ट्रम्पका निर्णयहरू हेर्दा शिक्षा र स्वास्थ्यमा सरकारको भूमिका घटाउने, विश्वमा श्वेत पुरुष सर्वोच्चतालाई सुदृढीकरण गर्ने र अर्बपति अनुकूलको भाष्य बनाउन खोजेको देखिएको पौडेलको विश्लेषण छ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित कार्यक्रममा पौडेलले विकास सहयोगमा सरकारको भूमिका घटाउन अमेरिकी सहयोग परियोजना अन्तर्गतका सहयोग रोकिएको बताए। उनले भने, “ट्रम्पको व्यवहार ‘ओलीगार्की स्ट्रक्चरिङ’ अनुरूप छ। मेरो विचारमा यसलाई तर्कहीन चाहिं भन्न मिल्दैन।”
‘ट्रम्प प्रशासन र विश्व व्यवस्था’ शीर्षकको अन्तरक्रियामा बोल्दै त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागकी उपप्राध्यापक अपेक्षा शाहले यसअघि नै अमेरिकी मात्र होइन, समग्र वैदेशिक सहयोग र अनुदान नै घट्दै गएको बताइन्। वैदेशिक सहयोगको प्रभावकारिताबारे विभिन्न कोणबाट बहस हुँदै आएको सन्दर्भ बिर्सन नमिल्ने शाहको भनाइ छ।
उपप्राध्यापक शाहले भनिन्, “यूएसएआईडी वा अन्य वैदेशिक सहयोग नआएपछि गाह्रो त हुन्छ, असर नै नपर्ने भन्ने पनि होइन, तर सहयोग रोकिंदैमा खत्तम हुने भन्ने होइन। बरु हामीले परिवर्तित विश्व सन्दर्भ अनुसारको कूटनीतिक अभ्यास गर्दै जानुपर्छ।”
कार्यक्रमका सहजकर्ता कनकमणि दीक्षितले परराष्ट्र मामिलाको विषयमा राजनीतिक नेतृत्व र परराष्ट्र मन्त्रालयका कर्मचारीले मात्र होइन, बौद्धिक फाँट र नागरिक समाजले पनि पर्याप्त काम गर्न नसकेको बताए। दीक्षितले भने, “हाम्रा परराष्ट्र मामिला र नागरिक समाज चाउरएिका मरिच जस्ता भएका छन्।”
आयोजक टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले अमेरिका र भारत जस्ता लोकतान्त्रिक देशबारे पनि निर्धक्क बोल्न नसकिएको बताए। प्याकुरेलको प्रश्न छ, “जुन देशको विषयमा केही बोलेकै कारणले जान पाइँदैन भने त्यस्तो देशलाई लोकतान्त्रिक देश भन्न मिल्छ?”
(यो छलफल एमसीसी अनुदान रोकिनुअघि माघ २७ मा भएको थियो।)